दार्चुला । महाकाली नदी तर्ने क्रममा एसएसबीले तुईन फुकाल्दा वेपत्ता भएका जयसिंह धामीको सम्बन्धमा छानविन समितिले तयार पारेको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन् । छानविन टोली काठमाडौं फर्किएपनि प्रतिवेदन लेख्नका लागि भन्दै तेस्रोपटक समय थप गरिएको छ । तर सरकारले अहिलेसम्म न पीडितलाई राहात दिएको छ, न दोषिलाई कार्वाहीको पहल गरेको छ । न त घटनाबारे औपचारीक धारणा नै सार्वजनिक गर्न सकेको छ ।

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का ३३ वर्षीय जयसिंह धामीको भारतीय सुरक्षाकर्मी एसएसबीका जवानहरूले तुइन काटीदिएपछि नदीमा खसेर बेपत्ता भएका थिए । यो घटनाको छिटो सत्य तथ्य सार्वजनिक गर्न आफन्त, आम नेपाली नागरिक र सांसदहरुले माग गरिरहेका छन् तर सरकार प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरिरहेको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले छानविनका लागि समितिलाई भदौ ९ गतेसम्मका लागि म्याद थप गरिएको बताउनुभयो ।

काठमाडौंबाट टाढाको घटना भएकोले अध्ययनका लागि समय लाग्ने भन्दै म्याद थपेको र समितिले छानविन सकेपछि प्रतिवेदन सार्वजनिक गर्ने पोखरेलले बताउनुभयो । सरकारले सुरुमा एक सातामा अनुसन्धान गर्ने र बाटोको लागि ३ दिन समय सहित १० दिनको समय दिएको थियो । तर सो समयभन्दा बाहेक थप २ पटक गरेर १४ दिनको म्याद थप गरेको छ । यसरी म्याद थप्दै जाने र प्रतिवेदन नआउँदा छानविन प्रभावित हुने त हैन भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा अन्तरगतको राज्यव्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले यसबारे पहिला पनि गृहमन्त्रीसँग कुरा गरेको बताउनुभयो । उहाँले समितिले फेरि दार्चुला घटनाको बारेमा सरकारले छानविनको काम के गर्दैछ यसबारे जानकारी माग्न छिट्टै बैठक बोलाउने उल्लेख गर्नुभयो । घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरुले भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएका कारण जयसिंह महाकालीमा वेपत्ता भएको बयान दिइसकेका छन् । सो घटनाको छानबिन गर्न बनेको सहसचिव जनार्दन गौतम नेतृत्वको समितिमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेका छन् ।

प्रतिवेदन लेखनकै क्रममा टोली सदस्य दिल्लीमा

तुइन घटनाको प्रतिवेदन सार्वजनिक नहुँदै अनुसन्धान समिति सदस्य रहनुभएका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी भारतको दिल्ली पुग्नुभएको छ । समितिलाई तेस्रो पटक म्याद थप्दा पनि समितिले प्रतिवेदन दिन नसक्नु र अनुसन्धान नसकिँदै समिति सदस्य भारतको दिल्ली पुग्नुलाई संकास्पद ढङ्गले हेरिएको छ । भारतले बेपत्ता धामीको खोजीका लागि ड्रोन उडाउन पनि सहमति दिएको थिएन ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सहायक प्रमुख जिल्ला अधिकारी भट्ट जोशी दार्चुलाबाट काठमाडौंका लागि गएको तर दिल्ली नगएको बताउनुभयो । उहाँ घटनाको अनुसन्धान समिति सदस्य हुनुहुन्छ, घटनाको अनुसन्धानको लागी समिति खटिएको छ, उहाँ त्यही कामले काठमाडौँ जानुभएको हो’,जोशीले भन्नुभयो, उहाँको छोरीको उपचार गर्न अहिले उहाँ दिल्लीमा नै हुनुहुन्छ । छानविन संग सम्बन्धित विषयमा नभइ छोरीको उपचारका लागि सहयक प्रमुख जिल्ला अधिकारी भारतको दिल्ली गएको बताइएको छ ।

समितिले अझै काम नसकेको जनाएको छ । घटनाको निचोडमा पुग्न केही समय लाग्ने अनुसन्धान समिति संयोजक एवं गृह मन्त्रालयका सह सचिव जनार्दन गौतमले बताउनुभयो । समितिको सदस्य सहायक प्रमुख जिल्ला अधिकारी भट्ट दिल्ली गएको बारे आफूलाई जानकारी नभएको गौतमले बताउनुभयो । म काठमाडौँ फर्किए, समितिका अन्य सदस्यहरू सुदूरपश्चिममै हुनुहुन्छ, थप अनुसन्धानका लागी समितिको म्याद ७ दिन थपिएको छ, केही दिनमै हामी गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्छौँ, गौतमले भन्नुभयो, ‘समिति सदस्य ज्योत्सना मेरो सम्पर्कमा हुनुहुन्न, दिल्ली गए पनि आफ्नै कामले जानुभएको होला हामीले पठाएका होइनौँ, उहाँले भन्नुभयो ।

जयसिहको महाकाली क्षेत्रमा खोजी हुँदै

दार्चुलाको महाकाली नदीमा एसएसबीले तुइनबाट खसालेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीलाई दार्चुलाबाहेक बैतडी, डडेल्धुरा र कञ्चनपुरमा पनि खोजी कार्य चलिरहेको छ । बैतडीमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

महाकाली नदी दार्चुला‚ बैतडी‚ डडेल्धुरा हुँदै कञ्चनपुर भएर बग्ने गर्दछ । बगेर बेपत्ता भएका जयसिंह बैतडीस्थित महाकाली नदी तटीय क्षेत्रमा पनि भेट्टिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको जनाईएको छ । बैतडीका महाकाली नदीसँग जोडिएका स्थानहरुमा जयसिंहको नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले नियमित रुपमा खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

बेपत्ता भएको २३ दिनसम्म पनि जयसिंहको अवस्था अज्ञात रहेको छ । मालघाटमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुईन काट्दा जयसिंह बेपत्ता भएको स्थानीयले बताएका छन्। तर, भारतीय पक्षले भने त्यो कुरालाई अहिलेसम्म स्वीकार गरेको छैन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?