दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–४ मा रहेको रानी शिखर स्वास्थ्य चौकीका प्रमुख एबं सिनियर अहेब नारायण दत्त भट्टले सुत्केरी भत्ता वितरणमा अनियमितता गरेको आरोप लागेको छ ।
घरमा सुत्केरी भएका महिलाहरुलाई पनि स्वास्थ्य चौकीमा सुत्केरी भएको भन्दै सुत्केरी भत्ता निकासा गरी भ्रष्टाचार गरेको र स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुलाई पनि ३८ सय रुपैँया दिनुपर्ने ठाँउमा तीन हजार मात्रै दिएर बाँकी आठ सय रकम हिनामिना गरेको स्थानीय कृष्ण बोहराले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा पाँच जना महिला पूजा भट्ट, पुस्पा भट्ट, कलावती बोहरा, उजली ठगुन्ना र जानकी भट्ट स्वास्थ्य चौकीमा सुत्केरी भएका थिए । हरिना भट्ट, चन्द्रा धामी र मन्ता ठगुन्ना गरी तीन जना घरमै सुत्केरी भएका थिए । घरमै सुत्केरी भएका महिलाहरुको समेत स्वास्थ्य चौकी प्रमुख भट्टले किर्ते दस्तखत गरी शैल्यशिखर नगरपालिकाबाट आठै जना महिलाको सुत्केरी भत्ता निकासा गरेकोमा घरमा सुत्केरी भएका महिलाहरुलाई भत्ता नदिएको र स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुलाई आठ सय रुपैँया कम दिएर आर्थिक अनियमितता गरेको स्थानीय बोहराले बताउनुभयो ।
घरमा सुत्केरी भएका महिलाको विवरण स्वास्थ्य संस्थामै सुत्केरी भएको भनेर उल्लेख गर्दा फोन नंम्बर पनि खुलाइएको छैन । नगरपालिकाले सोधखोज गर्न नसकोस् भनेर फोन नम्बर नराखेको स्रोतको दाबी छ ।
नियमित स्वास्थ्य परीक्षण गरेर संस्थागत सुत्केरी भएका जानकी भट्टले ३८ सय रुपैँया सुत्केरी भत्ता पाउनुपर्ने माग गरेपनि तीन हजार रुपैँया मात्रै पाइने भन्दै आठ सय रुपैँया अनियमितता भएको थियो । सुत्केरी भत्तामा भ्रष्टाचार भइरहेको घटना बाहिर आउन थालेपछि स्वास्थ्य चौकी प्रमुख भट्टले घरघरमा गएर तीन हजार रुपैँया मात्रै दिएका महिलाहरुलाई आठ सय रुपैँया थपेर दिएको र घरमै सुत्केरी भएका महिलाहरुलाई ३८ सयका दरले पैसा दिएको स्थानीयहरुले बताएका छन् ।
सुरुमा ३८ सय रुपैँया पाउनुपर्ने माग गर्दा समेत नपाएकोले अहिले घरमा आएर दिन खोजेको आठ सय रुपैँया आफुले नलिएको एक जना सुत्केरी महिलाले बताएका छन् ।
विगत २२ बर्षदेखि रानी शिखर स्वास्थ्य चौकीमा कार्यरत भट्टले विभिन्न सेवाहरुमा विगतदेखि नै अनियमितता गर्ने गरेको स्थानीयको आरोप छ । सुत्केरी प्रोत्साहन भत्ताका साथै महिला स्वास्थ्य स्वयमसेवीकाहरुको बैठक भत्ता, दादुरा रुबेला लगायत खोप लगाउन परिचालित स्वयमसेवकहरुको भत्तामा समेत अनियमितता हुने गरेको श्रोतको दाबी छ । भट्टले निःशुल्क पाइने सेवाहरुमा समेत पैसा माग्ने र स्वास्थ्य चौकी नजिकै सञ्चालन गरेको औषधी पशलबाट समेत कालोबजारी गर्ने गरेको स्थानीयको आरोप छ ।
स्वास्थ्य चौकी प्रमुख भट्टले भने अस्पतालबाट प्रवाह हुने कुनैपनि सेवामा अनियमितता नभएको र केहि मानिसहरुले व्याक्तिगत रिसिबिका कारण आफ्नो चरित्रहत्या गर्न खोजेको जवाफ दिएका छन् ।
संस्थागत सुत्केरी नभएका महिलाहरुले उत्तरप्रशुती सेवा लिएकोले उनिहरुलाई समेत सुत्केरी भत्ता वितरण गरिएको उहाँको भनाई छ । शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर बिष्टले भने सुत्केरी भत्तामा अनियमितता गरेको गुनासो आइसकेपछि अनुसन्धान गर्ने काम भइरहेको र स्वास्थ्य चौकी प्रमुख भट्टलाई काजमा गोकुलेश्वर अस्पताल सरुवा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
भट्टलाई दुई हप्ता पहिले नै गोकुलेश्वर अस्पतालमा हाजिर हुन नगरपालिकाले पत्र पठाएको भएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन् । स्वास्थ्य चौकी प्रमुख भट्ट एक, दुई दिनमा अस्पतालमा हाजिर हुने नगरपालिका स्रोतको भनाई छ । तर आफुले अनियमितता नगरेको स्पष्टिकरण नगरपालिकालाई दिइसकेकोले काज फिर्ता हुने विस्वासले आफु गोकुलेश्वर अस्पताल नगएको स्वास्थ्य चौकी प्रमुख भट्टको भनाई छ ।