दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाको अस्थाई कार्यालय खरकडामा १६ दिनदेखि तालाबन्दी गरिएको छ । गाउँपालिकाको केन्द्र रातामाटाबाट कार्यालय सञ्चालन गर्न पटकपटक माग गर्दा समेत खरकडाबाट रातामाटा कार्यालय नसारेको भन्दै तत्काल कार्यालय रातामाटाबाट सञ्चालन गर्न माग गर्दै लेकम गाउँपालिका वडा नम्बर १, २, ५ लगायत वडाबाट गएका स्थानीयहरुले साउन १५ गते तालाबन्दी गरेका हुन् । ताला खुलाउने विषयमा १६ दिनसम्म छलफल समेत हुन सकेको छैन् । तालाबन्दीका कारण नियमित सेवा प्रवाहमा समस्या भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि लेकम गाउँपालिकाकै गाउँकार्यपालिका र गाउँसभाबाट केन्द्र रातामाटा राख्ने निर्णय गरिएको थियो । गाउँपालिकाकै सिफारिस र नेपाल सरकारको निर्णय अनुसार नेपाल सरकार राजपत्रमा समेत लेकम गाउँपालिकाको केन्द्र रातामाटा भनेर तीन वर्ष पहिले नै प्रकाशित भइसकेको छ । गाउँपालिका कार्यालय निर्माणका लागि रातामाटामा विगतमै स्थानीय पाठक परिवारले जग्गादान गरेका छन् । भवन निर्माणका लागि विस्तृत अद्ययन प्रतिवेदन (डिपिआर) तयार भएको, माटो परीक्षण गरिएको, प्रशासकिय भवन निर्माणका लागि टेण्डर र सम्झौता समेत भइसकेकोले रातामाटाबाट छिटो कार्यालय सञ्चालन गर्न स्थानीयले माग गरिरहेका छन् । गाउँपालिकाको कार्यालय रातामाटा नसार्दासम्म तालाबन्दी जारी रहने सर्मोलीका स्थानीय दिपक बिष्टले बताउनुभयो ।

अहिलेसम्म लेकम गाउँपालिकाका कागजपत्रहरुमा गाउँपालिकाको कार्यालय रातामाटा भनेर उल्लेख भएपनि कार्यालय सञ्चालन भने गल्लाकेदार माबि खरकडाबाट नै भइरहेको छ । पछिल्लो समय जनप्रतिनिधिहरुमा नै गाउँपालिकाको केन्द्रका विषयमा मतभेद देखिएकोले रातामाटा कार्यालय सार्न ढिलाइ भइरहेको स्रोतले जनाएको छ । लेकमको वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्रराज जोशीले केहि दिन पहिले तालाबन्दी गर्नुको औचित्य नभएको आशयको स्टाटस सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि तालाबन्दी गर्ने पक्षले चर्को प्रतिबाद गरेका थिए । दिपक बिष्ट, राजेश जोशी लगायतले सामाजिक सञ्जालबाटै जवाफ फर्काएर जनप्रतिनिधिहरुका कारण रातामाटाबाट कार्यालय सञ्चालन गर्न ढिलाइ भइरहेकोले तत्काल रातामाटाबाट प्रशासकिय कामकाज शुरु गर्न अनुरोध गरेका थिए । ताला लगाएको १६ दिनसम्म न ताला लगाउने पक्ष ताला खोल्न तयार भएको छ, न त गाउँपालिकाले ताला खोल्न छलफल वा बैठककै आयोजना गरेको छ । गाउँपालिकामा तालाबन्दी हुँदा सेवाग्राहीहरु समस्या भोगिरहेका छन् । दैनिक गर्नुपर्ने कामकाज र सेवा प्रवाह प्रभावित हुँदा त्यसको असर लेकमवासी जनतामा परिरहेको छ । पटकपटक गाउँपालिका र वडा कार्यालयहरुमा तालाबन्दी हुँदा जनताले सास्ती भोग्नुपरेको छ ।

विगतदेखि नै गाउँपालिका र जनप्रतिनिधिहरुकै पहल, सहमती तथा निर्णय अनुसार रातामाटामा केन्द्र स्थापनादेखि भवन निर्माणका लागि सम्झौतासम्मका कामकाम भइरहेकोले कार्यपालिका बैठकले निर्णय गरेपछि कामकाज सञ्चालन रातामाटाबाट हुने गाउँपालिका अध्यक्ष परमानन्द जोशीको भनाई छ । रातामाटाबाट कार्यालय सञ्चालन गर्नका लागि गाउँकार्यपालिकाबाट निर्णय गरेर कामकाज शुरु गर्ने आश्वासन प्राप्त भएपनि विगतदेखि ढिलाई भइरहेको तालाबन्दी गर्ने पक्षको भनाई छ । गाउँपालिकाको केन्द्र रातामाटा कायम गर्ने निर्णय भइसकेपछि विगतदेखि विभिन्न चरणमा गाउँकार्यपालिकाबाट सर्वसम्मत निर्णयहरु समेत गरिएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?