दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्लाभित्र सञ्चालनमा रहेका सबै सार्वजनिक यातायातका साधनमा सिसीटिभी र जिपिएस ट्र्याकिङ प्रणाली अनिवार्य रूपमा जडान गर्न निर्देशन दिएको छ । जिल्लाभित्र सञ्चालनमा रहेका सबै सार्वजनिक यातायातका साधनहरुमा उक्त व्यवस्था लागू गर्न यातायात व्यावसायिहरुलाइ पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो ।
प्रशासनले सार्वजनिक सवारी साधनमा यात्रुले सजिलै देख्ने स्थानमा अनिवार्य रूपमा भाडादर टाँस गर्नका साथै चालक र सह–चालकले यात्रा अवधिभर तोकिएको पोशाक र परिचयपत्र लगाउनुपर्ने व्यवस्था समेत लागू गर्न भनेकोे छ ।
नेपाल सरकार मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची अन्तर्गत सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम तथा यात्रुको सुरक्षा सुदृढ गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
उक्त व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको उहाँले बताउनुभयो । प्रशासनको यो कदमले यात्रुको सुरक्षा मजबुत बनाउनुका साथै सार्वजनिक यातायात व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।




