दार्चुला । दार्चुला सदरमुकाम खलंगासहित जिल्लाभरीको सञ्चार सेवा अवरुद्ध हुदा सेवाग्राही समस्यामा परेका छन् । जिल्लाभरी चार दिनदेखि टेलिफोन र इन्टरनेट अवरुद्ध भएपछि नागरिकहरु सञ्चार सेवाबाट बञ्चित भएका हुन् ।
कुनै कुनै ठाउँमा नेटवर्क बेला–बेला आउने जाने भइरहेको छ, दार्चुलाको लेकम गाउँपालिकाका स्थानीय महेश खत्रीले भन्नुभयो, मोबाइलमा टावर देखाएपनि फोन नलाग्ने समस्याका कारण घर, परिवारका साथै आफन्तहरुसंग सम्पर्कविहिन हुनुपरेको छ । लिज लाइनको इन्टरनेट समेत प्रभावकारी रुपमा चलेको छैन् । सञ्चार समस्याका कारण हैरानी खेप्नुपरेको सेवाग्राहीको गुनासो छ ।
सञ्चार सेवा अवरुद्ध भएपछि विभिन्न कार्यालय, संघ, संस्था, सञ्चारमाध्यमहरुका साथै इलेक्ट्रोनिक पसल र सेवाग्राहीको काम प्रभावित भइरहेको छ । टेलिफोनले काम नगरेकै कारण चार दिन देखि परिवारसंग सम्पर्क गर्न नपाएको उपचारका लागि भारत जानुभएका शैल्यशिखरका स्थानीय प्रेम जोशीले गुनासो गर्नुभयो ।
रिपिटर टावरले नै काम नगरेपछि दार्चुला जिल्लाभरी रहेका दुई दर्जन बढी टावरहरुको सेवा चार दिन देखि प्रभावित भएको छ । नेपाल टेलिकम दार्चुलाका अनुसार बैतडीको पाटनमा फाइबर लाइन भाचिएकोले टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो । नेपाल टेलिकमको सिडिएमए, जिएसएम, एडिसिएल इन्टरनेट सेवाका साथै लिज लाइनमा समेत समस्या देखिएको छ ।
दार्चुलाका साथै बैतडी जिल्लाको समेत अधिकासं स्थानमा सञ्चार सेवा अवरुद्ध भएको पुर्चौडी नगरपालिकाका स्थानीय हरिसिंह साउँदले बताउनुभयो । फाइबर लाइन भाचिएको क्षेत्रमा प्राविधिक टोली खटिएकोले बिहिबार बेलुकीसम्म सञ्चार सेवा सुचारु हुनसक्ने टेलिकमले जनाएको छ ।




