दार्चुला । अतिक्रमित भूमि कालापानी नजिकको दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि व्यास गाउँपालिका–१ मा रहेका छाङरु र तिङ्करको मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरले निर्वाचन सामग्री ढुवानी गरेको हो ।

नेपाली भूमीबाट सो क्षेत्र जान बाटो नभएका कारण हेलिकप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । सोमवार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत छाङरु र तिङ्करको मतदान केन्द्रका लागि मतपत्र, मतदाता परिचयपत्रलगायत सबैखाले निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरुलाई पठाइएको उहाँले बताउनुभयो । छाङरुको कैलाशपति आवि केन्द्रमा ३७५ र तिङ्करको आवि मोति महिला संघ केन्द्रमा २३१ मतदाता रहेका छन् । व्याँसबासी वैशाख तेस्रो साता सदरमुकामबाट व्याँस उक्लिएका छन् ।

तीन घेरामा सुरक्षाकर्मी परिचालन
दार्चुलामा आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर निर्वाचन सुरक्षा रणनीति तयार पारिएको छ । जिल्लास्थित सुरक्षा निकायको समन्वयमा दार्चुलाका ११० मतदानस्थल र १३९ मतदान केन्द्रलाई लक्षित गरी मतदानअघि, मतदान र मतगणनासम्मको अवस्थालाई ध्यानमा राखेर सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको छ ।

निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी र नेपाली सेनासमेत परिचालन गर्ने गरी प्रभावकारी सुरक्षा योजना अनुसार परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिनुभयो । नेपाली सेना र सशस्त्र प्रहरी पालिकाहरुमा पुगिसकेका छन् भने नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृतसँग मतदान केन्द्रहरुमा पुग्ने तयारी रहेको प्रजिअ उपाध्यायले बताउनुभयो । मतदान अधिकृतहरु निर्वाचन सामाग्री बुझेर कार्यक्षेत्रमा खटिन थालेका छन् ।

निर्वाचन अवधिभर जिल्लाभरी झण्डै दुई हजार भन्दा बढि सुरक्षाकर्मी परिचालन हुनेछन् । यही वैशाख २५ देखि २८ गतेभित्रमा सम्पूर्ण मतदानस्थलमा सुरक्षाकर्मी खटिइसक्ने छन् । भौगोलिक अवस्था, सञ्चार र यातायात सुविधा, विगतका चुनावमा भएका घटनाका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको छ । ११० मतदान स्थल र १३९ मतदान केन्द्रमध्ये निर्वाचनमा सुरक्षा दृष्टिले ११ वटा मतदान स्थललाई अति संवेदनशील, ११ वटा मतदान स्थललाई संवेदनशील र ८८ वटा मतदानस्थललाई सामान्यमा बर्गिकरण गरिएको छ । निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीलाई निर्देशित गरिएको छ । दार्चुला जिल्ला भरिको मतदाता संख्या ४५ हजार १११ पुरुष र ४३ हजार १७४ महिला गरि ८८ हजार २८५ मतदाता रहेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । निर्वाचनमा जिल्लाभरी एक हजार ८१ कर्मचारी खटिएका छन ।

उम्मेदवारको घरदैलो अभियान अन्तिम चरणमा
आसन्न स्थानीय तह निर्वाचनका लागि दार्चुलाका विभिन्न पालिकाका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन् । गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रित उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पुर्याएका छन् । मौन अवधि सुरु भएपछि प्रचारप्रसार गर्न नपाउने भन्दै उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्ने चटारो छ । आफ्नो पालिकाभित्रका वडा–वडा र घर–घरमा मत माग्न व्यस्त उम्मेदवार मौन अवधि सुरु हुनुपूर्व नै सबै मतदाताको घर–घरमा पुगिसक्ने योजनामा छन् ।

करिब करिब सबै वडामा घरदैलो सकिएको छ, नेकपा एमालेको तर्फबाट लेकम गाउँपालिका अध्यक्षपदका उम्मेदवार परमानन्द जोशीले भन्नुभयो, बाँकी रहेको केही मतदाताको घरमा २७ गतेसम्म पुगिसक्ने लक्ष्य छ । समय अभावका कारण केही मतदाताको घरमा पुग्न नसकेपनि निर्वाचित भएपछि सबैको घरमा पुग्ने आफ्नो योजना रहेको उहाँले बताउनुभयो । गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रामदत्त जोशीले भन्नुभयो, समय अभावले सबैको घरमा पुग्न सकिएको छैन, मौन अवधि सुरु नहुञ्जेलसम्म प्रचारप्रसार जारी राख्ने योजना छ । निर्वाचन कार्यक्रम अन्तर्गत वैशाख २७ गते सोमबार रातिदेखि मौनअवधि सुरु हुने जिल्ला निर्वाचन अधिकृत प्रदिप सिह धामीले बताउनुभयो ।

नौँ स्थानीय तहमा ६१ वडा रहेको दार्चुलामा ३२३ पदको लागि ७७० जनाको उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दलका शिर्ष नेताहरुले कार्यकर्ता भेटघाट तथा आमसभा सम्बोधनमा जोड दिएको बेला उम्मेदवारहरु भने मतमाग्न घरदैलोमै पुगिरहेका छन् ।

मदिरा बिक्री तथा सेवन गर्न रोक
दार्चुलामा निर्वाचन अवधिभर मदिरा पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार यही वैशाख २५ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम मतपरिणाम घोषणा नभएसम्म मादकपदार्थको बिक्री वितरण तथा सेवन गर्न पाइने छैन ।

७२ घण्टा सीमा सिल गरिने
दार्चुला र भारतको पिथौरागढ जिल्लाका अधिकारीहरू बिच निर्वाचन अवधिमा ७२ घण्टा सीमा नाका सिल (बन्द) गर्ने सहमति भएको छ । नेपाल–भारत सीमा समन्वय बैठकमा स्थानीय तह निर्वाचन २०७९ का लागि सीमा सिल गर्ने, सीमा सुरक्षा, तटबन्ध, मोटरवेल पुल, नयाँ झोलुंगे पुल सञ्चालन र लागू औषध ओसार पसार नियन्त्रण सम्बन्धी छलफल गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकमा छिमेकी राष्ट्र भारतबाट पिथौरागढ जिल्लाका अपर जिल्ला अधिकारी फिंचा राम चौहानको नेतृत्वको टोली सहभागी भएको थियो । उक्त बैठकमा बैशाख २७ गते साँझ ७ बजेबाट बैशाख ३० गते साँझसम्म दार्चुलाका सम्पूर्ण अन्तराष्ट्रिय सीमानाका बन्द गर्ने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?