दार्चुला । दार्चुलाको लेकम क्षेत्रसहित भदौ ७ गते गौरा नमनाएका सुदूरपश्चिमका विभिन्न ठाउँहरुमा अहिले गौरा पर्वको रौनक चलिरहेको छ । गौरा मनाइरहेका ठाउँमा गौरा अन्तर्गत तेस्रो दिन आज ‘गौरा भित्र्याइदै छ । ब्रतालु महिलाहरुले पञ्चमीको दिन भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर हिजो धोइएको छ । बिरुडा धोएर हिजो ‘नानी गौरा’ मनाएका महिलाहरु आज गौरा घरमा गौरा भित्र्याउने तयारीमा छन् ।

बिरुडाले नै गौरादेवीको पूजाआजा गर्ने चलन छ । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ । गौरादेवीको पूजाआजा गरेपछि साँझ पख मिठोमसिनो खाने चलन रही आएको मालिकार्जुनकी स्थानीय कलावती धामीले बताउनुभयो । बिरुडा र फलफूल सहित ब्रतालु महिलाहरुले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्ने गरेका छन् । दार्चुला र बैतडीका विभिन्न स्थानीय तहले गौरा पर्वको अवसरमा स्थानीय विदा दिएका छन् । दार्चुलाको लेकम गाउँपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका र बैतडीको दोगडाकेदार गाउँपालिका लगायत स्थानीय तहले गौराको अवसरमा भदौ २१ र २२ गते स्थानीय विदा दिने निर्णय गरेका छन् ।

भदौ २१ गते गौराको मुख्यदिन गौराष्टमी अर्थात अठ्यावाली परेको छ । विभिन्न स्थानीय तहले भदौ २१ र २२ गते विदा घोषणा गरेसंगै भदौ २० गतेदेखि २३ गतेसम्म गौराको अवसरमा विदा पाइने भएको छ । २० गते आज श्रीकृष्ण जन्माष्टमी मनाइदैछ । २१ र २२ गते स्थानीय विदा र २३ गते शनिवार परेकोले गौराको अवसरमा लगातार चार दिन विदा पाइने भएको हो । पौराणिककालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वासको आधारमा गौरा महेश्वरको सम्झना स्वरुप गौरापर्व मनाउने गरिन्छ ।

गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् । गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न (गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर) बिरुडा भिजाएका छन् । हिजो विरोडा धोएर नानी गौरा मनाइएको छ । ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको लेकमका स्थानीय सरस्वती जोशीले बताउनुभयो । यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् ।

बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई गौराघरमा भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन मन्दीर वा गौराखलामा लगेर पूजा गर्ने गौरा खेलाउने र सेलाउने चलन रही आएको छ ।

शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने गरिन्छ । गौराको समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धुमारी, फाग लगायतका खेलहरु पनि खेल्ने चलन छ । गौरा सेलाइसकेपछि पनि खेडी, घोडी र लमधोडीको नाममा विभिन्न देबीदेबताका मठमन्दिरमा मेला लाग्ने गरेको छ । गौराको अवसरमा घरभन्दा कामविशेषले टाढा रहेकाहरुसमेत घर फर्किएको र गाउँमा सास्कृतिक डेउडाको माहोल रहेकोले गाउँबस्तीमा चहलपहल बढेको छ ।

https://www.facebook.com/RadioLokdarpan1/videos/1703271276801488

सायद 1 व्यक्ति को फोटो हुनसक्छ

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?