दार्चुला । दार्चुलाको अपिहिमाल, मार्मा र नौगाड गाउँपालिकामा एक घर, एक धारा निर्माण भइरहेका छन् । सात हजार बढी जनसंख्या तथा १२ सय ७३ घरधुरी रहेको अपिहिमालमा हालसम्म एक हजार बढी घरमा धारा निर्माण सम्पन्न भएका छन् । घरघरमा धारा निर्माण भएपछि अपिहिमालवासीको जीवनशैली फेरीएको छ । नौगाड र मार्मा गाउँपालिकाका समेत विभिन्न वडाहरुमा एक घर एक धारा निर्माणपछि स्थानीयवासीको जीवनशैलीमा निकै परिवर्तन आएको छ ।
घरआगनमै खानेपानीको धारा निर्माणपछि सरसफाइ र करेसाबारी निर्माणमा उल्लेख्य प्रगति भएको छ । बोकेर पानी पिउनुपर्ने अवस्थाको अन्त्य हुनुका साथै सरसफाइ गर्न र तरकारी उत्पादनमा निकै सहज भएको स्थानीयहरु बताउछन् । अपिहिमाल, मार्मा र नौगाड गाउँपालिकामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरण अन्तरगत पालिका भित्र खानेपानी तथा सरसफाइ, जिबिकोपार्जन, जलवायु अनुकुलन तथा प्रकोप जोखिम न्युनिकरण र सुशासनको क्षेत्रमा कामहरु भइरहेका छन् ।
एक घर एक धारा कार्यक्रम अन्तरगत अपिहिमालमा हालसम्म १५ वटा स्किम तथा आयोजनामध्ये अधिकासं निर्माण सम्पन्न भइसकेका छन् । अपिहिमाल गाउँपालिकाको प्रतेक घरमा खानेपानीको धारा निर्माण गर्ने लक्ष्य अनुसार पौने १३ सय घरधुरीमध्ये अहिलेसम्म एक हजार बढी घरधुरीमा धारा निर्माण भइसकेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो । बाकी घरधुरीमा समेत अगामी चालु आर्थिक वर्षमा खानेपानी पुर्याउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाई छ ।
अपिहिमाल गाउँपालिका वडा नम्बर ६ सितोलामा एक घर एक धारा नभएकोले पहिलेको स्किमलाई मर्मत गरेर नयाँ परियोजना अनुसार निर्माण गर्न गाउँपालिकाको तर्फबाट प्रस्ताव गरिएको अध्यक्ष मन्यालले बताउनुभयो । एक घर एक धारा अन्तरगत खानेपानीको धारासंगै सिचाई ट्याङ्की, कसेराबारी र घट्ट लगायत बहुउपयोगिताको अवधारण अबलम्बन गरिएको छ । गाउँपालिका र आरभिडब्लुआरएमपीको सहकार्यमा एक घर एक धारा कार्यक्रम मार्मा क्षेत्रको अपिहिमाल, नौगाड र मार्मा गाउँपालिकामा सञ्चालित छ । व्याक्तिगत साथै संस्थागत धाराहरु पनि निर्माण भएकोले एक घर एक धारा कार्यक्रम बहुउपयोगि बनेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




