दार्चुला । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनापछि तुइन बन्द गरिँदा दार्चुलाको व्याँस गाउँपालिकामा खाद्यान्न संकट उत्पन्न भएको छ । तुइनको माध्यमबाट महाकाली नदी वारपार गरेर भारतीय भूमि हुँदै दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्दै आएका व्यासबासी तुइन बन्द भएपछि समस्यामा परेका हुन् । विशेषगरी नेपालतर्फबाट सडकको पहुँच नभएका व्यास गाउँपालिका वडा नम्बर १, २ र ३ का बासिन्दा खाद्यान्नको अभाव खेप्न बाध्य भएको गाउँपालिकाका प्रवक्ता धिरनसिंह बुढाथोकीले बताउनुभयो ।

व्यास गाउँपालिका–२ का वडाध्यक्ष समेत रहनुभएका बुढाथोकीका अनुसार भारतीय एसएसबीले तुइनको डोरी फुकालिदिँदा महाकाली नदीमा खसेर मालगाउँका जयसिंह धामी बेपत्ता भएपछि भारतीय पक्षले तुइन पूर्ण रुपमा बन्द गरिदिएको छ । जसका कारण सदरमुकाम खलंगासँग त्यहाँको सम्पर्क टुटेको छ । तुइन बन्द भएपछि स्थानीय बासिन्दा खाद्यान्नको अभाव भोग्न बाध्य भएका छन् । गाउँपालिकाको केन्द्रसम्म ट्रयाक खोलिएको दार्चुला–तिङ्कर सडक पनि पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध भएकाले ट्रयाक्टर मार्फत खाद्यान्न ढुवानी गर्ने विकल्प पनि बन्द भएको छ । ‘ढुवानी अभावमा यहाँका जनता चामल र पीठोको अभावमा भोकभोकै बस्न बाध्य भएका छन् ।

सुनसेरा र राप्लाको खाद्य डिपोमा चामल छैन,’ वडाध्यक्ष बुढाथोकीले भन्नुभयो, ‘गाउँपालिकाको केन्द्रसम्म ट्रयाक खोलिएको दार्चुला–तिङ्कर सडक पनि पहिरोका कारण अवरुद्ध छ । ट्रयाक्टर मार्फत सामान ढुवानी गर्न सक्ने अवस्था छैन । यो विषयमा प्रदेश र संघीय सरकारलाई जानकारी गराएका छौं तर हालसम्म कुनै सुनवाइ भएको अवस्था छैन ।’ गत वर्ष वडा नम्बर २ का बासिन्दाका लागि आएको पाँच सय क्वीन्टल चामल यसअघि नै वितरण भइसकेको छ । वडा नम्बर २ को मालगाउँ, राप्ला, दुम्लिङ र कोठेधारमा सबैभन्दा बढी खाद्यान्नको अभाव भएको छ ।

सीतापुलमा एसएसबीको ज्यादतीले थप समस्या

त्रिदेशीय सीमानामा रहेको सीतापुलमा पनि भारतीय एसएसबीको ज्यादतीका कारण व्यासबासी झनै समस्यामा परेका छन् । विगतमा सीतापुलदेखि सहज रुपमा दैनिक उपभोग्य लगायतका सामान ढुवानी गर्न दिंदै आएको एसएसबीले नयाँ नक्सा र जयसिंह धामी नदीमा बगेर बेपत्ता भएको घटनापछि सताउन थालेको स्थानीय बताउँछन् । ‘सीमा विवादका कारण सीतापुल भएर पनि आवतजावत गर्न सक्ने अवस्था छैन । हात जोडेर, बिन्ती गरेर, उनीहरुलाई सलाम गरेर मात्र एसएसबीले थोरै थोरै सामान ल्याउन दिने गरेको थियो,’ व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भन्नुभयो, ‘जयसिंह धामी बेपत्ता भएको घटनापछि त एसएसबीले साह्रै सताएपछि छिटफुट रुपमा बाहेक भारतबाट सामान ल्याउन सक्ने अवस्था नभएकाले खाद्यान्नको अभाव भएको छ ।’

वडाध्यक्ष बोहराले कालापानी, लिपुलेक, लिम्पियाधुरा सम्बन्धी विवादका कारण एसएसबीले सीमा क्षेत्रका बासिन्दालाई दुःख दिंदै आएको बताउनुभयो । अहिले सीतापुल समेत जीर्ण भइसकेका कारण आवतजावत गर्न नै जोखिमपूर्ण छ । व्यास गाउँपालिका–१ का लागि गत वर्ष सरकारले निर्धारण गरेको पाँच सय क्वीन्टल चामल ठेकेदारको लापरबाहीले ढुवानी नभएका कारण पनि अहिले त्यहाँ खाद्य संकट उत्पन्न भएको उहाँले बताउनुभयो । खाद्यान्न आपूर्तिका लागि स्थानीय प्रशासनसँग आग्रह गरिएको तर बेवास्ता भएको बोहराको भनाई छ । जिल्ला प्रशासनले हेलिकोप्टरबाट खाद्यान्न आपुर्तीका लागि अनुरोध गरेपनि सरोकारवाला कार्यालय र नेपाल सरकारले लत्याएको पाइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?