दार्चुला । दार्चुलासहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ । दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको छ ।
मङ्गलबार दिउँसोदेखि अवरुद्ध बनेको टेलिकमको सेवा अझै पूर्णरुपमा सञ्चालन हुनसकेको छैन । मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको सेवाग्राहीको गुनासो छ । सञ्चारसेवा अवरुद्ध भएपछि यहाँका सरकारी तथा गैरसरकारी सङ्घसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समेत समस्या भएको छ ।
अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि धनगढीबाट प्राविधिकको टोली खटिएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । समस्याको आशिंक समाधान भने बुधबार विहानदेखि भइसकेको र छिट्टै सञ्चारसेवा पूर्णरुपमा सूचारु हुने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




