दार्चुला । नेपालमा पहिलो पटक मंकीपक्स (एमपक्स) को संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा एक जना विदेशी महिलामा मंकीपक्सको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । ६० वर्षीया विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएपछि नमूनाहरु संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा एमपक्स संक्रमण पुष्टि भएको हो ।
सङ्क्रमण पुष्टि भएकी ती विदेशी महिलाको काठमाडौंको एक अस्पतालमा डाक्टरको निगरानीमा उपचार भईरहेको छ । नेपालसहित अहिलेसम्म विश्वका १ सय ११ देशमा यो रोगको संक्रमण देखिएको छ ।
अर्थोपोक्स भाइरस परिवारको मंकीपक्स भाइरसबाट हुने यो रोग मानिसबाट मानिस वा जनावरबाट मानिसमा सर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । सन् १९८० मा मध्य पूर्वी र पश्चिम अफ्रिकामा देखिएको मंकीपक्स त्यसयता निरन्तर देखिइरहेको छ ।
अघिल्लो वर्षदेखि यसले विश्वव्यापी प्रकोपको रूप लिएको छ । मंकीपक्स सङ्क्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरीरका विभिन्न भागमा फोका हुँदै पाप्रा उप्कने, टाउको, ढाड र मांसपेशी दुख्ने,आँखामा सङ्क्रमण भई दृष्टीविहीन हुन सक्ने, निमोनिया हुनेजस्ता लक्षण देखिने र मृत्युसमेत हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ईमेजखबर
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




