कोरोना भाइरस (कोभिड १९) को कारण दार्चुलाका दुई जना पुरुषको मृत्यु भइसकेको छ ।
गत असोज ९ गते मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ लिमा घर भएका ३० वर्षीय दिपेन्द्र गिरीको कोरोनाका कारण मृत्यु भएको थियो ।
नापी कार्यालय चितवन खैरहनीमा कार्यरत अमीन गिरीको गत महिना नया मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको मृतकका आफन्त एबं नेपाली काग्रेश दार्चुलाका नेता मदन गिरीले जानकारी दिनुभयो ।
यस्तै धनगढीमा उपचारका क्रममा दुहुँ गाउँपालिका–२ हिकिलाका ५३ वर्षीय पुरुष धनसिह कार्कीको पनि कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । चार दिन पहिले ज्वरो संगै श्वासप्रश्वासमा समस्या देखिए पछि उपचारका लागि धनगढी गएका उहाँको उपचारका क्रममा धनगढीमा भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो ।
गिरी र कार्की दुबै जनाको मृत्यु भए पछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । दुहुँका मृतक कार्कीको शव कैलाली स्थित गोदावरी नगरपालिका–४ स्थित तेघरी सामुदायिक वनमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
कोरोनाका कारण मृत्यु भएपछि उहाँको घरपरिवार तथा टोल छिमेक सिल गरी सम्पर्क पहिचान तथा स्वाव संकलन गर्ने कार्य गर्ने तयारी भइरहेको दुहुँ गाउँपालिकाले जनाएको छ । कोरोनाका कारण मृत्यु भएका ति पुरुष नेपाल प्रहरीको भुतपूर्व प्रहरी नायव निरीक्षक रहेको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
दुहुँ गाउँपालिका घर भएका ति पुरुषको मृत्यु भएको र एक जना स्वास्थ्यकर्मीमा समेत कोरोना पुष्टि भएको भन्दै गाउँपालिकाको सिफारिसमा मंगलबार बेलुकीदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय दार्चुलाले निषेधाज्ञा जारी गरेको छ । यसअघि दार्चुला सदरमुकाम खलंगामा संक्रमितको संख्या बढ्दै गएपछि समुदायमा थप फैलिन नदिन भन्दै अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।
दार्चुलामा हालसम्म अपि हिमाल गाउँपालिका बाहेक आठ वटा स्थानीय तहका २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला बाहिर कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या यसमा नजोडिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य मान बहादुर धामी, रेडक्रस दार्चुलाका मन्त्री दिपक अवस्थी सहित जिल्ला बाहिर संक्रमण पुष्टि भएकाहरुको विवरण जिल्लामा समावेस नगरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । प्रदेशसभा सदस्य धामीको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचाररत रेडक्रस मन्त्री अवस्थीको स्वास्थ्य अवस्था समेत सुधारोन्मुक रहेको बताइएको छ ।




