दार्चुला । दार्चुलाको लेकम र व्याँस गाउँपालिकामा पालिका स्तरीय ग्रेडवृद्धि परीक्षा सञ्चालन भइरहेको छ। लेकम गाउँपालिकामा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा सञ्चालन भइरहेको छ। वैशाख २ गतेबाट सञ्चालन भइरहेको परीक्षा भोलि सम्पन्न हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख चुडामणि अवस्थीले जानकारी दिनुभयो। गाउँपालिकाको लटिनाथ माध्यमिक विद्यालय चौपाता र हुनैनाथ माध्यमिक विद्यालय रातामाटामा परीक्षा सञ्चालन भइरहेको उहाँले बताउनुभयो। बढीमा दुई विषयमा ननग्रेड आएका ४८ जना विद्यार्थी परीक्षामा सहभागी रहेको उहाँले बताउनुभयो।

यस्तै, जिल्लाको व्याँस गाउँपालिकामा आजबाट ग्रेडवृद्धि परीक्षा सञ्चालन भएको छ। व्याँस गाउँपालिकाले कक्षा ५ र ८ को ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नरेन्द्र बडालले जानकारी दिनुभयो। यस पटक दुई विषयमा ननग्रेड भएका कक्षा ५ का ५७ जना र कक्षा ८ का ५८ जना विद्यार्थी परीक्षामा सहभागी रहेका छन्। परीक्षा भोलि सम्पन्न हुने शिक्षा शाखा प्रमुख बडालले बताउनुभयो।

यस्तै, महाकाली नगरपालिकामा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा यही वैशाख ५ र ६ गते हुने भएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै वैशाख ५ गते शनिबार र वैशाख ६ गते आइतबार ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने जनाएको छ। नगरपालिकाको वडा नम्बर ४ स्थित महेन्द्र माध्यमिक विद्यालयमा बिहान १० बजेदेखि परीक्षा सञ्चालन हुने नगरपालिकाले जनाएको छ। कक्षा ८ को ग्रेडवृद्धि परीक्षामा बढीमा दुई विषयमा ननग्रेड आएका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्।

पहिलो दिन ५ गते गणित विषयमा ननग्रेड भएका विद्यार्थीहरू तथा अन्य कुनै एक विषयमा ननग्रेड भएका विद्यार्थीहरू र दुई विषयमा ननग्रेड भएका मध्ये गणितमा पनि ननग्रेड भएका तथा गणित बाहेकका विषयमा पनि ननग्रेड भएका विद्यार्थीको हकमा प्रवेशपत्रमा पहिलो नम्बरमा रहेको विषयको परीक्षा सञ्चालन हुने जनाइएको छ। त्यस्तै, दोस्रो दिन दुई विषयमा ननग्रेड भएका विद्यार्थीहरू मध्ये पहिलो दिन परीक्षा दिएको विषय बाहेकको परीक्षा सञ्चालन हुने नगरपालिकाले जनाएको छ। यसअघि चैत २० गते सार्वजनिक गरिएको नतिजा अनुसार नगरपालिकामा कक्षा ८ को परीक्षामा ६१.२५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए।

त्यस्तै, जिल्लाको नौगाड गाउँपालिकामा वैशाख १३ र १४ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने गाउँपालिकाका सूचना अधिकारी प्रेमसागर जोशीले जानकारी दिनुभयो। यस पटक कक्षा ८ को ग्रेडवृद्धि परीक्षाका लागि गाउँपालिकाको लटिनाथ माध्यमिक विद्यालय खार र समैजी माध्यमिक विद्यालय सौकेबगड गरी दुई वटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो।

त्यस्तै, अपिहिमाल गाउँपालिकामा वैशाख ८ र ९ गते परीक्षा सञ्चालन हुँदैछ। ग्रेडवृद्धि परीक्षाका लागि गाउँपालिकाको खण्डेश्वरी माध्यमिक विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने बढीमा दुई विषयमा ननग्रेड आएका ५५ जना विद्यार्थीहरूले परीक्षामा सहभागिता जनाउने गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदनराज जोशीले जानकारी दिनुभयो।

यस्तै, मार्मा गाउँपालिकामा वैशाख ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। जिल्लाको शैल्यशिखर नगरपालिकामा भने गत चैत २६ र २७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन भएको थियो। नगरपालिकामा ग्रेडवृद्धि परीक्षामा सहभागी भएका सबै ७४ जना विद्यार्थी नै उत्तीर्ण भएको नगरपालिकाका शिक्षा शाखा अधिकृत बल्देव भट्टले जानकारी दिनुभयो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?