दार्चुला । दार्चुलाको लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाका दर्जनौँ गाउँमा खानेपानीको हाहाकार भएको छ । सुख्खायाम सुरु भएसंगै दार्चुलाका ग्रामीण बस्तीमा खानेपानीको चरम समस्या देखिन थालेको हो ।
यो वर्ष समयमै वर्षा नहुँदा अधिकासं खानेपानीका मुहान सुकेका छन् । मुहान सुक्दा र पानीको मात्रा घट्दा स्थानीयले अभाव बेहोर्नुपरेको छ । नियमित वर्षा नहुदा पहाडी क्षेत्रमा खानेपानी समस्या बर्सेनि बढ्दै गएको छ । लेकम गाउँपालिका–२ कुणीमा करिब १२ किलोमिटर टाढा दोबाटाको मुहानबाट पानी लगिएको छ । सुख्खायाममा उक्त बस्तीका लागि ३/४ दिनपछि एक घण्टाका लागि मात्र पानी आउने गरेको छ । दोबाटोबाट आएको पानी पिउन समेत नपुग्ने भएकोले सरसफाइन गर्न, खाना पकाउन र गाइभैँसीका लागि नजिकका खोलाहरुबाट पानी बोकेर जोहो गर्नुपर्ने बाध्यता रहेको स्थानीय मोहनदेब भट्टले बताउनुभयो । खोलामा समेत प्रयाप्त पानी नहुदा झनै समस्या भोग्नुपरेको उहाँको भनाई छ ।
दार्चुलाका सबै स्थानीय तहका उच्च भेग र पाखो क्षेत्रका अधिकांश बस्तीमा पानीको समस्या रहेको मालिकार्जुन गाउँपालिका–२ का धनसिंह धामीले बताउनुभयो । चैत महिना सुरु भए देखि नै गाउँ नजिकका मुहान सुक्न थाले, केहीमा पानीको मात्रा धेरै घटिसकेको छ, उहाँले भन्नुभयो, अहिले गाउँदेखि निकै टाढाबाट पानी बोकेर समस्या टार्दै छौँ । उक्त मुहान पनि वैशाखसम्म सुक्ने अवस्थामा पुगिसकेको उहाँले बताउनुभयो । मालिकार्जुनको भगवती, सिराड, हुनैनाथ, लेकम गाउँपालिकाको कुणी, कुसकडा, सल्ला, रातामाटा, खरकडा, रिठाचौपाता, मैखोली, उचाकोट, बडीपुर लगायतका बस्तीहरूमा खानेपानीको सास्ती रहेको मैखोलीका स्थानीय लिलाधर जोशीले बताउनुभयो ।
अधिकासं ठाउँमा खानेपानी योजनाका धारा र पानीका पाइप भएपनि मुहानमा पानी नहुँदा उपभोग गर्न नपाइएको उहाँको भनाई छ । मैखोली टोलमा ट्याङ्की (नौला) को पानी सुकेपछि राती जागराम बसेर फोहोर पानी संकलन गर्दै दैनिकि चलाउनुपरेको उहाँको दुखेसो छ ।
नजिक भएका पानीका मुहान सुकिसकेका छन, झरकडाका स्थानीय पुष्पराज जोशीले भन्नुभयो, गाउँ नजिक पानीका मुहान नहुँदा धेरै टाढाबाट पानीका जार र गाग्रीहरु पिठ्युमा बोक्नुपर्ने बाध्यता छ । यो सिजनमा गाउँमा पानी भर्न समेत पालो कुर्नुपर्ने बाध्यता छ । खानेपानीका धेरै योजनाहरू निर्माण भए पनि सुख्खायाममा मुहान नै सुक्दा समस्या समाधान हुन नसकेको शैल्यशिखर–७ का वडाध्यक्ष जयराज जोशीले बताउनुभयो । पाँच वर्ष अघिसम्म प्रशस्तै पानी पाइने मूलहरूमा अहिले पानीको मात्रा घट्दै गएको र केही मुहानहरु सुकिसकेको स्थानीय बताउछन् ।
खानेपानीका केही मूल बाढीपहिरोले क्षतिग्रस्त भएका छन् । धेरै ठाउँमा सडक लगायत भौतिक निर्माणका कामहरुले समेत क्षती पुर्याएको छ । धेरै ठाउँमा मूल नहुँदा पानीको समस्या हल गर्न ठूलो आयोजनाको खाँचो देखिएको वडाध्यक्ष जयराज जोशीको भनाइ छ । जलवायु परिवर्तन र पूर्वाधार निर्माणले पानीका मूलहरूमा असर परेको छ ।




