दार्चुला । गत साउन १५ गते व्यास गाउँपालिका वडा नम्बर २ का ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता हुनुभयो । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह नदीमा बेपत्ता भएको घटनाका प्रत्यक्षदर्शीले बताएपछि घटनाले निकै चर्चा पायो। सरकारी अनुसन्धान टोलीले भने उक्त दिन के भएको थियो भन्ने अझै पत्ता लगाउन सकेको छैन, टोली अनुसन्धानको क्रममै छ। नेपालतर्फको छानबिन समितिले प्रतिबेदन तयार नपार्दै भारतीय सुरक्षाकर्मीले तुइन नकाटेको दाबी गरेका छन्। तर अनुसन्धानबाट तुइन एसएसबीले फुकालेकै कारण घटना भएको पुष्टि हुने स्रोतले जनाएको छ ।
तुइन तर्ने क्रममा महाकालीमा खसेर बेपत्ता हुने जयसिंह पहिलो नेपाली भने होइनन्। यसअघि ब्यास गाउँपालिका वडा नम्बर २ मा मात्र २०४९ सालयता जयसिंहजस्तै महाकालीमा तुइन तर्ने क्रममा खसेर २२ जनाको ज्यान गएको तथ्यांक छ। नेपाली भूमिमा बाटो नभएपछि महाकाली नदीमा तुइन तरेर भारतीय भूमि हुँदै सदरमुकाम जानुपर्ने बाध्यता ब्याँस गाउँपालिकावासीको छ। हरेक दिन सदरमुकामा जानु परे यहाँका नागरिकले कष्टकर जोखिमपूर्ण यात्रा गरिरहनु परेको छ।
बिरामी हुँदा, सुत्केरी हुदा, दुर्घटनामा परे नजिकका स्वास्थ्य चौकी पुग्छन्। त्यहाँ पनि औषधि, जनशक्ति र उपकरण अभाव छ। त्यसपछि बोकेर सदरमुकाम ल्याउन भारतकै बाटो लगिन्छ। केही महिनाअघि ब्याँस गाउँपालिका २ तल्ला दुम्लीङकी चनु बुढाथोकी सुत्केरी हुन सासुसँग दार्चुला सदरमुकाम जाँदा तुइन प्रयोग गरेर भारतकै भूमि हुँदै जानु परेको थियो। उनले पारि तरेर सडकमा पुग्नासाथ जीपमै छोरीलाई जन्म दिएको स्थानीय जनक धामीले बताउनुभयो । धामीका अनुसार सोही वडाको मालकी गोविन्दी कार्कीले माइतीघर आउँदा र फेरि मार्मा फर्किँदा तुइन तर्नुपर्छ। यस वर्ष असारमा माइतीघर आएकी उनले केही दिनअघि साढे दुई वर्षकी छोरीलाई छातीमा टाँसेर दोपट्टाले बाँधेर तुइन तरेकी थिइन्। वारि बाटो नभएकै कारण स्थानीय तुइन, काठेपुल र झोलुंगे पुल तरेर भारत पुग्छन्। त्यहाँका सडकमा गुड्ने गाडी चढेर उनीहरू सदरमुकाम पुग्छन्।
‘गाउँपालिकाको झोलुंगे पुल भएका ठाउँका बासिन्दालाई सदरमुकाम जान सजिलो छ। काठेपुल र तुइनमात्र भएका क्षेत्रका स्थानीयले ज्यानको बाजी थापेर वारपार गर्नु परेको छ,’ जनक धामीले भन्नुभयो। काठेपुलले हिउँदमा सजिलो भए पनि बर्खामा काम चल्दैन। दार्चुलाको सदरमुकाम खलंगाबाट ब्याँस गाउँपालिकाको केन्द्र सुनसेरा पुग्ने एक मात्र बाटो अहिले बन्द छ। सुन्सेरामै रहेको स्वास्थ्य केन्द्रमा एम्बुलेन्स पनि छ। असारपछि बाटो बिग्रेकाले एम्बुलेन्स चल्न सकेको छैन। असार पहिलो साता पानी परेपछि ठाउँठाउँमा पहिरो खस्दा सडक बन्द भएर ब्याँसका ६ वटै वडाका बासिन्दा नेपालकै भूमिको बाटो हिँड्न पाउँदैनन्। उनीहरू भारतको बाटो हुँदै सदरमुकाम पुग्न बाध्य छन्।
‘सानो सानो पहिरो धेरै ठाउँमा छ। नेपालको बाटो बन्द भएकाले तुइन तरेरै आउनुपर्छ,’ धामीले भन्नुभयो । ब्याँस गाउँपालिका वडा नम्वर २ का वडा सदस्य वीरेन्द्र बुढाथोकीका अनुसार गाउँपालिकाको जेसिबी छैन। दार्चुला तिंकर सडक योजनाले जेसिबी ल्याएर बनाइदिए हुन्थ्यो भन्ने आश त्यहाँका जनप्रतिनिधिको छ। असारमै भत्केको बाटोमा माथिबाट पहिरो खस्दा राप्ला घर भएकी ५० बर्षीया बेलमती बुढाथोकीको मृत्यु भएको थियो। सोही ठाउँकी रायमती बुढाथोकी घाइते भएकी थिइन्। अहिले त बनाउने जेसिबी जान पनि बाटो छैन, बुढाथोकीले भन्नुभयो ।
गाउँपालिकाको सबैभन्दा सुगम वडा मानिएको ठाउँका जनताले पनि बाटो अवरूद्ध हुँदा बर्खायाममा समस्या परेकै छ। गाउँपालिकाको वडा नम्बर १ मा पर्ने बस्ती तिंकर र छाङरुका स्थानीयले त आफ्ना घर पुग्न भारतीय आर्मीलाई पास देखाउनु पर्छ। पास नदेखाए उनीहरू घर जना पाउँदैनन्। नेपालकै भूमि भएर यहाँ पुग्ने बाटो नै छैन। दार्चुलाको सदरमुकाम खलंगादेखि प्रशासनबाट पास लिएर भारतको गब्र्याङ हुँदै सीतापुल प्रयोग गरी उनीहरूले काठेपुल तर्नुपर्छ।
भारतको थाइलेकमा आर्मीले स्थानीय बाहेकलाई प्रवेश दिँदैन। यसैले पास चाहिन्छ। वडाको सिफारिसमा, जिल्ला प्रशासन कार्यालयले पास दिन्छ। त्योबिना वडा नम्बर १ का नागरिकले भारतको गब्र्याङमा जानै पाउँदैनन्। यसकारण यहाँका नागरिक भारतमा निर्भर छन्। नेपाल सरकारले सकेको हेलिकप्टरबाट दिन्छ, नसके कि त भारतबाटै ल्याउनुपर्ने नसके भोकै बस्नुपर्ने बाध्यता यहाँ रहेको छ।
त्यहाँका मान्छे ६ महिना तिंकर, छाङरु र ६ महिना खलंगा बस्छन्। त्यसैले उनीहरूको ठाउँमा अहिले स्कुल छैन। पहिला भएको स्कुल अहिले मर्ज भइसक्यो। तिंकर र छाङरुका विद्यालय खलंगामै सञ्चालित छन् । ब्याँसको वडा नम्बर २ मा पनि बाटो छैन। यो वडाको उत्तरतिर १ नम्बर र दक्षिणमा ३ न वडा पर्दछन्। १ नम्बर वडा जाने त बाटै छैन, ३ नम्बर भएर पालिकाको केन्द्र सुनसेरा आउन परे फतंगाड खोलावारि भत्केर हिँड्ने अवस्था छैन। त्यही भएर तुइन तर्नु परेको हो, स्थानीय सुकुनसिंह धामीले भन्नुभयो । यही वडामा तुइन तर्ने क्रममा साउन १५ गते ३३ वर्षका जयसिंह धामी बेपत्ता भएका हुन्।
ब्याँस जान खलंगादेखि ५ किलोकिटर पर राताकाठा पुगेपछि दुई विकल्प छन्। तल कालागाडको बाटो र माथिल्लो दुहु गाउँपालिकाको हिकिला भएर जानेबाटो। कालागाड भएर हिँड्न ज्यानको बाजी लगाउनु पर्ने स्थानीयहरू बताउँछन्। पोहर सोही सडकमा पिसिसी बनाउने २ जनाको पहिरो खस्दा ज्यान गयो। यो बाटोमा पहिरो, ढुंगा खस्ने भएर ज्यानको जोखिम छ, सुकुनले भने। अर्को हिकिला भएर जाने बाटोमा वर्षका केही महिनामात्र ट्याक्टर र एम्बुलेन्स हिँड्न सक्छन्। यहाँ यात्रु बोक्ने गाडी चल्दैनन्। यो बाटो जयपुरमा पहिरो गएर अवरूद्ध छ। यसकारण पालिकाबाट एम्बुलेन्स पनि जान सक्दैन।
कालागाडको बाटो र हिकिलाको बाटो दुबै हुतीमा आएर मिल्छन्। हुतीबाट सुनसेरा पुग्न तीन घन्टा लाग्छ। यहाँसम्म एम्बुलेन्स पुग्छ। यो बाटो पैदल हिँडेर सदरमुकाम पुग्न दिनभरि लाग्छ, ट्याक्टरमा वा एम्बुलेन्स बुक गर्नुपर्छ। त्यसका लागि ३५ किलोमिटरको १२ देखि १५ हजार रुपैयाँ पर्छ, उहाँले भन्नुभयो । त्यही भएर सुनसेराबाट आउन परे भारतको भूमि स्थानीयले प्रयोग गर्छन्। वडा नम्बर ४ सुनसेराबाट खलंगा पुग्न पहिला वडा नम्बर ५ दौलाकोट जानुपर्छ। अहिले यहाँ पुग्न पनि फेरि एक पहिरोको सामना गर्नुपर्छ। वडा नम्बर ५ को तिग्रममा महाकाली किनार पुगेपछि झोलुंगे पुल छ। पारी भारतको एलागाड पर्छ। वडा नम्बर ४ र ५ का नागरिक त्यहाँबाट गाडी चढेर खलंगा पुग्छन। भारतको धार्चुलासम्मै गाडीमा पुगिन्छ। झोलुंगे पुल तरेर वारि आए सदरमुकाम खलंगा पुगिहालिन्छ।
‘यो बाटोको पहिले ५० थियो अहिले कोरोनापछि १०० भारु भाडा लाग्छ,’ जनक धामीले भन्नुभयो। वडा नम्बर ५ का स्थानीयले भारतको बाटो भएर २ घन्टामा खलंगा पुग्न सक्छन् भने नेपालकै बाटो आए ६ घन्टासम्म पैदल हिँड्नु पर्छ। वडा नम्बर ३ र ५ बाट भने सुनसेरासम्म मोटरमार्ग बनेको छ। स्थानीय सरकार आएपछि मुख्य उपलब्धि यहीलाई मानिन्छ। ६ नम्बर वडामा बडुगाउँमा नेपाल(भारत जोड्ने महाकालीमाथि झोलुंगे पुल बनेको छ। यो बनेपछि भारतको बाटो प्रयोग गरेर खलंगा पुग्न सहज भएको छ।
ब्याँस गाउँपालिकाका ६ वटै वडाका नागरिकले भारतको भूमि प्रयोग गर्नुपर्छ। यसको मुख्य कारण दूरी छोटो भएर हो। वडा नम्बर २ का नागरिक भने बाटो नै नभएकाले तुइन तर्ने गर्छन्। यस्तै भारतबाट जाँदा गाडी चढ्न पाइने भएर पनि उनीहरू तुइन तर्छन्। वारि ट्याक्टर वा एम्बुलेन्स बुक गर्नभन्दा पारिबाट भाडा सस्तो भएर पनि उनीहरू भारतको बाटो प्रयोग गर्छन्। नेपालपट्टि अहिले चालु अवस्थाको बाटो नै छैन। पहिरोले भत्केको कच्ची सडक लामो पर्छ। दुर्घटनाको जोखिम छ। पहिरो र ढुंगा खस्ने साँघुरो भएर जोखिम पनि उत्तिकै छ।
‘तुइन तरेपछि पारि छोटो यात्रा हुनाले भारतको बाटो प्रयोग गर्नु परेको हो,’ सुकुनसिंह धामीले भन्नुभयो, तुइन तर्न नसक्नेहरू, एम्बुलेन्स र ट्याक्टर बुक गर्न सक्नेहरू नेपालको बाटो आउँछन्। अहिले बाटो बन्द भएर त्यो विकल्प छैन। ‘नेपाल र भारतका सीमावर्ती क्षेत्रका नागरिकबीच यहाँ व्यवहारिक रूपमा सबै चल्छ। भारत नेपालजस्तै लाग्छ, छुट्टै देश होजस्तो लाग्दैन,’ उनले भने। नेपालमै बाटो बन्नुपर्छ भन्ने यहाँका नागरिकको माग छ। भारतको भूमि प्रयोग गर्न नपरे हुन्थ्यो भन्ने उनीहरू चाहन्छन्।
नेपाल सरकारका तर्फबाट २०७४र०७५ मा तुइन भएको मालघाटमाथि पुल बनाउन सहमति भएको छ। यसका लागि ठेक्का सम्झौता पनि भएको छ। पुलको शिलान्यास गर्न नेता लक्ष्मी जोशी र प्रदेश सांसद गेल्बुसिंह बोहोरालगायत पुग्नुभएको थियो । शिलान्यासपछि पुल निर्माणको काम सुरू भएको तर ठेकदारले अझै बनाइ नसकेको वडा सदस्य बुढाथोकीले बताउनुभयो। तीन वर्ष बढी समयसम्म पनि पुल नबनेपछि स्थानीयहरू तुइनको प्रयोग गर्न बाध्य छन्।
‘हाम्रै माटोमा हिँड्न पाउँ भन्ने भनाइ हो तर केन्द्रबाट सहयोग नआउने भएर पछि ४० लाखको पुलको माग भएको हो,’ वडा सदस्य बुढाथोकीले भन्नुभयो। वडा सदस्य बुढाथोकीका अनुसार गाउँपालिकाबाट २ र १ नम्बर वडाबाहेक अरू वडामा कृषि सडकले जोड्ने काम भएको छ। दार्चुला तिंकर सडक राष्ट्रिय राजमार्ग भएकाले पालिकाले त्यो बाहेकका सबै वडाका केन्द्र जोड्ने सडक बनाउन थालेको हो। कछुवा गतिमा अघि बढिरहेको तिंकर सडकले समस्या भइरहेको उहाँले बताउनुभयो ।
‘गाउँपालिकासँग पुल, बाटो बनाउने बजेट हुँदैन, केन्द्र सरकारले बनाइरहेका पुल, बाटो निर्माणको काम कछुवा गतिमा छ,’ उहाँले भन्नुभयो । तिंकर सडक बने यहाँका नागरिकले तुइन तर्नुपर्ने बाध्यता हट्छ। किनकी सुविधा भए मान्छेले ज्यान जोखिममा नहाल्ने उनको भनाइ छ। चट्टानले, पहिरोले र सरकारको बेवास्ताले तिंकर सडक निर्माणमा ढिलाइ भइरहेको छ।
दार्चुला तिंकर सडक योजना ब्रहमदेवदेखि दार्चुलासम्म २९१ किमी र दार्चुलादेखि तिंकरसम्म १३४ किमी गरी दुई खण्डमा विभाजन गरिएको छ। जसमा दार्चुला तिंकर खण्डको निर्माणको सम्झौता २०६६ मा भएको थियो। सो खण्डको अहिलेसम्म ४७ किलोमिटर ट्रयाक खोलिएको छ। त्यसमा पनि साढे दुई किलोमिटर खन्न बाँकी छ। सडक खण्डको ८७ किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनालाई दिइएको छ। सो सडक खण्डको यो वर्ष २५ किलोमिटरजति कालोपत्रे गर्नका लागि मन्त्रालयमा फाइल पेस गरेको दार्चुला तिंकर सडक योजनाका सबइन्जिनियर तथा सूचना अधिकारी मुकेन्द्र मल्लले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना मन्त्री भएको बेला सुन्सेरासम्म कालोपत्रे गर्ने फाइल मन्त्रालय पुगेको हो । केपी सर्मा ओली नेतृत्वको सरकारले तिकंर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको एक वर्ष पछि सेनाले सडक निर्माणको काम थाल्ने तयारी गरिरहेको छ ।
‘तत्काललाई सडक खण्डअन्तर्गत ४७ किलोमिटर कालोपत्रे भए ब्याँसका बासिन्दाले तुइन तर्ने बाध्यता हट्छ, त्यति कालोपत्रे भए पनि सहज हुन्थ्यो बाह्रैमास गाडी चल्थ्यो, सहज हुन्थ्यो। त्यसले यस पटक यो वर्ष २५ किलोमिटर, अर्को वर्ष बाँकी कालोपत्रे गर्ने भनेर मन्त्रालयमा फाइल पेस गरेका छौं, त्यहाँबाट के जवाफ आउँछ त्यहीअनुसार काम अगाडि बढ्छ’, उहाँले भन्नुभयो। सूचना अधिकारी मल्लका अनुसार सम्झौता भएको लामो समयसम्म सडक निर्माणमा ढिलाइ हुनु बजेट कम, ट्रयाक खोल्न बिस्फोटक पदार्थ नपाइनु रहेको छ। बजेट कम भयो, जस कारण लामोसमयसम्म ठेक्का लगाउन सकिएन,’ उहाँले भन्नुभयो, उक्त सडक खण्डअन्तर्गत ११ वर्षमा डेढ १ अर्ब ३० करोड जति खर्च भएको सूचना अधिकारी मल्लले बताउनुभयो ।
यस्तै, दार्चुला तिंकर सडक योजनाको महाकाली करिडोर खण्डको १ सय १० मिटर ट्रयाक खोलिएको छ। २ सय ९१ किलोमिटर जम्मा सडक रहेको यो खण्डको २०७४ सालमा निर्माण सम्झौता भएको थियो। जसमा १ सय १७ किमीको ठेक्का भएको छ। अझै ६४ किलोमिटरको ठेक्का सम्झौता हुन बाँकी रहेको योजना कार्यालयले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




