दार्चुलाको नौगाड गाउँपालिका साविकको इयरकोट, खार, सिप्टी र धुलिगडा चार गाविसलाई समायोजन गरेर छ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको पूर्वमा मार्मा र अपिहिमाल गाउँपालिका, पश्चिममा महाकाली नगरपालिका र दुहुँ गाउँपालिका, उत्तरमा दुहुँ र व्याँस गाउँपालिका र दक्षिणमा शैल्यशिखर नगरपालिकासंग सिमाना जोडिएको छ । कुल १८०.२७ वर्गकिलोमिटर क्षेत्रफल ओगेटेको नौगाड गाउँपालिकाको २०७८ सालको जनगणना अनुसार दुई हजार ९७५ घरधुरी र जनसंख्या १५ हजार ५२८ रहेको छ । भौगोलिक विकटतासंगै विविधतायुक्त नौगाडमा कृषि र पर्यटनको प्रचुर सम्भावना छ । नेकपा (माओवादी केन्द्र) को तर्फबाट स्थानीय तहको निर्वाचनमा नौगाड गाउँपालिका अध्यक्ष पदमा निर्वाचित दलजीतसिंह धामी समाजसेवी र बौद्धिक नेताको रुपमा चिनिनुहुन्छ । प्रस्तुत छ, समसामयिक विषयमा नौगाड गाउँपालिका अध्यक्ष धामीसंग पत्रकार लोकेन्द्रप्रसाद जोशीले गर्नुभएको संक्षिप्त कुराकानी:

नौगाड गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि यहाँले प्रमुख के के काम गर्नुभयो ?
नौगाड गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएपछिको पहिलो वर्ष सिकाइको वर्ष रह्यो । पहिलेको सरकारजस्तै चालु आर्थिक वर्षको बजेट ल्यायौँ । केही सिकाइ र अद्ययनबाट अगामी बजेट थप प्रभावकारी ढंगले कार्यान्वयन गर्न सुशासनसहितको विकासमा जोड दिइरहेका छौँ । स्थानीय सरकारको चुनौती सुशासनमै हो । सुशासनको लागि नीति, विधि, ऐन, नियम, कानुन बमोजिम काम गर्न सके सबैलाई सन्तुष्ट गर्न सकिन्छ । जनप्रतिनिधि सबै जनताको हुनुपर्छ भन्ने मान्यता अनुसार मेरो तर्फबाट सोहि बमोजिम व्यवहार भइरहेको छ । ठेक्काहरु ई–बिडिङ बाट विवादरहित तरिकाबाट गरेका छौँ । गाउँपालिकाको समग्र विकासका लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन रुपमा एकिकृत योजना तर्जुमा गर्न पाँच वर्षको आवधिक योजना निर्माण गरिरहेका छौँ । विकासका नियमित योजना कार्यक्रमहरु सम्पन्न हुने चरणमा छन् ।

नौगाड गाउँपालिकामा पुर्वाधार विकासको अवस्था कस्तो छ ?
भौगोलिक रुपले निकै विकट यस गाउँपालिकाको १ नम्बर वडा वाहेक सबै वडामा सडक यातायातको पहुँच पुगेको छ । प्रदेश गौरबको योजना देथला, खार खलंगा सडक स्तरोन्नतीको काम भइरहेको छ । धुलिगडामा पक्की पुल निर्माण सम्पन्न भइसकेकोले यातायातमा केही सहज भएको छ । दल्लेख सम्म नियमित यातायातका साधन सञ्चालन गर्न अझै दुई वटा पुलहरु निर्माण गर्नुपर्ने आवश्यकता छ । वडा नम्बर ६ को धुलिगाडासम्म बस सेवा सञ्चालनमा रहेको छ । प्रतेक वडा र दुर्गम बस्तीमा स्वास्थ्य संस्थाहरुको सेवा विस्तार गरिएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र १० शैय्याको अस्पताल निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । एक जना एमबिबिएस डाक्टर राखेपनि उपकरण र संरचना अभावमा चिकित्सकीय सेवा दिन सकिएको छैन् । मावि धुलिगाडा लगायत विभिन्न विद्यालयमा भवनहरु निर्माण गरिएको छ । समग्रमा यातायात पूर्वाधार, भौतिक पूर्वाधार, खानेपानी तथा सरसफाई, उद्यम, कृषि तथा पशु क्षेत्र लगायत सम्पूर्ण क्षेत्रहरुमा जनताहरुलाई सुविधा दिने ढंगले कामहरु भइरहेका छन् । खानेपानीको क्षेत्रमा गाउँपालिकाको साझेदारीमा ग्रामिण जलस्रोत परियोजनाले एक घर एक धारा बनाएपनि पहिरोले अधिकासं लाइनमा क्षती पुर्याएर खानेपानीको समस्या व्याप्त रहेको छ ।

नौगाडमै जलविद्युत उत्पादन भइरहदासमेत नौगाडबासीले राष्ट्रिय प्रसारणको विजुली पाउन सकेका छैनन् । गाउँपालिकामा विद्युतिकरण कहिलेसम्म हुन्छ ?
विद्युतको सन्दर्भमा कुरा गर्दा बिडम्बना जस्तै छ । नौगाडमै दुई वटा जलविद्युत आयोजनाबाट साढे १६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएपनि नौगाडका अधिकासं घरधुरीमा विद्युत विस्तार हुन सकेको छैन् । अहिलेसम्म एक दुई वस्तीमा मात्रै राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ । छिटोभन्दा छिटो गाउँपालिकाभरी राष्ट्रिय प्रसारणको लाइन विस्तारगर्न विद्युत प्राधिकरण र निर्माण व्यवसायीलाई अनुरोध गरेका छौँ । होपरीमा बनेको लघुजलविद्युत आयोजनाले पनि गाउँपालिका केन्द्र नजिकका केही बस्तिमा विद्युत बलेको छ । अबको एक वर्ष भित्र नौगाडको अधिकासं घरधुरीमा विद्युत पुर्याउने प्रयास भइरहेको छ ।

अहिलेपनि केही गाउँमा फोनै नलाग्ने समस्या रहेको जनगुनासो छ, सञ्चार समस्या कहिलेसम्म समाधान हुन्छ ?
नौगाडको १ नम्बर लगायत केही वडामा सञ्चारको समस्या छ । तर पहिलेको भन्दा पछिल्लो समय सञ्चार सेवामा निकै सुधार भएको छ । दार्चुलाका सबै स्थानीय तहको भन्दा बढी सात वटा टेलिकमका टावरहरु नौगाड गाउँपालिकामा छन् । तर भगौलिक विकटता र टावरहरुसम्म विद्युत नहुदा सञ्चार सेवा नियमित र गुणस्तरीय हुन नसकेको कुरा साँचो हो । विद्युतिकरणपछि पालिकाभरीको सञ्चार समस्या समाधान हुन्छ ।

कृषि र स्वरोजगारीको क्षेत्रमा के के काम भइरहेको छ ?
आर्थिक विकास तथा नौगाडको समृद्धिका लागि सबैभन्दा बढी सम्भावना बोकेको क्षेत्र कृषि नै हो । तरकारी खेतीमा पकेट क्षेत्र निर्धारण गरेर नमूना गाउँ स्थापना गर्दैछौँ । पशुपालन, माहुरीपालनतर्फपनि किसानहरुको आकर्षण देखिएको छ । एक वर्षमा १२० जना कृषकलाई माहुरी तालिम दिएर माहुरीपालक कृषकलाई ४०० घार माहुरी वितरण गरिएको छ । कृषिलाई आधुनिकिकरण र यान्त्रिकरण गर्ने नीति लिएका छौँ । किशान सुचिकरणको काम भइरहेको छ । अगामी वर्ष भैँसीपालन व्यवसाय प्रवद्र्धन गर्ने योजना छ । छ वटै वडामा अल्लो प्रशोधन केन्द्र निर्माण गरिएको छ । उद्यम विकासको क्षेत्रमा होजियारी, ग्याबिन जाली, हाउस वाइरिङ, ड्राइभिङ लगायत विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गरिएको छ ।

नौगाड गाउँपालिका लाइ समृद्ध बनाउने अल्पकालिन र दिर्घकालिन योजना के के छन ?
यातायात पूर्वाधार, भौतिक पूर्वाधार, खानेपानी तथा सरसफाई, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, कृषि तथा पशु क्षेत्र समेटेर कामहरु भइरहेका छन र यि कामहरुलाइ हामीले अल्पकालिन अथवा निरन्तर गर्नुपर्ने कामको रुपमा लिएका छौ । पर्यटन प्रवर्धन, नौगाड गाउँपालिकामा भएको वहुमुल्य जडिवुडी प्रशोधन गरि जडीवुडी र अन्य स्थानीय उत्पादनमा आधारित उद्योग धन्दाहरु संचालन गर्ने, पर्यटकीय स्थलहरुको विकास गर्ने र पुर्वाधार निर्माण पश्चात हरेक क्षेत्रमा सफ्टवेयरको क्षेत्रमा फडको मार्ने साथै कृर्षीमा ठूलो परिमाणमा उत्पादन र बजारीकरणमा जोडने दिर्घकालिन योजना छ । समग्रमा सुशासनसहित पुर्वाधार र सामाजिक विकासको माध्यमबाट समृद्ध नौगाड निर्माणको अभियानमा लागिरहेका छौँ ।

स्थानीय तहहरुमा अनियमितता बढेको विषयमा ब्यापक आलोचना हुने गरेको छ, तपाइको गाउँपालिकामा सुशासनको अवस्था कस्तो छ ?
सुशासन, पारदर्शिताको पाटोमा नौगाड गाउँपालिकाले विगत देखि नै विभिन्न अभ्यासहरु अवलम्बन गर्दै आइरहेको छ । वार्षिक रुपमा सामाजिक परीक्षण, सार्वजनिक सुनवाई, हरेक योजनाहरुमा नियमित अनुगमन, सार्वजनिक लेखा परीक्षण जस्ता अभ्यासहरुको पुर्ण रुपमा अभ्यास भइरहेको छ । सेवा प्रवाह, विकास निर्माणका योजना कार्यक्रम जनमैत्री र प्रविधिमैत्री बनाउदैछौँ । चालु आर्थिक वर्षमा पनि चैत मसान्त भित्र सबै योजना सम्पन्न गर्ने लक्ष्य राखेपनि निर्वाचन र कार्यविधि बनाउन ढिलाइ भएकोले योजना सम्पन्न गर्न निर्धारित समयभन्दा केही ढिलाइ भएको छ । योजनाहरु श्रम सहकारीमार्फत कार्यान्वयन गरिरहेका छौँ । अगामी वर्ष क्यालेण्डर तयार गरेर सोहि अनुसार अगाडी बढ्ने योजनामा छौँ ।

विपद् संकटग्रस्त क्षेत्रमा जोखिम न्यूनिकरणका लागि के काम गर्नुभएको छ ?
नौगाड गाउँपालिकामा वर्षेनी बाढी पहिरोले ठूलो धनजनको क्षति गर्दै आएको छ । सरकारले नौगाड गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपनि कुनै राहतको कार्यक्रम सञ्चालन गरेन् । नौगाड खोलामा पक्की तटबन्धको माग गरिएको छ । बर्खायाम सुरु हुन लाग्दा समेत नदीमा पक्की तटबन्धको व्यवस्था हुन सकेको छैन् । गाउँपालिकाको तर्फबाट बाढी पहिरो पीडितलाई सामान्य राहत वितरण गरिएपनि प्रदेश र केन्द्र सरकारले उपेक्षा गरेको जनगुनासो छ । विपद्बाट बच्नका लागि पुर्वसतर्कता अपनाउन सबै गाउँपालिकाबासीमा अनुरोध गरेका छौँ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?