दार्चुला । भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकालीमा तुइनको तार फुकाल्दा दार्चुलाको यहि साउन १५ गते व्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित टोलीले अझै प्रतिवेदन बुझाएको छैन। घटना भएको १८ दिन र छानबिन समिति गठन भएको १६ दिन भइसक्दा समेत छानबिन टोलीले प्रतिवेदन बुझाउन सकेको छैन् ।
गृहमन्त्री बालकृष्ण खाँणले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन टोली गठन गर्दै १० दिनको समय दिनुभएको थियो । घटनास्थलमा पुगेर अध्ययन गरेको टोलीले समय अभाव भएको भनेपछि थप ७ दिन म्याद थपिएको थियो। सात दिन थपिएको म्याद समेत मंगलबार सकिने लागेकोले फेरी समय थप्ने तयारी भइरहेको भन्दै सरकारको आलोचना भइरहेको छ । उक्त घटनापछि एसएसबीले महाकालीमा लगाइएका सबै तुइन हटाइदिएपछि गाउँमा खाद्यान्न अभाव भएकोले हेलिकोप्टरमार्फत खाद्यान्न आपुर्ती गरिदिन स्थानीयले आग्रह गर्दा समेत सरकारले नसुनेझै गरिरहेको छ । स्वदेशबाट गाउँपुगने सुरक्षित बाटो नहुदा व्यासबासीले तुइनको माध्यमबाट भारतीय बजारबाट खाद्यान्नको जोहो गर्दै आएका थिए ।
समितिलाई छानबिनका लागि थपिएको समय मंगलबार सकिँदै छ। समितिका संयोजक गौतम भन्छन्, ‘प्रतिवेदनको विषयमा छलफल भइरहेको छ, भोलि बुझाउन नसकिए म्याद थपका लागि आग्रह गर्छौं।’ अनुसन्धान, सूचना र तथ्य संकलन जारी रहेको अवस्थामा ठोस विश्लेषणका लागि समय लाग्न सक्ने गौतमले बताउनुभयो ।
घटनाको अनुसन्धानमा भारतीय पक्षले असहयोग गरेको स्रोतले जनाएको छ। एसएसबीविरुद्ध बयान दिने कतिपय स्थानीयलाई धम्कीसमेत दिइएको खुलेको छ। धामीको खोजीमा ड्रोन प्रयोग गर्न पनि भारतले अनुमति दिएको छैन। सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीका अनुसार धामीको खोजीका लागि ड्रोन उडाउन खोजिएको थियो। तर भारतीय पक्षले हालसम्म जवाफ नदिएपछि धामीको नेपाली क्षेत्रमा मात्रै खोजी भएको उहाँले बताउनुभयो ।
व्यासको वडा नम्बर १, २ र ३ का नागरिक भारतीय बजारमा निर्भर छन्। व्यासको वडा नम्बर ४, ५ र ६ मा तिग्रम पुलबाट पायक पर्ने भएपनि अन्य वडाहरुमा पुग्नका लागि घुमाउरो र जोखिमपूर्ण बाटो भएर जानुपर्ने भएकोले बाध्यात्मक विकल्पको रुपमा महाकालीमा तुइनको प्रयोग हुदै आएको थियो । एसएसबीले तुइन हटाएपछि व्यासबासीको सदरमुकामसंग सम्बन्ध बिच्छेद जस्तै भएको छ । नेपालतर्फको सडक र महाकालीमा निर्माणाधिन पुलहरु अलपत्र परेपछि ज्यानमारा तुइनबाट खाद्यान्न जोहो गरेर जीविकोपार्जन गर्दै आएका स्थानीयहरु अहिले खाद्यान्न अभाव भएपछि भोकमरीको चिन्तामा छन् । कतिपयको घरमा खाद्यान्न सकिएर भोकै बस्नुपर्ने अवस्था आएको छ । सरकारले अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेपछि चिडिएको भारतीय पक्ष जयसिह धामी बेपत्ता प्रकरणमा समेत मुछिएपछि झनै आक्रोशित बनेको छ । सीमा क्षेत्रमा बिना बर्दी प्रहरीको काम गरिरहेका स्थानीयका लागि तिब्रताका साथ सडक लगायत पुर्वाधार विस्तार गर्न र तत्काल खाद्यान्न लगायत अत्यावश्यकिय बस्तुको आपुर्ती गर्न सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकता छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




