दार्चुला । दार्चुलाकै सबै भन्दा ठूलो जात्राको रुपमा मनाइने सुर्मा भवानीको जात्रा शुरु भएको छ । स्थानीय भाषामा क्षत्ति जात्रा भनेर चिनिने जात्रा औँसीदेखि १७ दिन र बुधबार रतेडिदेखि सातदिन सम्म मनाइने गरिन्छ । यसअघि जात्रामा सहभागि भइसकेका अपिहिमाल गाउँपालिकाका प्राविधिक सहायक मदनराज जोशीका अनुसार, मंगलबार (आज) देखि बीरेहरु क्षेत्ती र घाँजिर प्रस्थान गरेका छन् । बुधबार (भोली) घाँजिरमा भब्यताका साथ रतेडी मनाइन्छ । ३ गते क्षेत्याल र घाँजिर्यालबिच भेट हुन्छ । ४ गते विरेहरु सुर्मासरोवर दर्शनका लागि जानेछन । ५ गते बीरे ओडार बस्ने र ६ गते फर्किने तयारी छ । फर्किनेबेला बाटोमा बीरे दौँड हुन्छ र बेलुकी क्षेत्ती पुग्नेछन । ७ गते सबै बीरेहरु घाँजिर जाने र ८ गते छैठी दिएर जात्रा समापन हुनेछ । कोरोना संक्रमणको जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सावधानीसाथ जात्रा मनाउन अपिहिमाल गाउँपालिकाले अनुरोध गरेको छ ।

सुर्मासरोवर जात्रा अपिहिमाल गाउँपालिका–३ घाजिर, क्षत्ति हुँदै बझाङ जिल्लाको सीमा क्षेत्र सुर्मासरोवरसम्म गएर मनाइने गरिएको छ । हिमश्रृंखलाहरूको विचमा अवस्थित यो सरोवर धार्मिक, पर्यटकीय तथा सांस्कृतिक दृष्टिमा अत्यन्त महत्वपूर्ण छ । सुर्मासरोवर जात्राको सुरुवात कहिलेदेखि सुरु भयो भन्ने एकिन प्रमाण नभएपनि सुर्माभवानीको चैतमा उल्लेख भए अनुसार एघारौ सताब्दी अघिबाट यो जात्रा मनाउन थालिएको स्थानीय संस्कृतिका जानकार मोहनसिह मन्यालले जानकारी दिनुभयो । जात्रामा अपिहिमाल गाउँपालिकाको खण्डेश्वरीबाट जाने तीर्थालुहरूले यस सुर्मासरोवरमा पहिले पूजा आजा गरेर फर्किएपछि बझाङ तिरबाट आउने सिकारीको भेषधारी तीर्थालुहरूले पूजा गर्नेु पने किम्बदन्ती छ ।

सायद २ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सुर्मासरोवर समुद्री सतहबाट ६,५२३ मिटर उचाईमा रहेको छ । क्षेत्ती गर्खा पुख्र्यौली हुने समुदाय र घाजिर गर्खा पुख्र्यौली हुने समुदायहरूको तिर्थालुहरूले औँशी देखिनै एक छाक मात्र खाएर सुर्माभवानीको व्रत बस्नु पर्दछ । ब्रत बसेका सुर्माभवानीको भक्तहरूलाई वीरे भनिन्छ । बीरेहरु पञ्चमीको दिनदेखि परिवारका अरु सदस्यहरुसंग छुट्टीएर चोखो भएर बस्ने चलन रहेको स्थानीय केशबसिंह बोहराले बताउनुभयो । सुर्मासरोवर जाने बिरेहरू पनि दुई प्रकारका हुन्छन् । पहिलो चोटी ब्रत बसेर तिर्थ जाने भक्तजनहरूलाई वालोवीरे र एकपटक गइसकेकाहरूलाई बुढोवीरे भन्ने गरिन्छ । साथै यस जात्रामा सहभागी यात्रुहरूलाई चार भागमा विभाजन गर्न सकिन्छ । यस जात्रामा सहभागि हुने भक्तजनहरुलाई उवादेशी, उनादेशी, जत्तोर र वाइदेशी वा तिर्थालु भनेर भन्ने गरिएको बोहराले बताउनुभयो ।

जात्रामा सहभागी क्षेत्ती गर्खा पुख्र्यौली घर भएका, ठेकरे, बोहरा धामी, वैरे समुदायका भक्तहरूलाई उवादेशी, घाजीर गर्खाका यात्रुहरूलाई उनादेशी, रोकाया, कार्की तथा खण्डेश्वरी भित्रका यात्रुहरूलाई वाईदेशी भनिन्छ । जात्रा अवधिभर लसुन, प्याज, मसुर, मासु, रक्सी जस्ता भोजन खान पाइदैन । सम्पूर्ण यात्रुहरूको खाने बस्ने व्यवस्था क्षेत्ती र घाजिरका स्थानीय बासिन्दाहरूले गर्ने गरेका छन् । हरेक वर्ष जात्रा लागेपनि सानो जात्रा र ठूलो जात्राको रुपमा मनाइने गरिएको छ । यो वर्ष ठूलो जात्रा मनाइदैछ ।

No description available.

पर्यटकीय धार्मिक एवं सांस्कृतिक रुपका विविधताहरु जात्रामा देख्न सकिन्छ । जात्रा अवधिभर क्षेत्तिली संस्कृतिको पहिरन, नृत्य, देउडा, बाजागाजा यो जात्रामा देख्न पाइन्छ । यस्तै धार्मिक रुपमा मार्कण्डेय गुफा, धर्मिगुफा, सुर्मा मन्दिर, ताल घोप्टे, नाग ढुंगा, हिउँ नजम्ने ढुंगा जस्ता हेर्न लायकका ठाउँहरु रहेको यसअघि जात्रामा सहभागि भइसकेका अपिहिमाल गाउँपालिकाका प्राविधिक सहायक मदनराज जोशीले बताउनुभयो । जात्राको पहिलो दिन (रतेडीमा) उवादेशी यात्रीहरू क्षेत्तीमा जम्मा हुन्छन् भने उनादेशी, जत्तोर र बाइदेशीहरू घाजिरमा पुग्ने गर्छन । राती सुर्माभवानीको मन्दिरमा जम्मा भएर सबै देवीदेवताहरूको पूजाआजा गरि धामीहरू काम्ने र रमाइलो गर्ने स्थानीय भाषामा देउधमेउलो गर्ने गरिन्छ । देउधमेउलो सकिएपछि देवी सुर्माभवानीको चैत गाउने चलन छ । त्यसपछि भाडिखेल लगाउने गरिन्छ । साथै विभिन्न भाडिखेल ढुस्को, जगरम गाउने खेल्ने गरिन्छ र विहान भोल्लाउलो गाउने गरिन्छ र वेन्नेली (बिहान) को देउधमेउलो गरि पहिलो दिनको जात्रा मनाइने जोशीले बताउनुभयो ।

वालोवीरे र बुढोवीरे सबैले सुर्मासरोवर जाँदा वीरे लौरो बोक्नुपर्दछ । यो लौरो बुढोवीरे र वालोवीरेको भिन्न भिन्न हुन्छ । उवादेशी तथा उनादेशीले ६ फिट लामो निङ्गालाको लौरा बोक्नु पर्छ र वाइदेशी ४.५ फिटको लौरो बोक्नु पर्दछ । जात्रालाई व्यवस्थित ढङ्गले संचालन गर्न एक जना मुला अथवा जात्राको मूली हुन्छ । त्यसको लौरो ७.५ फिटको हुन्छ । यो लौरालाई लाकुरी लौरो अथवा वीरेलौरो भनिन्छ । औँसीदेखि पुर्णीमासम्म मनाइने जात्रा विधिवत रुपमा छैंटी दिएर समापन हुने गरेको छ । जात्राको अन्तिम दिन उवादेशी अथवा क्षेत्ती गर्खाका समुदायमा बस्ने बासिन्दाहरूले आफ्नो जेठो छोराको छैठ दिने चलन छ । यो दिन आफ्ना इष्टमित्रहरू वोलाएर भोज खुवाउने विगतदेखिको चलन रहेको छ ।
छैठीमा कालीदेवीको मन्दिरमा खसीको बलि दिने चलन छ । किंवदन्तिअनुसार पहिला त्यस मन्दिरमा आफ्नो जेठो छोरा वा छोरीको वलि दिने गरिन्थ्यो तर अहिले त्यसको सट्टा वोकाको वलि दिने चलन रहि आएको बताइन्छ । यस दिन छैठीका गीतहरू गाउने चलन छ । सुर्मासरोवर बझाङ जिल्ला र दार्चुला जिल्लाको सिमानामा पर्दछ ।

No description available.

No description available.

अपिहिमालमा मनाइने सुर्मासरोवर जात्रा ।

तस्बिरहरु : सामाजिक सञ्जालबाट ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?