दार्चुला । दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । चालकसहित नौँ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा एक महिलासहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतिक बिष्टले जानकारी दिनुभयो ।
दुर्घटनामा ज्यान गुमाउनेमा बझाङको बुङगल नगरपालिका वडा नम्बर ८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहनुभएको छ । मृतक रैभान र चम्फा श्रीमान श्रीमती रहेको बताइएको छ । जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो । दुर्घटनामा परेर मालिकार्जुन गाउँपालिका–३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन गाउँपालिका–६ की ४० वर्षीया रेवती धामी, महाकाली नगरपालिका–७ का ३५ वर्षीय रमेश लुहार, बझाङको बुङगल नगरपालिका–८ का धनबहादुर जागरी र बैतडीको डिलाशैनी गाउँपालिका–३ का प्रदिप राना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको डिएसपी बिष्टले बताउनुभयो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । पाँच जनाको सिट पास रहेको जीपमा १४ जना बोकेको पाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको र स्थानीय र प्रहरीले उद्धार कार्य गरेको उहाँले बताउनुभयो । दुर्घटनामा घाइते धनबहादुर जागरीका अनुसार गाउँबाट कामको खोजिमा हिडेका पाँच जनाको मृत्यु भएको छ । सुदूरपश्चिमेलीको महान पर्व ओल्केका दिन अकल्पनिय घटनामा परि संगैका पाँच जनाको ज्यान गएपछि भावविहल बनाएको उहाँले बताउनुभयो ।
बुङगलबाट हामी छ जना कामको खोजिमा गाउँबाट हिडेका थियौँ, घाइते जागरीले भन्नुभयो, जीप दुर्घटनामा संगैका पाँच जनाको मृत्यु भएपछि भावविहल बनाएको छ । एकै गाउँका पाँच जनाको ज्यान गएपछि बुङगलमा ओल्केका दिन बज्रपात परेको छ । हर्षोउल्लासका साथ मनाइने ओल्केका दिन गाउँभरी रुवाबासी चलेको स्थानीयले बताएका छन् । मृतक सबैको साथबाट नेपाली र भारु गरी करिब एक लाख रुपियाँ समेत फेला परेको प्रहरीले जनाएको छ ।
दार्चुलामा हरेक बर्ष सडक दुर्घटनाका कारण जनधनको क्षति हुदै आएको छ । दुर्घटनाको न्यूनिकरणका लागि यातायात व्यवस्थापन र ट्राफिक नियमको पूर्ण पालना गर्नु गराउनु आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




