दार्चुला । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) ले सीमा सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिकको सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० छाङरु दार्चुलाको उद्घाटन र भवन शिलान्यास गर्नुहुँदै गृहमन्त्री थापाले सीमा क्षेत्रमा सुरक्षाकर्मी र बीओपी थप हुने क्रममा रहेको जानकारी दिनुभयो ।
भारतले नेपाली भूमी मिच्दै गएपछि आफ्नो भूमीको रक्षाको लागि नेपाल सरकारले गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेकोमा अहिले गुल्ममा स्तरोन्नती गरिएको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार छाङरु सशस्त्रको गुल्म स्थापना गरिएको गृहमन्त्री थापाले बताउनुभयो । अहिले व्याँसको गुल्ममा सशस्त्र प्रहरी नायब उपरीक्षक धिरेन्द्र शाहले नेतृत्व गरिरहनुभएको छ ।
गृहमन्त्री थापाले भन्नुभयो, नेपाल सरकारले भारतद्धारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटर नयाँ नक्सा जारी गरिसकेको छ । नक्सामा समेटिएको भूमि फिर्ता गर्ने र सीमा क्षेत्रमा सुरक्षा उपस्थिती बढाउने कामलाई सरकारले प्राथमिकतामा राखेको छ । व्याँसकै तिङ्कर र कौवामा पनि बीओपी स्थापना हुने उहाँले बताउनुभयो ।
गृहमन्त्री थापासँगै व्याँसको छांगरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, दार्चुलाबाट निर्वाचित सांसद गणेशसिह ठगुन्ना, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, नेपाली सेनाका सहायक रथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल लगायत १२ जनाको टोली काठमान्डौँबाट नेपाली सेनाको एनए ०५७ नम्बरको हेलिकोप्टरमार्फत छाङरु पुगेको हो । गृहमन्त्री थापा नेतृत्वको टोली शुक्रबार व्याँसमै बस्ने कार्यक्रम रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो ।
गृहमन्त्री थापाको टोली शनिबार छाङरुबाट सिधै काठमाण्डौं फर्किने कार्यतालिका रहेको छ । व्याँसमा बस्दा कालापानी नजिकको कौवा, तिङ्कर लगायतका क्षेत्रमा निरीक्षण गर्ने योजना रहेको जनाइएको छ ।
छाङरु सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मको भवन १० करोड लागतमा बन्नेछ । गत असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा गण स्थापना गरेर खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्याँस गाउँपालिका–१ छाङरुको गागामा सार्ने निर्णय गरेको थियो । व्याँस गाउँपालिका–१ छाङरु अतिक्रमित क्षेत्र कालापानीभन्दा झण्डै १२ किलोमिटर दक्षिणमा पर्दछ ।
सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढ्दै
दार्चुलामा भारतसंग सीमा जोडिएको व्याँसदेखि लेकम गाउँपालिकासम्म सशस्त्र प्रहरीको उपस्थिति बढ्दै गएको छ । हालसम्म चार स्थानमा सीमा निगरानी चौकी (बीओपी) स्थापना गरिसकेको सशस्त्र प्रहरीले छिट्टै तीन ठाउँमा बीओपी थप गर्ने तयारी थालेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति एबं प्रहरी उपरीक्षक नरेन्द्र बमले जानकारी दिनुभयो ।
नेपाल सरकार गृह मन्त्रालयले भारतसँगको सीमा नाका जोडिएको दार्चुलाको दत्तु सीमामा बीओपी स्थापनाका लागि स्वीकृत भइसकेको छ । सशस्त्र प्रहरी बल नेपालले मुलुकका विभिन्न क्षेत्रमा बीओपी स्थापना गर्नुपर्ने भन्दै गृहमन्त्रालयमा पेश गरेको प्रस्ताव अनुसार दार्चुलाको दत्तुको लागि पनि स्वीकृति दिएको गृहमन्त्री रामबहादुर थापाले बताउनुभयो । यसअघि दार्चुलाको लेकम गाउँपालिका–३ लाली, मालिकार्जुन गाउँपालिका–७ जोलजीवि र व्याँस गाउँपालिका–२ दुम्लीङमा बीओपी स्थापना भइसकेको छ ।
भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी नजिकैको व्याँस गाउँपालिका–१ छाङरुमा स्थापना भएको बीओपीलाई स्तरोन्नती गर्दै सशस्त्र बल नेपाल नम्बर ५० गुल्म बनाइएको छ । सशस्त्र प्रहरीको चीनसँग सीमा जोडिएको तिङ्करमा बीओपी भवन बनाउन बजेट समेत विनियोजन भएर टेण्डर आह्वान गरिएको छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकैको कौवा क्षेत्रमा समेत सशस्त्र प्रहरीको बीओपी स्थापना गरिने गृहमन्त्री थापाले बताउनुभयो ।
छाङरु गुल्मको भवन यस्तो बन्नेछ
सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका लागि छाङ्रुको गागामा सुविधा सम्पन्न भवन निर्माण गर्ने उद्धेश्यले शुक्रबार शिलान्यास गरिएको छ । हिमपातको समयमा समेत बस्न मिल्नेगरी ढुंगा, माटो र काठबाट निर्माण हुने भवनको छतमा जस्तापाता राख्ने स्टमेट छ ।
गगास्थित १५ रोपनी क्षेत्रफलको जमिनमा तीन दर्जन कोठा निर्माण गर्ने योजना छ । गुल्म परिसरमा शौचालय, ब्यारेक भवन, कार्यालय भवन र प्रवेशवद्धार पनि बनाइने छ । उक्त भवनको केही कोठा दुई महिनाभित्रै तयार गरिसक्ने योजना छ ।
पत्रकार महासंघद्धारा उच्चस्तरिय भ्रमणको प्रशंसा, मिडियामैत्री व्यवहार नभएकोमा खेद प्रकट
गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा महत्तपूर्ण व्याक्तिहरुले दार्चुलाको छाङरुमा निर्माण हुन लागेको गुल्मको भवन शिलान्यास कार्यक्रममा सहभागि भएकोमा जिल्लाबासी उत्साहित भएको भन्दै नेपाल पत्रकार महासंघ दार्चुलाले धन्यबाद व्यक्त गरेको छ । सीमा क्षेत्रमा उच्चस्तरीय भ्रमण हुदा राज्यको प्राथमिकतामा सीमा सुरक्षा रहेको सन्देश जाने भन्दै प्रेस विज्ञप्तीमार्फत पत्रकार महासंघले खुसी व्यक्त गरेको छ ।
सरकारका गृहमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरुको भ्रमण कार्यतालिकाबारे समाचार प्रयोजनका लागि स्थानीय प्रशासन र सुरक्षा निकाय (सशस्त्र प्रहरी) ले मिडियालाई स्पष्ट जानकारी नदिएको भन्दै महासंघले जिल्लाको सुरक्षा प्रशासन प्रति भने खेद व्यक्त गरेकाे छ ।
नागरिक चासो र सरोकारको विषयलाई जोड्ने महत्तपुर्ण जिम्मेवारी मिडिया क्षेत्रको हुदाहुदै मिडिया क्षेत्रलाई उपेक्षा गर्नु गलत कार्य भएको भन्दै पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमार्फत स्थानीय प्रशासन र सशस्त्र सुरक्षा निकाय प्रति खेद व्यक्त गरिएको छ । साथै अगामी दिनमा मिडिया समन्वय हुने अपेक्षा समेत व्याक्त गरिएकाे छ ।