दार्चुला। दार्चुलाको लेकम गाउँपालिका–५ मैखोलीमा जन्मिएकी चन्द्रिका जोशीले सुदूरपश्चिमको मौलिक संस्कृति संरक्षण, पुस्तान्तरण र प्रचारप्रसारमा योगदान पुर्याइरहेकी छन्। पेसाले शिक्षक चन्द्रिका सामाजिक सञ्जालमार्फत सुदूरपश्चिमको संस्कृति चिनाउने अभियानमा जुटेकी हुन ।
पछिल्लो समय चन्द्रिकाले सुदूरपश्चिमको मौलिक गौरा पर्वमा गाइने ‘सगुना फाग’ गाएर सामाजिक सञ्जालमा पोस्ट गर्छिन् । आफूले सामाजिक सञ्जालमार्फत नै सुदूरपश्चिमको संस्कृति र महत्वसँग जोडिएको सगुना फाग सबैमाझ पुर्याइरहेको उनी बताउँछिन् । सगुना फाग भनेको सुदूरपश्चिममा धार्मिक तथा मांगलिक कार्यहरूमा गाइने परम्परागत लोकगीत हो । यसमा धार्मिक भावना र भगवानको स्तुति बढी हुने गरेको छ ।
सुदूरपश्चिममा नयाँ पुस्ताले सिक्न हिच्किचाउने, लाज मान्ने र पुराना पुस्ताले सिकाउने प्रयत्न नगर्दा सुदूरपश्चिमको मांगलिक अवसरमा गाइने सगुना र फागहरू लोप हुने अवस्थामा पुगेका छन् ।
दार्चुलाको लेकम-५ मैखोलीमा जन्मिएकी २४ वर्षीया चन्द्रिका अहिले रामेछापको पटनादेवी माविमा विज्ञान पढाउँछिन् । भौगोलिक रूपमा सुदूरपश्चिमबाट टाढा भए पनि सामाजिक सञ्जाल फेसबुक र टिकटक लगायत सोसल मिडियामा चन्द्रिका नामक फेसबुक आईडीबाट नियमित सांस्कृतिक सगुना र फाग प्रस्तुत गरिरहेकी छन् । चन्द्रिकाले गौरा सुरु हुने दिन पञ्चमीदेखि विसर्जन गरिँदासम्मका छुट्टाछुट्टै अंशहरू प्रस्तुत गरेकी छन।
पछिल्लो समयमा युवा पुस्ताले सस्कृति बिर्संदै गइरहेको महसुस भएपछि आफू सामाजिक सञ्जालको माध्यमबाट संस्कृति बचाउने अभियान सञ्चालन गरिरहेको चन्द्रिका बताउँछिन् । ‘मैले हजुरआमा र आमाबाट सुदूरपश्चिममा शुभकार्यमा गाइने सबै प्रकारका सगुन र फागहरू सिकेकी हुँ । पछिल्लो समयमा युवापुस्ताले संस्कृति बिर्संदै गएको महसुस गरें । त्यसैले अभियान नै सञ्चालन गरेर सगुना र फागहरू सामाजिक सञ्जालमा नियमित प्रस्तुत गर्ने गर्छु,’ चन्द्रिकाले भनिन् ।
सानै उमेरमा चन्द्रिकाले सगुना फाग सिकेकी थिइन् । हजुरआमा कौशिलादेवी जोशी शुभ कार्यमा गाइने फाग र सगुनाका जानकार हुनुहुन्थ्यो । चन्द्रिकाकी आमा अमतादेवीले सगुन फाग लगायतका सांस्कृतिक ज्ञान कौशिलादेवीबाट सिकिन् । हजुरआमा र आमाबाटै चन्द्रिकाले सुदूरपश्चिमको मौलिक संस्कृति जोगिएका सगुना फाग गाएर धेरैको मन जितेकी छिन् । उनका बुवा हरिदत्त जोशी पनि ज्योतिष हुनुहुन्छ । बुवाबाट पनि धेरै जानकारी हासिल गरेको चन्द्रिका सुनाउँछिन् ।
उनले पछिल्लो दुई महिनादेखि सामाजिक सञ्जालमा गौरा पर्वमा गाइने सगुन फाग निरन्तर राख्दै आएकी छिन् । सुदूरपश्चिमको मांगलिक कार्यमा गाइने सगुना फाग समेटेर पुस्तक नै लेख्ने तयारी गरेको चन्द्रिका बताउँछिन् । चन्द्रिकाको यो कदम पछिल्लो पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।





प्रतिक्रिया