दार्चुला । भारतले अतिक्रमण गरेको दार्चुलाको कालापानी नजिकैको क्षेत्र तिंकर पुग्ने सडक निर्माणका लागि सरकारले अलग्गै कार्यालय स्थापना गर्ने भएको छ ।
महाकाली करिडोरअन्तर्गत निर्माण भइरहेको उक्त सडकको खलंगा-तिंकर सडकको निर्माणलाई तीव्रता दिनका लागि अलग्गै कार्यालय स्थापना गरिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले बताउनुभयाे ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री नेम्वाङले कञ्चनपुरको गड्डाचौकीदेखि दार्चुलाको तिंकरसम्मको महाकाली करिडोर निर्माणलाई सरकारले महत्त्वका साथ अगाडि बढाएको बताउनुभयाे ।
महाकाली करिडोरको दार्चुला खलंगा- तिंकर सडकखण्ड निर्माणलाई थप महत्त्व दिएर मन्त्रिपरिषद् बैठकले नै नेपाली सेनालाई जिम्मा दिएको स्मरण गराउँदै मन्त्री नेम्वाङले त्यसका लागि छुट्टै कार्यालय स्थापना गरिने पनि जानकारी गराउनुभयाे ।
महाकाली करिडोरको कार्यालयबाट उक्त खण्डको निर्माण कार्य अगाडि नबढाएर अलग्गै कार्यालय स्थापना गरेर व्यवस्थापन कार्यालय अगाडि बढाउन लागिएको उहाँकाे भनाइ छ ।
लिपुलेक भएर भारतले सडक निर्माण गरेपछि सरकारले तिंकरमा सशस्त्र प्रहरीको सीमा सुरक्षा चाैकी स्थापना गरेको थियो । तिंकर जानका लागि नेपालीलाई भारतीय सडक प्रयोग गर्ने अवस्थाको अन्त्य गर्न का लागि सरकारले उक्त सडक निर्माणको जिम्मा सेनालाई दिएको थियो । उक्त सडक निर्माणको काम सेनाले थालिसकेको छ ।
तिकंर सडक सामरीक महत्तकाे सडक भएकाेले प्रार्थमिकताका साथ निर्माण गर्न दार्चुलाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले पटकपटक सरकारकाे ध्यानअाकर्षण गराउँदै अाएका छन् ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।