दार्चुला । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार दार्चुलाका पाँच स्थानीय तहमा १० शैयाको अस्पतालको शिलान्यास गरिएको छ ।
नेपाल सरकारले प्रत्येक स्थानीय तहमा अस्पताल निर्माण गर्ने कार्यक्रम अन्तरगत दार्चुलाको लेकम, मालिकार्जुन, नौगाड, दुहुँ र अपिहिमाल गाउँपालिकामा १० शैय्याको अस्पताल निर्माणको लागि भवन शिलान्यास गरिएको हो । सरकारले अस्पताल नभएका दार्चुलाका पाँच वटै स्थानीय तहमा १० शैय्याका अस्पताल निर्माण गर्न यस अघि नै ८५ लाखका दरले बजेट पठाईसकेको छ ।
लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले सोमबार गाउँपालिका वडा नम्बर ५ मा रहेको रिठाचौपाता स्वास्थ्य चौकीमा अस्पताल निर्माणको लागी भवनको शिलान्यास गर्नुभएको हो । २०३१ सालमा स्थापना भएको रिठाचौपाता स्वास्थ्य चौकी परिसरमा अस्पताल निर्माण हुने निश्चित भएपछि सोमबार धार्मिक विधिपुर्वक पुजाआजा गरेर अस्पतालको शिलान्यास गरिएको हो ।
लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीको अध्यक्षतामा आयोजित अस्पताल शिलान्यास कार्यक्रममा लेकम गाउँपालिका उपाध्यक्ष माधबी जोशी, प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर ऐरी, वडा नम्बर १ का वडाअध्यक्ष दौलतसिह साउँद, वडा नम्बर २ का वडाअध्यक्ष भवान सिह धामी, वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्रराज जोशी, वडा नम्बर ५ का वडाअध्यक्ष दिपेन्द्रसिह बोहरा, बडा नम्बर ६ का वडाअध्यक्ष कमलापती मिश्र, लेकम गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरिदत्त जोशी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्ने बक्ताहरुले अस्पताल निर्माण र सञ्चालनको शुभकामना व्यक्त गरेको रिठाचौपाता स्वास्थ्यचौकी ईन्चार्ज अम्बादत्त जोशीले जानकारी दिनुभयो । लेकम गाउँपालिकाका प्रबक्ता महेन्द्रराज जोशीले लेकम गाउँपालिकाले सम्पूर्ण क्षेत्रको समानुपातिक विकास गरिरहेको बताउनुभयो ।
लेकम गाउँपालिका उपाध्यक्ष माधबी जोशीले गाउँपालिकामा अस्पताल निर्माण सम्पन्न भइसकेपछि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने विस्वास व्यक्त गर्नुभयो । लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले सडक, विद्युत लगायत पूर्वाधारको विकास संगै शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा समेत लेकम गाउँपालिकाले फड्को मारिरहेको धारणा राख्नुभयो । केहि दिनभित्रै रातामाटामा ५ शैय्याको कोभिड १९ अस्थाई अस्पताल सञ्चालनमा आउने र दुई वर्षभित्र रिठाचौपातामा १० शैय्याको चिकित्सकिय अस्पताल निर्माण सम्पन्न भइसक्ने बताउनुभयो ।
अस्पताल शिलान्यासको भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस
सम्बन्धित समाचार : दार्चुलाका पाँच गाउँपालिकामा १० शैय्याका अस्पताल शिलान्यास




