दार्चुला । नेकपा एमाले दार्चुलाको भदौ ६ र ७ गते खलंगामा सम्पन्न पूर्ण बैठकले १५ बुँदे आह्वान जारी गरेको छ । प्रेस विज्ञप्तीमार्फत बैठकले गरेको १५ बुँदे आह्वानलाई सार्वजनिक गरिएको हो । सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश, जयसिह धामी बेपत्ता प्रकरण, अतिक्रमित भूमि फिर्ताको विषय, भूमी सम्बन्धि समस्या समाधान आयोग खारेजी, जिल्लाको विकास निर्माण र पार्टी सुदृढिकरण लगायत विभिन्न विषय सम्बन्धि १५ बुँदे आह्वान सार्वजनिक गरिएको नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो ।
एमालेले सार्वजनिक गरेको आह्वान सहितको प्रेस विज्ञप्ती हेर्नुहोस :-
प्रेस विज्ञप्ती
नेकपा एमाले जिल्ला कमिटी दार्चुलाका अध्यक्ष क. राम दत्त जोशीको अध्यक्षता र नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र सिंह रावलको प्रमुख आतिथ्यमा र नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पठान सिंह वोहरा, नेकपा एमाले सुदूरपश्चिम प्रदेश क. सदस्य दुर्गा धामी, नेकपा एमाले सुदूरपश्चिम प्रदेश क. सदस्य हरदेव जोशी, नेकपा एमाले डडेल्धुरा जिल्ला अध्यक्ष प्रकाश साउद लगायतको उपस्थितीमा मिति २०७८ भदौ ६ र ७ गतेका दिन सम्पन्न भएको जिल्ला कमिटी बैठक बाट १५ बुँदे तपशिलका समसामयिक प्रस्तावहरु पारित गरेको छ ।
नेकपा एमालेलाई व्यवस्थित तथा स्थानीय तहहरु सम्म कमिटी निर्माण गर्न र विधान संशोधनका लागि नौ वटै पालिकाहरुबाट संकलन गरिएका सुझावहरु माथी छलफल गर्दै जिल्ला कमिटी बैठक सम्पन्न भएको छ । नेकपा एमाले दार्चुलाको जिल्ला कमिटी बैठक वाट पारित गरेका प्रस्तावहरु तपसिल बमोजिम छन ः—
१. सर्वोच्च अदालतको परमादेशबाट निर्माण भएको देउवा सरकारले दलिय व्यवस्थामाथी प्रहार गर्ने र आफ्नो सत्ता स्वार्थका लागि हठात संसद अधिवेशन अन्त्य गरी संविधान विपरित २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले नयाँ पार्टी गठन गर्न सक्ने गरि गलत मनसायले ल्याएको अध्यादेशको यो भेला घोर भत्र्सना गर्दछ र उक्त अध्यादेश खारेजीका लागि जोडदार माग गर्दछ ।
२. देउवा सरकारले भूमी सम्बन्धि समस्या समाधान आयोग खारेज गर्ने जनता मारा नीतिको विरोध र भू–माफियालाई धरौटीमा रिहाईको विरुद्ध यो भेला खेद प्रस्ताव सहित घोर भत्र्सना गर्दछ र अबिलम्ब भूमी आयोग खारेजीको निर्णय फिर्ता लिन सरकार संग जोडदार माग गर्दछ ।
३. कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्तो हाम्रो देशको अखण्ड भूभागलाई तत्कालिन हाम्रो पार्टीको अथक एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले प्रकाशन गरेको चुच्चे नक्सालाई समस्या देख्ने र उक्त भूभाग नेपाली सार्वभौमसत्ता अन्र्तगत ल्याउन छिमेकी राष्ट्रसंग वार्ता र समस्या समाधानको सट्टा घुडा टेक्ने नीतिको घोर भत्र्सना गर्दै अबिलम्ब उक्त भूभाग फिर्ताको पहल गर्न यो भेला सरकारको ध्यानाकर्षण गराउदछ ।
४. २०७८ साउन १५ गते दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुडाउने र उर्लिदो भेलमा वेपत्ता पार्ने गरी घटित अमानविय र क्रुर घटनालाई हाम्रो पार्टी निन्दा गर्दछ । उक्त घटनाको सत्यथ्य अबिलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न भारतीय पक्षसंग यस विषयमा गंभीरतापुर्वक जानकारी माग्न दोषिहरुलाई कार्वाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपुर्ती दिलाउन सरकारसंग माग गर्दछ ।
५. कोभिड महामारीको समयमा आफ्नो ज्यानको समेत प्रवाह नगरी जनताको सेवामा खटिएकी परशुराम नगरपालिका वडा नं. ८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मिता देवी धामीले असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोना बचत खोप र स्वास्थ्य सामाग्री बोकेर जोगबुडा अस्पताल लैजाने क्रममा असार ३ गते परशुराम नगरपालिका ९ को हट्वानी सामुदायिक वनमा उनको शव फेला परेको थियो । तर हत्या भएको दुई महिना वितिसक्दासम्म बर्तमान सरकारले दोषि पत्ता लगाउन कुनै चासो नदेखाएको हुँदा तत्काल दोषि पत्ता लगाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न यो भेला जोडदार माग गर्दछ ।
६. नेकपा एमालेका श्रदेय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले निर्माण सुरु गरेका दिर्घकालिन योजनाका साथै प्रत्येक पालिका सदरमुकाम जोड्ने सडकहरुलाई कालोपत्रे गर्ने कार्यक्रम यथासक्य चाँडो कार्यान्वयन गर्न माग गर्दछ ।
७. नौगाड गाउँपालिका लगायत दार्चुला जिल्लाका विभिन्न भागमा बाढीपिडितहरुलाई पुर्नबास र पुर्न स्थापना तथा आवश्यक क्षतिपूर्तिको लागि नेपाल सरकारसंग यो बैठक माग गर्दछ ।
८. २०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिनिधि सभा विघटन सम्बन्धि भएको फैसलापश्चात बनेको गठबन्धन सरकार कोरोना नियन्त्रण र जनताको लागि खोपको व्यवस्थापन गर्नुको सट्टा केपी ओली सरकारले व्यवस्थापन गरेको खोप समेत राति राति आफ्ना कार्यकर्तालाई लगाउने कार्य गर्दै आएको प्रति यो भेला घोर भत्र्सना गर्दछ ।
९. नेकपा एमाले दार्चुलाका नेता स्व. क. वीर वहादुर ठगुन्ना र जिल्ला कमिटी सचिव उदय वडाल का वुवा क. रिउले वडाल लगायत हालसम्म विभिन्न मितिमा मृत्यु भएका यस जिल्लामा नेकपा एमालेका कामकाज गरेका हाम्रा संगठित सदस्य कमरेडहरुलाई हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछ ।
१०. दार्चुला तिकंर सडकलाई राष्ट्रिय गौरवको योजना भित्र राखि नेपाली सेना र स्थानीय युवाहरु सहभागि गराई निर्माण कार्य संचालन गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ ।
११. देथला खार खलंगा सडक बाढी, पहिरोका कारण अवरुद्ध भएको यति समय सम्म पनि कुनै निकायले ध्यान नदिदा उक्त क्षेत्रमा रहेका जनतालाई समस्या भएकोमा तत्काल उक्त सडक मर्मत गरि संचालनमा ल्याउन जोडदार माग गर्दछ ।
१२. भारत सरकारवाट निर्माणधिन लिपुलेक कालापानी सडक निर्माण कार्यको कारण महाकाली नदी कटानले दार्चुला तिकंर सम्मको घोरेटो वाटो भत्कन गएकोले सो क्षेत्रमा आवत जावत गर्न पूर्ण रुपले वन्द रहेकोले ब्यास गाउँपालिका १, २, ३ का वासिन्दाहरु लाई खाद्यानको संकट परेकोले तत्काल हवाई सेवा वाट खाद्यान लगायत अत्यावश्यक सामाग्री ढुवानीको लागि सरकारसंग जोडदार माग गर्दछ ।
१३. नेकपा एमाले सम्मेलित सुदूरपश्चिम सरकारले कालापानी, लिपुलेक लिम्पीयाधुरामा वस्ने जनताका लागि विषेश विकास कार्यक्रम लागु गरेकोमा अहिले प्रदेश सरकारले सो कार्यक्रम खारेज गरेकोले यो कमिटी खेद ब्यक्त गर्दछ ।
१४. नेकपा एमाले दार्चुलालाई अझै सशक्त बनाएर लैजाने प्रतिवद्धतासहित जिल्ला कमिटीमा मनोनित हुनुभएका ५२ जना कमरेडहरुलाई बधाई ज्ञापन गर्दै आसन्न पार्टी अधिवेसन तथा स्थानीय तहको निर्वाचनलाई समेत मध्यनजर गर्दै सबै नेता, कार्यकर्ता र शुभचिन्कहरुलाई नयाँ सदस्यता वितरण र संगठीत सदस्यता नविकरण तत्काल गर्न आह्वान गर्दछ ।
१५. प्राप्त उपलब्धीहरुको रक्षा गर्न नेकपा एमाले नयाँ ढंगले कार्यक्षेत्रमा अत्रिनुपर्ने परिस्थितिलाई मध्यनजर गर्दै राजनीतिक अभियान, पार्टी निर्माण र सामाजिक, आर्थिक रुपान्तरणको अभियानमा प्रभावकारी ढंगले क्रियाशील हँदै पार्टी गतिविधिमा अगाडी बढ्न सबै जिल्ला मातहतका पार्टी कमिटी तथा एमाले आवद्ध कमरेडहरुलाई अनुरोध गर्दछ ।
धन्यबाद ।
रामदत्त जोशी
(अध्यक्ष)
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




