दार्चुला । चैत महिनामा हुड्को बजाउँदै सुमधुर स्वरमा चैतलो गाउने र गाउँघरका सबै जम्मा भएर सुन्ने मौलिक परम्परा हराउँदै गएको छ । पूर्खाहरुको पालादेखि चैत महिनामा हुड्कौली नाच संगै चैतलो सुन्ने, सुनाउने चलन पछिल्लो समय बढ्दो आधुनिकतासंगै लोप हुन थालेको हो ।

केहि वर्ष पहिलेसम्म चैत महिनाभरि दार्चुला सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा परम्परागत चैतलोको धुनले गुञ्जायमान भइरहन्थे । चैतलोको धुनमा देवीदेवताका गाथा तथा परम्परागत संस्कृतिको विविध विधालाई लयबद्ध गरेर गाइने यो पर्व अहिले लोप हुँदै गइरहेको छ । नयाँ पुस्ताले यसबारेमा चासो नलिँदा सुदूरपश्चिमका पहाडी जिल्लामा चैतको महिनामा गाइने चैतलो लोप हुन थालेको शैल्यशिखर नगरपालिका–६ का स्थानीय धरम सिंह धामीले बताउनुभयो । अहिले चैतलो कतै–कतै सुन्न सकिए पनि चैतलोमा गाइने परम्परागत गीत तथा कथा भाव लोप हुन थालेको उहाँको भनाई छ ।

केहि मानिस बाहेक अधिकासंले चैतलो गाउन छोडिसकेका छन् । लेकम गाउँपालीकाभरी चैत महिनामा गाउँगाउँ घुमेर दमाई समुदायले चैतलो गाउँने चलन इतिहास बन्न थालेको छ, स्थानीय हरिना जोशीले भन्नुभयो, तीन वर्ष पहिलेसम्म चैतलो सुनाउन गराडीका दमाइ समुदाय गाउँमै आउँने गर्थे, गाउँभरी छुट्टै रौनकता हुन्थ्यो, अहिले चैतलो सुनाउँन कोहि नआउँदा चैत महिना सान्त हुने गरेको छ ।

दार्चुला, बैतडी लगायत शुदूरपहाडका केहि जिल्लाका साथै भारतको गडवाल उत्तराखण्ड क्षेत्रमा चैत महिनामा वसन्त ऋतुको बखान, दाजुभाईले दिदी बहिनीहरुलाई भेट्ने चलन र ऐतिहासिक घटनाक्रमका बारेमा गीत गाएर सुनाउने परम्परालाइ चैतलो भन्ने गरिन्छ । जसको घरमा चैतलो गाइयो उसले उपहार स्वरुप अन्न, रुपियाँ र अन्य वस्तुहरु चैतलो सुनाउँने व्याक्तिलाई दिनुपर्ने र गाउँका सबैले जम्मा भएर सुन्ने चलन रही आएको छ ।

खास गरेर दमाइ (परियार) हरुले गाउने भएकाले यसलाई जातीय रुपमा हेरिएको कारण समेत लोप हुन थालेको छ । चैतलोको सांस्कृतिक र ऐतिहासिक पक्षको महत्व पछिल्लो पुस्ताले बुझन् नसक्दा चैतलो लोप हुने अवस्थामा पुगेको स्थानीय संस्कृतिका जानकार ईन्द्रदेब जोशीको भनाई छ ।

चैतलोमा गाइने गीतले माइतीको याद मात्रै दिलाउँदैन, माइतसंग छुट्टिएको पीडा प्रष्ट झल्काउँने गरेको लेकमका पार्वती जोशीले बताउँनुभयो । चैतलोमा बिशेष गरेर कालीनाग र उसकी पत्नीसंग जोडिएको कथा भन्ने गरिएको छ । ‘परापूर्व कालमा रानादेउ नामका राजाकी छोरीको विवाह कालीनागसंग गरिएको र कालीनागको डरले छोरीलाई भेट्न माइतबाट कोही जान नसक्ने तर उनलाई माइतीको धैरे याद आउने कुरा समेटिने गरेको स्थानीय संस्कृतिका जानकार गंगादत्त जोशीले बताउनुभयो । रानादेउका छोरा साधुवालाले आफ्नी दिदीको बारेमा थाहा नपाउँदा साथीहरुले बिना दिदीबहिनीको भाई भनेर जिस्क्याउदा सहनु परेको पीडा पनि चैतलोमा गीत मार्फत बर्णन गर्ने गरिएको छ ।

अलिखित इतिहासका रुपमा रहेको चैतलो र हुड्कौली नाच जोगाउन कसैले ध्यान दिन सकेका छैनन् । चैतलोमा समेटिएको इतिहास अब लगभग लोप हुदै गएको छ । युवा पिंढीले यसको संरक्षणमा ध्यान दिन सकेन, ८५ वर्षीय दत्ते जोशीले भन्नुभयो, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले महत्तपुर्ण चैतलो र हुड्कौली जोगाउन स्थानीय सरकारको समेत ध्यान जानुपर्छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?