दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ अन्तरगत रहेको आम्पानी जंगलमा सडेको (कुहिएको) अवस्थामा अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ । कालो पाइन्ट र सेतो सट लगाएका मृतक पुरुषको शव सडेर अस्तिपञ्जर मात्रै बाकी रहेको र छाला कुहिएर गन्हाएको अवस्थामा छ । शव फेला परेको दायाँबायाँ बाकस, अटेज, झोला, जुत्ता, कचौँरा लगायत केहि भाडाकुडा समेत पाइएका छन् ।
मृतक पुरुषको शब कार्पेटको माथि उत्तानो परेको अवस्थामा फेला परेको छ । दाया हात देखिएको छैन भने बायाँ हात जिउँमाथि देखिएको छ । शवको दक्षिण पट्टी झण्डै २५ मिटर टाढा नाम्लो लगाएको बाकस फेला परेको छ, १० मिटर टाढा अटेज झोला फेला परेको छ । यस्तै लेकम गाउँपालिका वडा नम्बर २ कुणी क्षेत्रमा शवको १० मिटर टाढा विभिन्न सामाग्री सहितको झोला फेला परेको छ । भने झोला राखिएको एक मिटर टाढा जुत्ता फेला परेको प्रतक्षदर्शी प्रेमसिह थापाले बताउनुभयो ।
आम्पानी जंगलस्थित बिच बाटोमा सडेको अवस्थामा शव फेला परेको कौलेतीका स्थानीय प्रेमसिह थापाले रेडियो लोकदर्पण र लोकदर्पण टिभीलाई जानकारी दिनुभएको छ । शव वा स्थानीय भाषामा लासको प्रकृति हेर्दा अन्दाजी दुई महिना पहिले ति पुरुषको मृत्यु भएको हुनसक्ने अनुमान गर्न सकिन्छ । मृतको छेउछाउमा भेटिएको सामाग्री हेर्दा एक जना भन्दा बढी व्याक्तिले बोकेको सामान हुनसक्ने अनुमान गरिएको छ । शव फेला परेको बाटोमा नियमित मानिसहरुको आवतजावत नहुने भएकोले शव कुहिदा सम्म समेत कसैले थाहा नपाएको बताइएको छ ।
मंगलबार बिटोरा माइत भएका एक जना मानिस शेराबाट माइत गएपछि शव फेला परेको र शवबारे जानकारी गराउदा गाउँमा सबैले थाहा पाएर प्रहरीलाई समेत खबर गरेका छन् । बुधबार आज दिउँसो इलाका प्रहरी कार्यालय लाली र गोकुलेश्वरबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउँद नेतृत्वको टोली र लालीबाट प्रहरी सहायक निरीक्षक कैलास चन्द नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतको परिचय नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको प्रतिक्रिया छ ।
स्थानीयहरुले दिएको जानकारी अनुसार शेरा वा रतौडा नाकाबाट महाकाली तरेर ती पुरुष दार्चुला भित्रिएको अनुमान गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को जोखिम बढेपछि तीन, चार महिना पहिले भारतका विभिन्न सहरबाट ट्युव वा पौडीको साहारामा महाकाली नदी तरेर सयौँ मानिस नेपाल भित्रिएका थिए । दुई महिना पहिले भारतबाट नेपाल भित्रिएको अनुमान गरिएका ति पुरुष को हुन ? र के कती कारण मृत्यु भयो ? भन्ने कुरा अहिलेसम्म रहस्यमै रहेको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरु बताउछन् ।
घटना सम्बन्धि भिडियो रिर्पोट हेर्नका लागि यहाँ क्लिक गर्नुहोस




