दार्चुला । त्रिभुवन आर्मी क्लवलाई च्याम्पियन बनाउँदै प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
यसपटकको संस्करणको प्रमुख विशेषता यो रह्यो कि विभागीय टोलीहरुलाई प्रदेश टोलीहरुले कडा चुनौति दिए ।
प्रधानमन्त्री कपको इतिहासमा पहिलोपटक प्रदेश टिम प्रतियोगिताको फाइनलमा पुगेको थियो । फाइनलमा पुगेर इतिहास रचेको सुदूरपश्चिमले उपाधि जितेर अझै ठूलो रेकर्ड बनाउन भने चुक्यो ।
राष्ट्रिय खेलाडीहरुले भरिभराउ त्रिभुवन आर्मी क्लवसँग ५ विकेटको हार स्वीकार्न वाध्य भयो सुदूरपश्चिम ।
यो संस्करणमा खेलाडीहरुले पनि थुप्रै नयाँ माइलस्टोनहरु बनाएका छन् । प्रधानमन्त्री कपमा पहिलोपटक दोहोरो शतक देख्न पाइयो । सशस्त्र प्रहरी क्लवका आशिफ शेखले त्यो किर्तिमान रचे ।
आर्मीका विनोद भण्डारी पनि दोहोरो शतकको नजिकै पुगेर रोकिए । प्रधानमन्त्री कपको इतिहासमा सर्वाधिक ठूला दुई स्कोर यही प्रतियोगितामा बने । चार जना ब्याट्सम्यानले २–२ शतक प्रहार गरे, यो पनि एउटा किर्तिमान हो ।
सबैभन्दा सुखद पक्ष चाहिँ युवा खेलाडीहरुको प्रदर्शन हो । बलिङ र ब्याटिङ दुवैतर्फ युवा खेलाडीले पुराना अनुभवि खेलाडीलाई पछि पार्न सफल भएका छन् ।
यहाँ हामी प्रतियोगिताभरि सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने ५–५ खेलाडीको चर्चा गर्न गइरहेका छौं । सर्वाधिक रन बनाउने ४जनामा राष्ट्रिय टिमबाट डेब्यू नगरेका ४ खेलाडी छन् । सर्वाधिक विकेट लिने ५ जनामध्ये ४ जना २५ वर्षभन्दा कम उमेरका छन् ।
सर्वाधिक विकेट
हेमन्त धामी (२७ विकेट)
युवा फास्ट बलर हेमन्त धामीले यो प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै सर्वाधिक २७ विकेट लिए । स्पिनरहरु हाबी भएको प्रतियोगितामा उनको यो प्रदर्शनलाई सह्राहनीय मान्नुपर्छ ।
नेपाली क्रिकेटमा स्पिन बलिङ जति सशक्त छ, फास्ट बलिङ त्यति छैन । त्यसमाथि यो प्रतियोगितामा पिचतले स्पिनरलाई बढी सपोर्ट गरेको थियो । सर्वाधिक विकेट लिने १० जना बलरमध्ये ८ जना स्पिनर छन् । तर, सबैलाई उछिनेर फास्ट बलर धामी शीर्षस्थानमा रहेका हुन् ।
सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याउन धामीले अहम् भूमिका निभाए । उनको इकोनामी र औसत पनि अब्बल रह्यो । प्रतिओभर ३.९४ रन खर्चेका धामीले एक विकेट लिन औसत १०.५१ रन मात्रै खर्च गरे ।
दुईवटा म्याचमा उनले ५ भन्दा बढी विकेट लिएका थिए । यही प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शनले धामीले राष्ट्रिय टिममा स्थान बनाएका छन् ।
सन्दीप लामिछाने (२५ विकेट)
नेपालका प्रख्यात स्पिनर सन्दीप लामिछानेले पहिलोपटक प्रधानमन्त्री कपमा भाग लिएर आफ्नो उत्कृष्टता प्रस्तुत गरे । बाग्मती टिमको नेतृत्व गरेका उनले लिडिङ फ्रम द फ्रन्टको उदाहरण प्रस्तुत गर्दै २५ विकेट लिएका छन् ।
हुन त सन्दीपले आफूलाई कुनै पनि स्तरमा प्रमाणित गर्न बाँकी छैन, तर पनि घरेलु प्रतियोगिताहरुमा उनको प्रदर्शन यदाकदा फितलो हुने गरेको छ ।
प्रधानमन्त्री कपमा पनि सुरुको ४ म्याचमा उनको प्रदर्शन सामान्य थियो । उनले ५ विकेट मात्र लिन सकेका थिए । तर, पाचौं म्याचमा कर्णालीविरुद्ध एक्लै ७ विकेट लिएर उनले भयानक कमब्याक गरे र त्यसपछि रोकिएनन् ।
पछिल्ला ५ म्याचमा सन्दीपले २० विकेट लिएका छन् । प्रतियोगितामा उनको बलिङ औसत १४.५२ र इकोनोमी ४.४० रह्यो । उनले फेरि एकपटक आफूलाई नेपालको नम्बर १ स्पिनर प्रमाणित गरे । पहिलो नम्बरमा रहेका हेमन्त धामीभन्दा सन्दीपले १ खेल कम खेलेका थिए ।
शेर मल्ल (२३ विकेट)
उदियमान स्पिनर शेर मल्लले पनि आफ्नो छाप छोड्न सफल भए । उनले १० म्याच खेल्दा २३ विकेट चट्काए । सुदूरपश्चिम टिममा हेमन्तले फास्ट बलिङ र शेरले स्पिनबाट विपक्षी टिमहरुलाई घुँडा टेकाएका थिए ।
शेरको औसत १५.९५ रह्यो भने इकोनोमी सन्दीपको भन्दा कम (४.२६) थियो । २३ वर्षिय अफस्पिनरले राष्ट्रिय टिमका नियमित स्पिनर ललितनारायण राजवंशीलाई असुरक्षित महसुस गराइरहेका छन् ।
यसअघि नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि विश्वकप खेल्ने नेपालको टि २० टिममा समेत परेका थिए ।
सन्तोष यादव (२१ विकेट)
यो प्रतियोगिताले जन्माएका एक आशालाग्दा क्रिकेटर हुन् सन्तोष यादव । उनी म्यान अफ द टुर्नामेन्टसमेत भएका छन् ।
मधेशका अलराउन्डर सन्तोष सर्वाधिक विकेट लिने र सर्वाधिक रन बनाउने दुवै सूचीको टप १० मा पर्न सफल भए ।
बल र ब्याटबाट समानरुपमा योगदान दिएका उनी मधेस टिमका प्रमुख खम्बा बनेका थिए । उनले प्रतियोगिताभरी ९ म्याच खेल्दा २१ विकेट लिएका छन्, जसमा उनले १२.३३ को औसत र ४.२६ को इकोनोमी कायम गरेका छन् ।
यही प्रदर्शनको बलमा २० बर्षिय स्पिनरले राष्ट्रिय टिममा पनि स्थान बनाउन सफल भए । उनलाई नेपालको १५ सदस्यीय टि २० स्क्वाडमा पहिलोपटक समावेश गरिएको छ । यादवले यसअघि उमेर समूहको क्रिकेटमा आफ्नो छाप छोडिसकेका छन् ।
बसिर अहमद (१९ विकेट)
नेपालले धेरै आशा राखेका अलराउन्डर क्रिकेटर हुन् बसिर अहमद । एकपछि अर्को प्रदर्शनबाट उनले आफूलाई एउटा उत्कृष्ट क्रिकेटरका रुपमा चिनाइरहेका छन् । प्रधानमन्त्री कपमा पनि उनी आफूलाई सावित गर्न चुकेनन् ।
सन्तोषजस्तै बसिरले पनि बल र ब्याट दुवैबाट आफ्नो टिमलाई योगदान दिए । उपाधि विजेता त्रिभुवन आर्मी क्लबबाट खेलेका उनले १० म्याचमा १९ विकेट लिए ।
उनको औसत १४.७८ र इकोनोमी ३.८४ रहेको छ । बसिरले आज घोषणा भएको एक दिवसीय र टि २० दुवै टिममा स्थान बनाएका छन् । उनी राष्ट्रिय टिमबाट नियमित अवसर पाउनुपर्ने खेलाडी हुन् ।
ब्याटिङ
अर्जुन कुमाल (५०४ रन)
युवा ब्याट्सम्यान अर्जुन कुमाल प्रधानमन्त्री कपमा फेरि एकपटक चम्किए । उनी लगातार दोस्रो संस्करणमा उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्न पुगेका छन् । यसपटक उनको प्रदर्शन अझै उच्च स्तरको रह्यो ।
प्रतियोगिताभरि कमालको ब्याटिङ गरेका कुमाल गण्डकी टिमका वान म्यान आर्मीजस्ता भए । सिंगो टिम धराशायी बन्दा पनि उनी डग्मगाएनन् । प्रधानमन्त्री कपको एउटै संस्करणमा ५०० रन कटाउने पहिलो ब्याट्सम्यानको किर्तिमान उनले राखेका छन् ।
९ म्याच खेल्दा उनको ब्याटबाट दुई शतकसहित ५०४ रन निस्कियो । उनले प्रति म्याच ८४ रनको औसतमा खेलेका थिए, जुन आफैंमा प्रेरणादायी हो ।
प्रधानमन्त्री कप सकिएलगत्तै कुमालको राष्ट्रिय टिममा पर्ने सपना पनि पूरा भएको छ । उनलाई एकदिवसीय टिममा स्थान मिलेको हो । उनीबाट नेपाली क्रिकेटले ठूलो आशा राखेको छ ।
आसिफ शेख (४५७ रन)
अनुभवि ब्याट्सम्यान आसिफ शेखका लागि प्रधानमन्त्री कपको यो संस्करण निकै अविस्मरणीय रह्यो । कारण, उनले नेपालमा राष्ट्रिय प्रतियोगिताको इतिहासमै पहिलो दोहोरो शतकको किर्तिमान राखेका छन् ।
सशस्त्र प्रहरीबाट खेलेका आसिफले मधेस प्रदेशविरुद्धको म्याचमा २०८ रनको म्याराथन इनिङ खेले । एउटै म्याचमा सर्वाधिक छक्काको रेकर्ड पनि राखे । यो म्याचमा १४२ बलको सामना गरेका आसिफले १७ छक्का र १५ चौका प्रहार गरेका थिए ।
आसिफले ९ म्याच खेल्दा ५७.१२ को औसतमा ४ सय ५७ रन जोड्न सफल भए, जसमा दुई शतक सामेल छन् । उनको स्ट्राइक रेट पनि उत्कृष्ट (१२७.२५) रह्यो ।
विनोद भण्डारी (४०४ रन)
उमेरले पाका ब्याट्सम्यान विनोद भण्डारीले यो प्रतियोगितामा आफूलाई ‘पुरानो रक्सी’ सावित गरेका छन् । खराब फर्मका कारण लामो समयदेखि राष्ट्रिय टिमबाट स्थान गुमाएका भए पनि घरेलु प्रतियोगितामा भने उनी झन् झन् निखारिँदै गएको प्रतित हुन्छ ।
यसअघि नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका विनोदले प्रधानमन्त्री कपमा पनि आफ्नो फर्मलाई निरन्तरता दिए । १० म्याचमा ४०४ रन बनाएका उनले दुईवटा शतक र एक अर्धसतक प्रहार गरेका थिए ।
कोशी विरुद्ध उनले १८९ रनको लामो पारी खेले, जुन प्रधानमन्त्री कपको दोस्रो ठूलो व्यक्तिगत स्कोर हो ।
यही प्रदर्शनको बलमा भण्डारीले ३६ वर्षको उमेरमा राष्ट्रिय टिममा कमब्याक गरेका छन् । उनलाई एकदिवसीय टोलीमा समावेश गरिएको हो ।
दिनेश खरेल (३३३ रन)
युवा ब्याटर दिनेश खरेलले प्रधानमन्त्री कपमा डेब्यू गर्दै अलराउन्ड प्रदर्शन गरे । एउटै प्रतियोगितामा ३ सयभन्दा बढी रन र १० भन्दा बढी विकेट लिने उनी पहिलो खेलाडी बनेका छन् । ९ म्याच खेल्दा ३३३ रन बनाएका खरेलले बलिङमा पनि १६ विकेट लिन सफल भए ।
न्यूजिल्यान्डमा जन्मे हुर्केका र क्रिकेट पनि त्यही सिकेका खरेल पहिलो संस्करणको नेपाल प्रिमियर लिगबाट नेपाली क्रिकेटमा भित्रिएका हुन् ।
उनले प्रधानमन्त्री कपमा डेब्यू गर्दै पुलिस क्लवबाट खेलेका थिए । कुशल भुर्तेलको ओपनिङ पार्टनर बनेका उनले आफ्नो छाप छोड्न सफल भए । प्रतियोगितामा उनले ४ अर्धसतक प्रहार गरेका छन् ।
नारायण जोशी (३३२ रन)
यो प्रतियोगिताबाट उदाएका अर्का अलराउन्डर हुन् २५ वर्षिय नारायण जोशी । उनले बलिङमा खासै कमाल गर्न नसकेपछि ब्याटिङमा भने असरदार देखिए ।
सुदूरपश्चिमको मध्यक्रम धान्दै जोशीले ३ अर्धसतकसहित ३३२ रन बनाएका छन् । प्रतियोगितामा सर्वाधिक छक्का उनको ब्याटबाट निस्कियो । उनले २६ छक्का प्रहार गरेका थिए ।
उनको ब्याटिङ औसत ४१.५० र स्ट्राइक रेट ९१.९६ रह्यो । आज घोषणा भएको राष्ट्रिय टिममा उनी रिजर्भ खेलाडीका रुपमा राखिएका छन् ।




