दार्चुला । विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढ्न नदिन भारतसँग नाका जोडिएका दार्चुलाको खलंगा नाकामा उच्च सतर्कता अपनाइने भएको छ । हाललाई उक्त भेरियन्ट नेपालमा नदेखिएको भन्दै अहिले देखि नै सावधानी अपनाउन सीमामा कडाई गरिन लागेको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण भित्रिन नदिन सीमा चेकजाँचमा कडाई गर्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीद्वारा हस्ताक्षरित सूचनामा नयाँ भेरियन्टलाई समयमै सावधानी अपनाई नेपाल प्रवेश हुन नदिने र जनजीवनलाई सामान्य बनाई राख्न नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमा नाकामा भारतबाट नेपाल प्रवेश गर्ने सबै नागरिकलाई कोभिड खोपको दोस्रो डोज लगाएको प्रमाणपत्र देखाएमा मात्रै प्रवेश दिन भनिएको छ ।
कोरोनाविरुद्वको दुई वटा खोप नलगाएको अवस्थामा नेपाल प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । अहिले सीमामा आवागमन निर्वाध भइरहेकाले उक्त भेरियन्ट नेपालमा पनि फैलिन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गर्नुभयो । यस्तै ओमिक्रोन फैलन नदिन सीमानाकामा पहिलो डोज लगाएकाहरुलाई दोस्रो मात्राको कोरोना खोप लगाउन थालिएको छ ।

छिमेकी मुलुक भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट फेला परेको छ । बिहीबार दुई जना नयाँ भेरियन्टका संक्रमित भेटिएका हुन् । भारतको कर्नाटक राज्यका दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट फेला परेको हो । भारतमा पहिलो पटक ६६ र ६४ वर्षका दुई पुरुषमा संक्रमण पुष्टि भएपछि उनीहरुलाई निगरानीमा राखिएको छ ।
भारतमा पहिलो पटक कोरोना भाइरसको यो भेरियन्ट फेला परेको हो । संक्रमित ती व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन् । उनीहरुमा सामान्य लक्षण मात्र देखिएको छ । योसँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ । बुधवारदेखि लागु हुनेगरी भारतले उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बाङ्ग्लादेश, हङ्कङ र इजरेलबाट आउने यात्रुलाई कडाइ गरेको छ । भारत आइपुग्नासाथ ती यात्रुको परीक्षण गरिनेछ र नतिजा नआएसम्म उनीहरूलाई विमानस्थलबाहिर जान दिइनेछैन । सङ्क्रमण पुष्टि हुने यात्रुलाई छुट्टै राखेर उपचार गरिनेछ र उनीहरूको नमुना ओमिक्रोन जाँचका लागि जीन सीक्वन्सिङ गर्न पठाइनेछ । कोभिड पुष्टि नहुने यात्रुले सात दिन घरमा क्वारन्टीनमा बस्नुपर्ने र आठौँ दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ ।
नेपालमा समेत भाइरस भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




