दार्चुला । जयसिह धामी महाकालीमा बेपत्ता भएपछि घटनाबारे छानबिनका लागि गठित छानबिन समितिले भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको छ । करिब दुई साताको छानबिनपछि समिति प्रतिवेदन लेखनमा जुटेको छ । मालघाट–गस्कु जोड्ने तुइन तरेर धामी पारि जान लाग्दा गत साउन १५ मा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले लट्ठा खुस्काइदिएको थियो । तुइनबाट खसेर बेपत्ता भएका धामी अझै भेटिएका छैनन् । सुरुको १० दिन र त्यसपछि थप गरिएको ७ दिनमा संकलित तथ्य र प्रमाणले ‘घटनामा भारतीय पक्षको संलग्नता देखिएको’ उच्च स्रोतले जनाएको छ ।
‘जयसिंह धामी तुइन तर्दातर्दै महाकालीको भेलमाथि पुगेपछि भारतीय पक्षबाट लट्ठा खुस्काइएको स्थलगत अध्ययन र अनुसन्धानबाट देखिन्छ, प्रतिवेदनको निष्कर्ष पनि यही नै हुनेछ,’ स्रोतले भनेको छ । ‘लट्ठाको सहारा गुमेपछि धामी महाकालीमा खसे ।’ नदीको उर्लंदो भेलमाथि जोखिम मोलेर मान्छे तर्दातर्दै यसरी तुइनको लट्ठा खुस्काउनु अमानवीय मात्रै होइन, मानवताविरोधी अक्षम्य अपराध पनि हो ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको छानबिन समितिले घटनाको स्थलगत निरीक्षण, अवलोकन, अनुसन्धान र प्रत्यक्षदर्शीसँगको सोधपुछ एवं बयानका आधारमा भारतीय पक्षले तुइनको लट्ठा खुस्काएकै कारण नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको हो । यस्ता घटना दोहोरिन नदिन तुइन विस्थापन तथा पक्की पुल बनाएर आउजाउ सहज बनाउने, नेपालतर्फको भूभागबाटै सहज बाटो निर्माण गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेट्न लागिएको छ ।
छानबिन समितिले यसलाई नै प्रमुख आधार बनाएर सरकारलाई रायसुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ । घटना हुँदा मालघाटमै रहेका नेपाली प्रत्यक्षदर्शीहरूले एसएसबीका जवानले तुइनको लट्ठा काटेपछि धामी भेलमा खसेको बताएका थिए । धामी बेपत्ता भएको पर्सिपल्ट साउन १७ मा सहसचिव गौतमको संयोजकत्वमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सम्मिलित पाँच सदस्यीय समिति गठन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको थियो ।
भारतीयले लट्ठा खुस्काएको स्थान भारतीय भूभाग गस्कु हो । नेपालकै भूमिबाट सदरमुकाम खलंगा आउजाउ गर्न कठिन भएका कारण नेपालतर्फका मानिस तुइनबाट गस्कु हुँदै भारतीय बाटोबाट खलंगा जाने गर्थे । त्यही क्रममा साउन १५ मा धामीसहितका नेपाली तुइन तर्दै थिए । अरू बेला पनि तुइन तर्दा एसएसबीका जवान आएर कुटपिट गर्ने, मान्छे नभएको मौकामा लट्ठा काटिदिने गरेका थिए । ‘लट्ठा खुस्काएपछि धामी नदीमा खसे, सायद मानवताविरोधी जघन्य अपराधको त्यही दृश्य देखेर हुन सक्छ, गस्कुमा भएका भारतीय त्यसपछि भागे ।’ स्थानीयले भागेका मानिस एसएसबीकै जवान भएको बताएका छन् । तुइन भएको गस्कुबाट भारतीय एसएसबीको क्याम्प करिब डेढ किमिमाथि पाङ्ला भन्ने स्थानमा छ । उक्त क्याम्पको नेतृत्व एसएसबीका सब–इन्स्पेक्टर (सई) ले गर्छन् । तर, घटनास्थलमा भएका मानिसको खोजबिनमै भारतले असहयोग गर्यो ।
गस्कुमा रहेका ती मानिस को हुन् भन्ने अनुसन्धान गर्न छानबिन टोलीले भारतीय पक्षसँग सहयोग मागेको थियो । घटनाको सत्यतथ्य पत्ता लगाउन पनि नेपालले आग्रह गरेको थियो । तर, पिथौरागढस्थित भारतीय जिल्ला प्रशासन (डिस्ट्रिक मजिस्ट्रेट कार्यालय) ले एसएसबीको संलग्नतालाई इन्कार मात्रै गरेन, अनुसन्धान एवं बेपत्ताको खोजबिन गर्न महाकाली किनारैकिनार दुवै देशतर्फ ड्रोन क्यामेरा उडाउन पनि उसले अनुमति दिएन ।
सहसचिव गौतम नेतृत्वको सुरक्षा टोली साउन १९ बाटै दार्चुला सदरमुकाम खलंगालाई मुकाम बनाएर अनुसन्धानमा जुटेको थियो । त्यही क्रममा धामीको खोजीमा प्रहरी प्रधान कार्यालयबाट ड्रोनसहितको प्राविधिक टोली घटनास्थल पुग्यो । टोलीलाई महाकाली नदीको दुवै देशका किनाराबाट ड्रोनसहित खोजबिनमा परिचालन गर्ने योजना भारतीय असहयोगकै कारण पूरा हुन पाएन ।
त्यसपछि घटनास्थलबाट नेपालतर्फको भाग हुँदै करिब ४५ किमि क्षेत्रका शंका लागेका ठाउँमा ड्रोनबाट खोजी गर्दासमेत धामीको अत्तोपत्तो लागेन । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार साउन २३ मा महाकाली नदीपारि किनारैकिनार ड्रोन उडाउन पिथौरागढस्थित जिल्लाधिकारीलाई पठाइएको पत्रको जवाफ अहिलेसम्म आएको छैन । त्यसअघि साउन १६ मा दार्चुला प्रशासनले अनुसन्धानका लागि सहयोग माग्दा पिथौरागढका जिल्लाधिकारी आनन्द स्वरूपले जवाफ नै दिएनन् ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले छानबिन समितिको प्रतिवेदनका आधारमा मात्रै घटनाबारे विस्तृतमा जानकारी गराइने बताउनुभयो । ‘अहिले छानबिन समितिले काम गरिरहेको छ, करिब दुई साता लगाएर स्थलगत निरीक्षण र तथ्य तथा प्रमाण संकलनकै आधारमा प्रतिवेदन लेखनका क्रममा छ,’ प्रवक्ता पोखरेलले भन्नुभयो । ‘अहिले नै घटनाबारे भन्न त सकिँदैन तर समितिको राय, सुझाव र सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय लिनेछ ।’
समिति संयोजक गौतम केही दिनअघि दार्चुलाबाट स्थलगत निरीक्षण एवं प्रमाण संकलन गरी फर्किनुभएको छ । समितिका अन्य सदस्यहरू पनि केही दिनभित्रै काठमाडौं आउने तयारीमा रहेको पोखरेलले बताउनुभयो । सुरुको १० दिन र त्यसपछि थप गरिएको एक साताको समय अपुग भएर प्रतिवेदन बुझाउने समय फेरी एक साता थप गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले बुधबारबाट लागू हुने गरी समितिको म्याद दोस्रो पटक एक साता थपेका हुन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




