नमस्कार । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपाता मैखोली चन्नौलाबाट सञ्चालित सामुदायिक रेडियो लोकदर्पण तेस्रो बर्षमा प्रवेश गरेको छ । २०७८ सालको नेपालीहरुको महान चाड बडा दशैँ र तिहारको बहार सँगै रेडियो लोकदर्पण ९४.६ मेगाहर्ज पनि तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७६ साल कार्तिक १२ गते शुभ दिपावलीको दिनदेखि शुरु भएको रेडियो लोकदर्पण ९४.६ मेगाहर्ज (समाजको ऐना) को प्रसारण यात्रामा समस्त श्रोता, सूचना तथा विज्ञापनदाता र सबै शुभचिन्तकको सहयोग, स्नेह र हौसलाका लागि हामी कृतज्ञ छौँ । धेरै सपनाहरुलाई मूर्त रुप दिन बाकी छ । सञ्चारको माध्यमबाट सूशासनसहितको आर्थिक विकास र सामाजिक रुपान्तरणको अभियानमा अगुवाई गर्ने र अभियान्ताहरुसंगै सहयात्रा गर्ने हाम्रो योजनाले यात्रा शुरु गरेपनि अझै यसमा आमुल स्तरोन्नती गर्नुपर्ने आवश्यकता महसुस यहाँहरुलाई मात्र हैन, हामीलाई पनि भएको छ । निर्भीकताका साथ अझै सत्य, तथ्यमा आधारित अनुसन्धानमुखी, अझै वस्तुनिष्ठ र स्थलगत रिपोर्टिङबाट हामी यहाँहरुको अपेक्षालाई सम्बोधन गर्ने प्रयास गर्नेछौँ ।
हामीले यहाँहरुकै अपेक्षा, सुझाब र प्रतिक्रियाको आधारमा समाचार सँगै शिक्षा, सूचना र मनोरञ्जनात्मक कार्यक्रम र सामाग्रीहरुलाई समेत रेडियोको माध्यमबाट उत्पादन, प्रसारण तथा प्रस्तुत गर्दै आएका छौँ । यहाँहरु जस्तै हाम्रो पनि प्राथमिक चाहाना भनेको सकारात्मक परिवर्तन, समाज सुधार, आर्थिक विकास, समृद्धि, सूशासन र दिगो विकास हो । नेपालको दुर्गम जिल्ला दार्चुला त्यसमा पनि विभिन्न चुनौती र समस्याहरुले जगडिएको तर सम्भावना भने बोकेको क्षेत्र लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपाता, मैखोली चन्नौलामा प्रधान कार्यालय स्थापना गरेर हरेक दिन १८ घण्टा बिहान ५ बजेदेखि राती ११ बजेसम्म फिक्वुन्सी मोडुलेसनको विद्युतिय तरङ्ग मार्फत हामी यहाँहरुसंगै उपस्थित छौँ ।
गलत राजनीतिक संस्कार लगायत विभिन्न कारणले अपेक्षा अनुसार जनहितकारी योजना कार्यक्रमहरु तिब्र गतिमा जवाफदेहिता र पारदर्शीताका साथ कार्यान्वयन नहुदा हामी सत्ताको आलोचना वा खबरदारी गर्न खोज्छौँ, पहुँचको आधारमा गरिरहेका पनि छौँ । पक्कैपनि पत्रकारिता सत्तालाई खुसी पार्न सक्ने पेसा होइन । निर्भय र निष्पक्ष पत्रकारिताले सबैभन्दा उद्वेलित कसैलाई बनाउँछ भने त्यो सत्ता वा सत्ता सञ्चालकहरुलाई नै हो । सत्तासँग हाम्रो कुनै पूर्वाग्रह छैन, जनभावना अनुसारका प्रश्नहरू अवश्य छन् । जहाँ जनताको आकांक्षा र सत्ताको स्वार्थ बाझिन्छ, हामी हमेसा र विनासर्त जनताको पक्षमा छौँ र रहिरहने छौँ । तर यसो भनिरहदा कुनै सरकार, व्याक्ति वा समाजले राम्रो अभ्यास, काम वा गतिविधि गरिरहेको छ भने त्यसलाई हौसला प्रदान गर्ने र सकारात्मक प्रचारप्रसार गर्ने काम पनि हामीले गरिरहेका छौँ । राम्रोको समर्थन वा प्रचारप्रसार र नराम्रोको आलोचना वा खबरदारी गर्ने हाम्रो प्रमुख धर्म हो, जसलाई निभाउन हामी सधैँ जागा छौँ ।
हामीले प्रस्तुत गर्ने सामग्रीप्रति जिम्मेवार र जवाफदेहिताबाट हामी आफैँ पनि उन्मुक्त छैनौँ । धेरै कुराहरु सिकाईको क्रममा भएकोले कमिकमजोरीहरु पक्कै पनि होलान, त्यसमा यहाँहरुको रचनात्मक सुझाबहरुलाई शिरोधार्य गरेर रेडियो लोकदर्पण हरेक बिहान ५ बजेदेखि राती ११ बजेसम्म हजारौँ श्रोताको अदालतमा खडा हुन्छ । त्यही नै हाम्रो अन्तिम अदालत हो र त्यसको आदेश हाम्रा लागि परमादेश सरह हो । हामी केन्द्रमुखी छैनौँ । समाज परिवर्तनको ध्येयले गरिने पत्रकारिता केन्द्र वा सदरमुकामको वातानुकूलित केन्द्रीय कार्यालय वा प्रसारण केन्द्रले धान्दैन भन्नेमा हामी स्पष्ट भएर नै विभिन्न समस्या र चुनौतीका बिच गाउँबाट पत्रकारिताको अभ्यास गरिरहेका छौँ । हामी हाम्रा श्रोतालाई शिक्षा, मनोसूचनात्मक समाचार र मनोरञ्जन पस्किन सदा प्रयत्नरत छौँ ।
हाम्रो समाज मात्र हैन, विश्व नै अहिले कोरोना महामारीसँग जुधिरहेको छ । सामूहिक र जिम्मेवार संकल्पले मात्र यो महामारीलाई पराजित गर्न सकिन्छ । त्यसैले रेडियो लोकदर्पणको दोस्रो वार्षिकोत्सबको शुभ अवसरमा कोरोनाबाट बच्दै अरु संकल्प र सपनाहरु साकार पार्न हामी सबैले आफ्नो ठाउँबाट योगदान दिन सकौँ र सकियोस भन्ने शुभेछ्या व्यक्त गर्दै आगामी दिनमा यहाँहरुको निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्दछौँ । विगतबाट सिक्दै बर्तमानमा फरकपन र थप प्रभावकारीताका साथ अगाडी बढ्न प्रयत्नशिल हुने प्रण गर्दछौँ । हाम्रा विभिन्न सामाग्रीहरु रेडियो लोकदर्पणकै पार्टनर मिडिया लोकदर्पण टिभी डटकम अनलाइन पोर्टल, लोकदर्पण डायरी साप्ताहिक पत्रिका र लोकदर्पण टिभी युट्युब च्यानलमार्फत समेत हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ ।
रेडियो लोकदर्पणको पार्टनर मिडिया लोकदर्पण टिभी डटकम अनलाइन पोर्टल मालिकार्जुन सामुदायिक संस्थाद्धारा सञ्चालित नेपाली भाषाको लोकप्रिय समाचार पोर्टल बन्न सफल भएको छ । यो सबै नेपालीको साझा अनलाइन सञ्चारमाध्यम हो । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भावका पक्षमा हामी अग्रमोर्चामा अविचलित समर्पित छौं । स्थानीय, राष्ट्रिय, अन्तरराष्ट्रिय, राजनीतिक, सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य, कृषि, विज्ञान–प्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, खेलकूद, मनोरञ्जन, साहित्य र सचेतनासँग सम्बन्धित मुद्दाहरुमा केन्द्रित लोकदर्पण टिभी डटकममा छिनछिनका ताजा समाचार, खोजमूलक रिपोर्टहरु पढ्न, सुन्न र हेर्न सक्नुहुनेछ ।
मालिकार्जुन सामुदायिक संस्थाले लोकदर्पण टिभी डटकम अनलाइन पोर्टल, शिक्षा, सूचना, समाचार र मनोरञ्जनका लागि समाजको आवाज, रेडियो लोकदर्पण ९४.६ मेगाहर्ज, समाजको ऐना लोकदर्पण टिभी युट्युब च्यानल र लोकदर्पण डायरी साप्ताहिक पत्रिकाको गुणस्तर सुधार गर्ने विषयमा गहन छलफल गरिरहेका छौँ । डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्य सामाग्रीको माध्यमबाट हामी विगतको समिक्षा, वर्तमानको अभिलेख, भविष्यको दिशानिर्देश राख्छौँ । सुशासनसहितको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि हाम्रा सामाग्रीहरु सहयोगी हुनेछन् । हामी राम्रो काम गर्न खोज्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई खवरदारी गर्न तत्पर छौ ।
पत्रकारिताको नैतिक बलमा उभिएर हाम्रो हैन, राम्रो लाई आत्मसात गर्दै अगाडी बढिरहेका छौँ । सरकारी, गैरसरकारी र निजी क्षेत्रलाई काम अनुसारको प्रश्न गरेर जिम्मेवारबोध बनाउने र पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण सत्य, सन्तुलित र विश्वसनीय समाचार पस्किन हामीले सकारात्मक ढंगले सबै पक्षसंग सहकार्य र समुन्वय गर्न चाहान्छौँ ।
तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै अनलाइनमा लोकदर्पण टिभी डटकम लगइन गरेर वा ९४.६ मेगाहर्जमा एफ.एम रेडियोका साथै फेसबुक, युट्युव, ट्युटर लगायतका सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ । तपाईं पनि सूचना, समाचार, तस्वीर, भिडियो, अडियो दिएर, विचार वा प्रतिक्रिया व्यक्त गरेर वा तथ्यपरक मनोसुचनात्मक जानकारी दिएर हामीसंग जोडिन चाहानुहुन्छ भने इमेल ठेगाना वा फोन मार्फत सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।
तपाईंले रेडियो लोकदर्पण र लोकदर्पण टिभी डटकममा गर्ने प्रतिक्रिया वा पठाउने सामग्री मौलिक, सत्य तथ्यमा आधारित, सृजनात्मक, कानुन सम्मत र शिष्ट हुनेछन भन्ने अपेक्षा गर्दै हाम्रा सामाग्रीहरुमा लाइक, कमेन्ट र सेयर गर्नुहुनेछ भन्ने पूर्ण अपेक्षासहित सम्पूर्ण सहयोगी शुभेच्छुकहरुप्रति धन्यबाद व्यक्त गर्दछौँ । नमस्कार ।
लोकदर्पण टिभी युट्युब च्यानलका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस
लोकेन्द्रप्रसाद जोशी
(अध्यक्ष एबं स्टेशन म्यानेजर)
लोकदर्पण मिडिया परिवार
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




