दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ रिल पहिरोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । विहिबार रातीको वर्षाका कारण गएको पहिरोले सडक अवरुद्ध भएपछि यातायातका साधनहरु बिच सडकमै रोकिएका छन् । मार्माबाट गोकुलेश्वर आउने र गोकुलेश्वरबाट मार्मा जाने जीपहरु बिच सडकमै रोकिएका हुन् ।

रिल पहिरो जान थालेको ८८ वर्ष भइसक्दा समेत पहिरो रोकिएको छैन् । पहिरोका कारण वडा नम्बर ३ को सल्लेथुम बस्ती जोखिममा छ । अहिले स्थानीय रनबिरसिहं बिष्टको घर पहिरोको उच्च जोखिममा रहेको वडा नम्बर ३ का वडाअध्यक्ष पुष्करसिह बिष्टले जानकारी दिनुभयो । पहिरो व्यवस्थापनमा निकै चुनौती देखिएको मार्मा गाउँपालिकाले जनाएको छ । रिल पहिरोका कारण दार्चुलाको मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकालाई जोड्ने बिटुले लटिनाथ पारिवगर खण्डेश्वरी सडक सञ्चालनमा समेत समस्या भइरहेको छ ।

स्थानीयहरुका अनुसार मार्मा गाउँपालिका वडा नम्बर ३ मा १९९० सालमा गएको रिल पहिरो खस्ने क्रम अझै पनि नरोकिएको हो । १९९० सालमा गएको भूकम्पका कारण उक्त क्षेत्रमा ठूलो पहिरो खसेको थियो । पहिरो पन्छ्याएर सडक सञ्चालन गर्ने गरिएको भएपनि रिल पहिरो क्षेत्रमा निरन्तर ढुंगामाटो खसिरहेकोले नियमित यातायात सञ्चालन गर्न समस्या भइरहेको वडाअध्यक्ष बिष्टले बताउनुभयो । बिटुले पारीबगड सडकखण्ड अन्तरगत विभिन्न क्षेत्रमा पहिरो खस्ने भएकाले वर्षातमा निकै समस्या हुने गरेको स्थानीय धिरेन्द्र धामीले बताउनुभयो ।

पहिरोका कारण अपिहिमाल र मार्मा गाउँपालिकाका स्थानीयहरु बेलाबेला पैदल यात्रा गर्न बाध्य छन् । टाढाबाट गएका मानिसहरु भने बिच बाटोमै रोकिने गरेका छन् । सडक सञ्चालन भएपछि अपि र मार्माका स्थानीयहरुलाई सहज भएको भएपनि बेलाबेला सडक अवरुद्ध हुदा समस्या हुने गरेको छ ।

उक्त सडक नियमित सञ्चालनका लागि मार्मा गाउँपालिका वडा नम्बर ३ को च्युरानीबाट चौलानी नदीमा पुल हालेर वडा नम्बर ४ को शेरीबाट मर्मती हुँदै लटिनाथ सडक लैजानुपर्ने वडा नम्बर ४ का स्थानीय ईन्द्रसिह बिष्टले बताउनुभयो । अहिले रिल पहिरो क्षेत्रबाटै सडक गएकोले बेलाबेला सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुदा चालक र यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।

वर्षौ पहिले ठूलो पहिरो खसेको उक्त क्षेत्रमा बेलाबेला पहिरो खसिरहने भएकाले त्यस क्षेत्रको नाम नै रिल पहिरो रहन गएको स्थानीय बिष्टले बताउनुभयो । स्थानीयहरुका अनुसार वर्षातको समयमा मात्र हैन जोड्ले हावा चल्दा समेत उक्त क्षेत्रमा पहिरो खस्ने गरेको छ । पहिरोका कारण पैदल यात्रु र यातायात व्यवसायी तथा यात्रुहरुले सास्ती भोग्ने गरेका छन् ।

तस्बिर : पत्रकार हरिप्रसाद जोशी

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?