इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ खुला गरेको जनाएको छ । तर जहाजहरूले तोकिएको सुरक्षित लेनहरू प्रयोग गर्नुपर्नेछ ।
विदेशमन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिका–इरानबीच युद्ध विरामको बाँकी अवधिका लागि हर्मुज जलमार्ग भएर आवतजावत गर्ने सबै व्यावसायिक जहाजहरूको लागि मार्ग खुला गरिएको बताउनुभएको छ । इरानले हर्मुजको जलमार्ग खुल्ला भएको घोषणा गरे पनि ट्र्याकिङमा थोरै जहाजहरू चलिरहेको देखिएको बीबीसीले जनाएको छ ।
अमेरिका र इरान बीचको युद्ध विराम यही अप्रिल २२ तारिख अर्थात् आउँदो बुधबार सकिंदैछ । अमेरिका र इजरायलले तीन महिनाअघि इरानमा आक्रमण गरेदेखि तेल ढुवानी मार्ग पनि प्रभावित हुँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो घोषणालाई स्वागत गर्नुभएको छ । तर उहाँले दुई देशहरूबीच शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमा नाकाबन्दी जारी रहने बताउनुभएको छ ।
हालै अमेरिका र इरानबीच पाकिस्तानमा भएको वार्ता असफल भएको थियो । यद्यपि पाकिस्तानसहितका मध्यस्थकर्ता देशले दोस्रो चरणको वार्ताका लागि निरन्तर पहल गरिरहेका छन् । इरानको पछिल्लो घोषणा इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविरामको सहमति भए पछि आएको हो ।
इरान समर्थित हिज्बुल्लाहले पनि युद्ध विराम सम्झौता पालना गर्ने जनाएको छ । युद्धविराम गर्ने सहमतिको विश्व समुदायले प्रशंसा गरेको छ । भारत, चीन, फ्रान्स, बेलायतलगायत विश्वका शीर्ष नेताहरूले सहमतिको लागि खुशी व्यक्त गरेका छन् ।
हर्मुज जलमार्गमा तनाव कम हुने सकारात्मक सङ्केतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही कमी भएको छ ।




