दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ मालगाउँमा कोरोना संक्रमण फैलिएको छ । विहिबार र शनिबार गरिएको परीक्षणमा मालगाउँमा ३१ जना कोरोना संक्रमित फेला परेका छन् । शनिबार मात्रै १७ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
शनिबार ३६ जनाको एन्टीजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा १० जना महिला र ७ जना पुरुष रहेका छन् । मालगाउँमै साउन २८ गते १४ जनाको एन्टीजेन परीक्षण गर्दा सबैमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
बिहीबार र शनिबार दुई दिन कोरोना परीक्षण गर्दा मालगाउँमा ३१ जना कोरोनाका संक्रमित फेला परेपछि गाउँमा कोरोना सल्किएको आशंका गरिएको छ । मालगाउँका ३३ वर्षीय युवा जयसिह धामी महाकाली नदी तर्दै गर्दा एसएसबीले तुईन फुकालेर महाकालीमा बेपत्ता भएपछि जिल्ला बाहिरबाट आउने मानिसहरुको समेत आवतजावत बढेको थियो ।
मालघाट तुईन घटना पश्चात भएको भिडभाड र स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउदा कोरोना संक्रमितहरु ह्वात्तै बढेको हुन सक्ने अनुमान गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । घटनास्थल र पीडित परिवारको घरमा जिल्ला बाहिरबाट समेत मानिसहरु उपस्थिति भएको र अनुसन्धानको क्रममा बाहिरबाट आएका मानिसहरु विभिन्न ठाउँमा पुगेको कारण कोरोना संक्रमण फैलिएको हुनसक्ने भएकोले स्वास्थ्य सतर्कता अपनाउन तथा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन स्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




