दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले भाडामा लिएको सवारी साधन दुरुपयोग भएको छ। नगरपालिकाले भाडामा लिएर सञ्चालन गर्दै आएको सु.प.प्र.०२००१ च १३८२ नम्बरको स्कार्पियो गाडीमा ‘नगरप्रमुखका छोराबुहारी र आफन्त नेपाल भ्रमणमा’ रहेको रास्वपा शैल्यशिखर नगर कमिटिले जनाएको छ ।
नगरप्रमुख धामीका छोरा पुष्कर सिंह धामी दार्चुलाकै नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ भने उहाँकी श्रीमती सन्ध्या विष्ट पनि निजामती कर्मचारी हुनुहुन्छ। रास्वपा शैल्यशिखर नगरसभापति पन्तका अनुसार नगरप्रमुखले प्रयोग गर्दै आएको उक्त भाडाको गाडी लिएर उहाँहरू देशका विभिन्न स्थानमा भ्रमणमा रहेका छन्।
‘जनताको करबाट भाडा तिरेको गाडी केही दिन यता देशका विभिन्न सहरहरुमा पुगेको देखिएको छ । अन्तिम पल्ट गाडी जनकपुर पुगेको हामी संग जानकारी छ । उक्त गाडीमा नगरप्रमुखका छोरा बुहारी सवार हुनुहुन्छ’ पन्तले भन्नुभयो ।
रास्वपा जिल्ला कमिटिले प्रमुख जिल्ला अधिकारी संग बुझ्दा उक्त गाडी अन्तिम पल्ट लुम्बुनी प्रदेशमा देखिएको र नियन्त्रणमा लिने प्रयास भईरहेको जानकारी प्राप्त भएको पन्तले बताउनुभयो ।
यता, नगरपालिकाले भने उक्त नम्बरको गाडी नगरप्रमुखले प्रयोग गर्दै आएको र सर्भिसिङका लागि कैलाली लगिएको जानकारी दिनुभयो। उक्त गाडी नगरप्रमुख विजयसिंह धामीको जिम्मामा रहेको र नगरप्रमुख धामी समेत शुक्रबार नगरपालिकामा उपस्थित नरहेको उहाँले बताउनुभयो । गाडी सर्भिसिङको लागि कैलाली लगिएको चलानी रहेको र त्यसपछिको अवस्थाबारे जानकारी नभएको उहाँले बताउनुभयो।
“उक्त गाडी मेयरसापले प्रयोग गर्दै आउनुभएको हो। चलानी अनुसार सर्भिसिङका लागि कैलाली पठाइएको छ। त्यसपछि गाडी कहाँ छ भन्नेबारे नगरपालिकालाई जानकारी आएको छैन, सवारी दुरुपयोग भयो भन्ने कुरा हामीले पनि सामाजिक सञ्जालबाट थाहा पायौं, थप बुझ्दै छौ” नगरपालिकाका पमुख प्रशासकीय अधिकृत भट्टले भन्नुभयो।
नगरपालिकाले हाल दुई वटा सवारी साधन भाडामा लिएर प्रयोग गर्दै आएको छ। सवारी भाडा तथा चालकहरूको तलब–भत्तामा वर्षेनी लाखौँ रकम खर्च हुँदै आएको छ।
रास्वपा शैल्यशिखरका सभापति पन्तले जनताको करबाट सञ्चालित सवारी साधनको दुरुपयोग भएको आरोप लगाउँदै जनप्रतिनिधिका आफन्तले निजी प्रयोजनका लागि प्रयोग गर्नु आपत्तिजनक भएको बताउनुभयो।
यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा नगरप्रमुख धामी तथा उहाँका छोरासँग फोन सम्पर्क हुन सकेन।




