दार्चुला । कोरोना भाइरसको प्रभावका कारण विगत बर्षहरुकाे भन्दा भिडभाड कम भएपनि धार्मिक, सास्कृतिक परम्पराअनुसार यो बर्षको गौरा पर्व सम्पन्न भएको छ ।

सुदूरपश्चिमेलीहरुको प्रमुख चाडपर्वमध्ये गौरा पनि सबैभन्दा ठूलो एक पर्व हो । गौरा देवी पार्वती (पर्वतीकी छोरी) को रूप हो । उनै देवीको नामबाट गौरा पर्व भन्ने नाम रहन गएको पाइन्छ । नेपालको सुदूरपश्चिम र यस नजिकका कर्णाली प्रदेश र भारतीय भू भागमा समेत यो पर्व मनाउँदै आएको पाइन्छ ।

यो पर्वका अवसरमा आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य एवं चिरस्थायी सम्बन्धका लागि कामना गर्दै ब्रतबन्ध र पुजापाठ गर्ने गरिन्छ । देवी पार्वतीले भगवान् शिवलाई प्राप्त गर्न तपस्या गरेको पौराणिक घटनाबाट यो पर्व मनाउन सुरु गरिएको लोक मान्यता छ । यो पर्व ठाउँ र रीतिअनुसार आ–आफ्नै ढंगले मनाइन्छ ।

यो पर्व भदौ पञ्चमीदेखि सुरु हुन्छ जसलाई स्थानीय भाषामा विरुडा पञ्चमी भनिन्छ । पञ्चमीको दिन बिहानै उठी नुहाएर विरुडा (क्वाटी) जसमा मास, गुरास, केराउ, गहत, र गहुँ (पञ्च अन्नलगायत समावेश गरिएको) लाई स्थानीय न्वालो (कुवा), पँधेरोको पानीले भिजाइन्छ । त्यही दिन न्वालोमा गौराको प्रतिरूप स्थापना गरिन्छ । यसलाई न्वालाको गौरा पनि भनिन्छ । पञ्चमीका दिन भिजाइएको बिरुडा ठष्ठीको दिन धुने चलन छ । बिरुडा भिजाउदा, धुदा र धोएर घर जादा विभिन्न फाग, सगुनहरु गाउँने गरिन्छ ।

भाद्र सप्तमीका दिन चेलीबेटीहरूद्वारा पुतला (गौरी) लाई गाउँका मुखियाको तोकिएको खेतबाट सावाँ, धान, दुबो, गुबो, मुथो गरी पाँचथरीका बोट जरैदेखि उखेलेर गौरा देवीको प्रतिमाका लागि डालोमा राखी मुखियाको घरमा लैजाने गरिन्छ । पुरानो चलनअनुसार गाउँमा महत्वपूर्ण जिम्मेवारी दिएकामध्ये मुखियाको घरलाई धर्मावलम्बीहरूले ‘गौरा घर’ पनि भन्ने गर्दछन् । तर, बसाइँसराइ भएर अर्को ठाउँमा यो पर्वको सुरुवात गर्दा मुखियाको घरमा मात्र गर्ने प्रचलन हटेको छ ।

त्यो दिन महिलाहरू दिनभर व्रत बसेर बेलुका सिंदुर, पोते, डोरी, गुन्यौ, चोलो, फरिया, दुबधागो (धागोपोते) आदिले सिंगारी पूजा अर्चना गरी ब्राह्मणलाई दान गरेर मात्र खाना खान्छन् । यस दिन व्रतधारी महिलाले घाँटीमा दुबधागो लगाउनैपर्ने हुन्छ । दुबधागो रातो, पहेँलो, कालो, हरियो, सेतो गरी पञ्च रंगको धागोबाट बनेको हुन्छ । यसलाई पुरुषले जनै लगाएजस्तै गरी महिलाहरूले घाँटीमा रंगीन पोतेको रूपमा लगाउँछन् ।

भोलिपल्ट गौरा देवीको सञ्जा (सौता) लाई खेतबाट ल्याएर घरमा भित्र्याइन्छ । त्यसपछि सञ्जा र घरमा राखेको प्रतिमूर्ति पुतला दुवैलाई एउटै गौरामा विलय गरी ब्राह्मणको उपस्थितिमा गौरा देवीको विशेष प्रतिमा बनाइन्छ । त्यही दिन गौरा देवी र महेश्वर (शिव) लाई लगनगाँठोले सम्बन्ध स्थापना गरी वैदिक रितपूर्वक पूजापाठ गरिन्छ । महेश्वरको प्रतिमूर्तिको रूपमा एउटा ढुंगा वा काठबाट निर्मित हुन्छ ।
गौरा उपासकका लागि यस पर्वको सबैभन्दा महत्वपूर्ण दिन अष्टमी हो ।

स्थानीय भाषामा यसलाई अठेबाली पनि भनिन्छ । यो दिन व्रतधारी महिलाले बिहानै गौराखलो (गौरा पूजन गर्दै नाचगान गर्ने गौरास्थल) मा गौरी र शिवको प्रतिमूर्तिलाई लगी दिनभरि देवी–देवतालाई मुग्ध पार्ने फाग (गीत) गाएर एवं बिरुडा, फल, फूलपाती, अक्षता चढाएर पूजाआजा गर्दछन् । बेलुकी गौरादेवीको प्रतिमालाई एकजना व्रतधारी महिलाले शिरमा बोकी अगाडि–अगाडि र अर्की व्रतधारी महिलाले महेश्वरको प्रतिमूर्तिलाई शिरमा राखी पछाडि नाचगान गरिन्छ ।

त्यसपछि सबै व्रतधारी महिलाले गोलाकार लाम बनी स्थानीय लोकलयमा सगुन, गीत गाउने र नाच्ने गर्दछन्र । यो कार्य व्रतधारी सबै महिलाले क्रमैसँग गर्दछन् भने कसैले टाउकोले छोएर मात्र भए पनि विधि पुर्याउने गर्छन् ।

अन्तिम विधिका रूपमा दिनभरि गौरी पूजनमा चढाइएका फलफूल र अक्षता आदि तन्ना वा ठूलो ओड्ने कपडामा राखी पाँचपटक आकाशतिर र चारै दिशातर्फ हुर्याइन्छ, जसलाई फल फट्काउने भनिन्छ । त्यसबखत प्रत्येक व्रतधारी महिलाले फल पाउने आशामा पछ्यौरी, रुमाल, पोल्टो आदि थापेका हुन्छन । राम्रो फल प्राप्त भएकालाई वर्षभरि शुभ हुने मान्यता रहेकोले सबैले प्रसाद पाउने आशा राखेका हुन्छन् ।

प्रथम पटकका उपासक नव दुलही (नौलगोरीया) तथा पुत्र नभएकाहरूको हातमा राम्रो फल परे पुत्रलाभ लगायत मनोकामना पूरा हुने शुभ लक्षणका रूपमा समेत लिइने पुरानो मान्यता रहेको छ । अन्त्यमा स्थानीय देवी–देवतामा बिन्तीभाउ गरी सुख–समृद्धिको कामना गर्दै गौरा देवीको बिदाइ गरिन्छ ।

यसरी गौरालाई पाँचदेखि ११ दिनसम्म त्यही गौराघरमा राखेर अन्तिम दिन गौरालाई विसर्जन गरिन्छ । अन्तिम दिनसम्म गौरा राखेको घरको अगाडि विभिन्न लयका देउडा गीतहरू गाउँदै नाचिन्छ । यस अवसरमा गाइने देउडा, खेल, ठाडी भाका, फागजस्ता गीतहरू गाएर रमाइलो गरिन्छ । ती गीतहरूबाट रमाइलो लिने मात्र नभई यसमा पौराणिक देवीदेवता, राजा रजौटा र महाभारत, रामायण, कृष्णलीलाजस्ता कथाहरूको आधारमा गीतहरू बनाएका हुन्छन् । यी देउडा गीतहरूबाट इतिहास सम्झाउने गरेको पाइन्छ ।

सुदूरपश्चिमेलीहरूले यो पर्वलाई सबैभन्दा ठूलो चाडको रूपमा मनाउँछन् । यस पर्वको अवसरमा मानिसहरू नयाँ पोसाकहरू लगाउने, मीठा परिकारहरू खाने र आफन्तहरू भेला भएर रमाइलो गर्ने चलन छ । घरभन्दा बाहिर भएका आफन्तहरू यस पर्वको महत्वलाई बुझेर गाउँ फर्कने गर्दछन् । चेलिबेटी र इष्टमित्रलाई प्रसादको रूपमा बिरुडा वितरण गर्ने चलन छ । महिलाहरुले परिवारजन र आफन्तलाई शुभ आशिस दिदै शरिर पुजा गर्ने अर्थात टाउको पुज्ने चलन समेत रहेको छ ।

यस चाडको सन्दर्भमा नयाँ लुगा किनमेल र मिठा परिकारहरू तयार गर्नुपर्ने हुँदा गरिबहरूका लागि यो पर्व एउटा बोझको रूपमा पनि छ । २०४६ सालको परिवर्तन र ०६३ को राजनीतिक परिवर्तनपछि राजधानीमा बसाइँसराइ वृद्धि भएसँगै सुदूरपश्चिमी जनताले पनि काठमाडौंको खुलामञ्चलगायत सार्वजनिक मन्दिर तथा चौरमा देउडा खेलेर गौरा पर्व मनाउँदै आएका छन् । यसमा वरिष्ठ राजनीतिक तथा विभिन्न पेसागत व्यक्तित्वदेखि त्यहाँ बसेर पढिरहेका युवा वर्गको पनि उत्तिकै सहभागिता रहने गरेको छ ।

यसरी एकातिर गौरा पर्वको प्रचारप्रसारमा पहिलाभन्दा अहिले निकै प्रभावकारिता आएको देखिन्छ । मुलुक प्रादेशिक संरचनामा गएपछि सुदूरपश्चिम प्रदेश र स्थानीय तहहरूले निर्णय गरी सार्वजनिक बिदा दिने गरेका छन् भने संघीय सरकारले पनि क्षेत्रगत बसोवास गर्ने कर्मचारीलाई बिदा दिने व्यवस्था गरी यसको महत्वलाई बढाएको देखिन्छ । दार्चुलाका स्वर्गिक नेता प्रेमसिह धामीले सदनमै आवाज उठाएपछि गौरापर्वको मुख्य दिन अर्थात अष्ठमीको दिन नेपाल सरकारले सार्वजनिक विदा दिदै आएकोमा पछिल्लो समय स्थानीय बिदा समेत थप गर्ने गरिएको छ ।

तर, अर्कोतिर यसको संरक्षण र विकासका लागि त्यतिसाह्रो कसैको ध्यान गएको देखिँदैन । खासगरी यस पर्वको मर्मलाई जनस्तरसम्म पुरÞ्याउनका लागि प्रत्येक गाउँमा गौरीको प्रतिमूर्तिलाई गाउँको मुखिया वा कसैको घरमा मात्र नराखी एउटा छुट्टै गौरा मन्दिरको निर्माण हुनुपर्दछ । साथै गौराको पूजा गर्नु सबैको दायित्व हो भन्ने आभास सबैमा हुनुपर्ने जरुरी छ ।

यो बर्ष कोरोना भाइरस कोभिड १९ को सम्भाबित जोखिमलाई ध्यान दिदै बिगत बर्षहरुको जस्तो भिडभाड भएको छैन् । गौराको अवसरमा खेलिने खेलहरु र बजाइने बाजाहरुको रौनकतामा कमि आएको छ । बढी गाउँमा मानिस सहभागि हुने मड, जयपुर लगायत स्थामा गौरा, खेणी नमनाइएपनि गाउँ टोलमा भने गौरा मनाइएको छ । लेकम गाउँपालिका ५ मैखोलीमा अष्ठमीको दिन गौरा, नबमीको दिन मैखोली खेणी, दशमीको दिन ऐडिबाग मन्दीरमा धोणी, एकादशिको दिन डाडाबाग र द्धादशीका दिन अम्कुर लटिनाथ मन्दिरमा लमधोणी मनाइएको छ ।

यो बर्ष निकै रमझम र हर्षोउल्लासका साथ गौरापर्व समापन भएको छ । गौरापर्वको सास्कृतिक महत्त, पहिरन, एकता, मेलमेलाप र धार्मीक आस्थाको भावलाइ जिवित राख्न यस्ता पर्वहरुलाई सम्भताका साथ निरन्तरता दिनु आवश्यक रहेको छ ।
सम्पूर्ण गौरापर्वको विधि समेटेर तयार पारिएको भिडियो रिर्पोट हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?