दार्चुला । नेपाल टेलिकमले दार्चुलाको विकट ठाउँ व्यास गाउँपालिका-१ छाङरुमा बुधवारदेखि फोर–जी सेवा सुरु गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको व्यास गाउँपालिकामा रहेको छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोर–जी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको छ ।
फोर–जी सेवाका लागि नेपाल टेलिकमले दार्चुलाको महाकाली नगरपालिकामा रहेको न्यु बालाशिखरको रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिङ्कमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको हो । ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलङ्गादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो । अब छाङरुमा रहेका झन्डै एक सय २० घरधुरी र सात सय जनसङ्ख्या तथा अन्य क्षेत्रका गरी झन्डै चार हजार जनसङ्ख्या यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । अब छाङरुभन्दा झण्डै १३ किलोमिटरको दुरीमा रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा तिङ्कर लगायतका क्षेत्र र सीमानासम्म फोर–जीको पहुँच पुगेको छ ।
नेपाल टेलिकमले सञ्चालनमा ल्याएको यस क्षेत्रमा ब्यान्ड २० अर्थात् आठ सय मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिने नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो । यो ठाउँमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न कार्यालयसमेत रहेका छन् । विकट र दुर्गम ठाउँमा समेत सेवा उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार नेपाल टेलिकमले देशका विभिन्न विकट ठाउँमा हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर पनि सेवा उपलब्ध गराइरहेको छ । यसैको निरन्तरताको रूपमा छाङरुमा समेत सेवा उपलब्ध भएको छ ।
छाङरुसम्म स्थलमार्गबाट पुग्न कठिन भएकोले सामान ढुवानीका लागि भदौ पहिलो साता हेलिकोप्टर प्रयोग गरिएको थियो । टावरका साथै टावरमा प्रयोग गरिने सोलार ब्याट्री, सोलार पाता र डिभाइस लगायत सामान हेलिकोप्टरबाट ढुवानी गरेपछि जडान गरिएको गुरुङले बताउनुभयो । टेलिकमको सामान जडान भएर टावर सञ्चालनमा आएसंगै अधिकांश समय सञ्चारविहीन हुने दार्चुलाको उत्तरी भेगमा पर्ने व्यास क्षेत्र सञ्चार सम्पर्कमा जोडिएको छाङरुका स्थानीय योगेश बोहराले बताउनुभयो । छाङरुमै बसेर मोबाइलमा फोरजी चलाउन पाउदा निकै खुसी लागेको छ, बोहराले भन्नुभयो, छाङरुबासीको तर्फबाट फोरजी सेवा सुचारु गरिदिने नेपाल टेलिकम र सरकारलाई धन्यबाद । नेपाल टेलिकमको प्राविधिक टोली छाङरु आएर उपकरण जडान गरेसंगै बुधबारबाट फोरजी सेवा सुचारु भएको उहाँले बताउनुभयो । अहिलेसम्म व्यासमा नेपाल टेलिकमको स्काईफोन सेवा मात्रै सञ्चालनमा रहेको थियो । मौसम प्रतिकुलता, भगौलिक विकटतासंगै विभिन्न प्राविधिक कारणले बेलाबेला सञ्चार सेवा अवरुद्ध भएर व्यासबासी सञ्चारसम्पर्कबाट बञ्चित हुँदै आएका थिए । जिएसएम (नमस्ते) को फोरजी सेवा सुचारु भएपछि नियमित सञ्चार सेवा पाउने आशा गरिएको स्थानीयको भनाई छ ।
छाङरुमा टावर सञ्चालनमा ल्याउनका लागि व्यास गाउँपालिका–४ कैचुलामा रहेको टावरलाई ब्रह्मलेकमा सारिएको छ । ब्रह्मलेकबाट छाङरु देखिने भएकाले डिभाइस जडानका लागि ब्रह्मलेकमा रिपिटर स्टेशन राखिएको छ । छाङरुको ज्याक्ती डाडामा टेलिकमको नयाँ रिपिटर स्टेशन राखेर छाङरु गाउँमा रहेको नमस्ते फोन सेवाको फोरजी सञ्चालनमा ल्याइएको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




