दार्चुला । दार्चुलाका ६१ मध्ये हालसम्म ४५ वडालाई सडकमार्गले जोडेको छ । यसअघि ४४ वडामा सडक पुगेको भएपनि पछिल्लो समय मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोट समेत सडक सञ्जालमा जोडिएको छ । अझैपनि जिल्लाका १६ वटा वडा सडकमार्गबाट पूर्णरुपमा बञ्चित रहेका छन् । अधिकासं ग्रामीण सडक बन्द रहेको स्थानीयको गुनासो छ । सडक स्तरोन्नती नहुदा बर्षायाममा हिलाम्य र सुख्खायाममा धुलाम्य हुने गरेका छन् ।

दार्चुलाका नौँ स्थानीय तह मध्ये तीन स्थानीय तहलाई पक्की सडकमार्गले जोडेको छ । अपिहिमाल गाउँपालिकाबाहेक सबै स्थानीय तहको केन्द्रसम्म सडकको पहुँच पुगेको छ । हालसम्म छ वटा स्थानीय तहको पहुँचमा पक्की सडक छैन् । महाकाली लोकमार्गले छोएका शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिका बाहेकका पालिकामा हालसम्म पक्की सडकको पहुँच छैन् । दार्चुलाको दुर्गम स्थानीय तह अपिहिमाल गाउँपालिकाको केन्द्रसम्म अहिले पनि कच्ची सडकमार्गको विस्तार समेत भएको छैन् । अपिहिमाल गाउँपालिका–५ मकरीगाडसम्म मात्रै सडकको ट्रयाक खुलाइएको छ । ओखलदेखी तिम्ला क्षेत्रमा गत असारदेखि बाढीपहिरोले सडक अवरुद्ध भएपछि मकरीगाडसम्म समेत यातायातका साधनहरु चल्न सकेका छैनन् । सडक अवरुद्ध हुँदा बिरामीहरुलाई डोको र स्टेचरमा बोक्नुपर्ने बाध्यता छ । भने दैनिक उपभोग्य सामाग्रीको मूल्य समेत आकासिएको अपिहिमालका स्थानीय जनक ठेकरेले बताउनुभयो । भगौलिक बिकटता, ठेकेदारको लापरवाही, राजनीतिक स्वार्थ लगायतका कारणले सडक निर्माणमा आशातित प्रगति हुन नसकेको र निर्माण कार्य अवरुद्ध हुने गरेको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो ।

अहिलेसम्म दार्चुलाको ठूलो भूगोल राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । भगौलिक कठिनाइले कतिपय स्थानीय तहका विभिन्न वडाहरुसम्म सडक पुर्याउनु चुनौतीपूर्ण छ । कतिपय स्थानीय तहका केन्द्र जिल्ला सदरमुकामबाट धेरै टाढा छन् । राम्रोसंग ट्रयाक समेत नखुलेको अवस्थामा तुरुन्तै पक्की सडक बनाउन सम्भव हुने अवस्था छैन् । यद्धपी देश संघीयतामा गएसंगै सहरदेखि दुर्गम क्षेत्रसम्म सडक निर्माणले तिब्रता पाएको छ । अहिलेकै गतिमा काम हुने हो भने, अपिहिमाल गाउँपालिकाका सबै वडासम्म सडक पुर्याउन वर्षौ लाग्नसक्ने अपिहिमालका स्थानीयहरुले बताएका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका र दुहुँ गाउँपालिकाका सबै वडालाई सडकमार्गले छोएको छ । दार्चुला सदरमुकाममा अवस्थित महाकाली नगरपालिकाका नौँ वडा मध्ये वडा नम्बर ३ बाहेकका आठ वटा वडा सडकमार्गमा जोडिएका छन् । मालिकार्जुन गाउँपालिकाका आठ वटा वडामध्ये सात वडालाई सडकले छोएको छ । सडकमार्गबाट बञ्चित वडा नम्बर २ लाई जोड्ने सडक निर्माणाधिन अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ । लेकम गाउँपालिकाको छ वटा वडामध्ये वडा नम्बर २ र ३ मा यातायात पुगेको छैन् । वडा नम्बर ६, ५, ४ र १ मा सडक विस्तार भइसकेको छ । नौगाड गाउँपालिकाका छ वटा वडामध्ये पाँच वडामा सडक पुगेको छ । वडा नम्बर १ इयरकोटसम्म सडक विस्तारको काम भइरहेको छ ।

व्यास गाउँपालिकाका छ वडामध्ये चार वडामा सडक पुगेको छ । वडा नम्बर १ र २ बाहेकका चार वडामा सडक विस्तार भइसकेको छ । व्यासको सडक पुग्न बाकी दुर्गम क्षेत्र वडा नम्बर १ र २ लाई जोड्ने गरी महाकाली करिडोर अन्तरगत दार्चुला तिकंर सडक निर्माणाधिन अवस्थामा रहेको छ । मार्मा गाउँपालिकाको छ वडामध्ये वडा नम्बर १, २ र ३ गरी तीन वडालाई सडकमार्गले छोएको छ । सडक पुग्न बाकी तीन वडालाई जोड्ने गरी दुई वटा सडक निर्माणाधिन अवस्थामा छन् । दार्चुलाको विकट स्थानीय तहमध्येको अपिहिमाल गाउँपालिकाका छ वडा मध्ये वडा नम्बर ५ लाई मात्रै सडकले छोएको र बाकी पाँच वटा वडामा सडक विस्तार गर्न बाकी रहेको अपिहिमाल गाउँपालिका अध्यक्ष मन्यालले बताउनुभयो ।

संघीय संरचना निर्माण हुनुभन्दा पहिले दार्चुलाको थोरैमात्र क्षेत्रमा सडक विस्तार भएको थियो । अहिले स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा धमाधम सडक निर्माण भइरहेका छन् । दार्चुलाका अधिकासं वडा कार्यालयलाई सडक मार्गले छोएपनि स्तरोन्नती नहुदा नियमित यातायातका साधनहरु भने थोरैमात्र वडामा सञ्चालित छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?