दार्चुला सदरमुकाम खलंगा वरपरका क्षेत्रहरु खलंगा, छापरी, काँटै, धाप र दत्तुलाई समेटेर महाकाली नगरपालिका बनेको छ । २०७३ साल फागुन २५ गते स्थापना भएको महाकाली नगरपालिकामा ९ वडाहरु रहेका छन् । यस नगरपालिकाको पूर्वमा नौगाड गाउँपालिका, पश्चिममा भारत, उत्तरमा दुहँु गाउँपालिका र दक्षिणमा शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिका संग सिमाना जोडिएको छ । २१ हजार बढी जनसंख्या र १३५.११ वर्ग किलोमिटर क्षेत्रफल ओगेटेको महाकाली नगरपालिकामा कृषि उत्पादनको राम्रो सम्भावना छ । यतिबेला प्रस्तुत छ, नेकपा (एमाले) को तर्फबाट स्थानीय तहको निर्वाचनमा महाकाली नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित नरसिंह चैसीरसंग लोकदर्पण मिडियाका अध्यक्ष एबं गोरखापत्र समाचारदाता लोकेन्द्रप्रसाद जोशीले गरेको संक्षिप्त कुराकानीः

नगरप्रमुख ज्यू, महाकाली नगरपालिकाको १३ औँ नगरसभाबाट के के निर्णय गरिए ?
महाकाली नगरकार्यपालिकाको कार्यालय खंलगामा सम्पन्न नगरसभा पञ्चवर्षिय आवधिक योजना पारित, बजेट संशोधन, कार्यपालिकाका निर्णय अनुमोदन लगायतका विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नगरसभामा हामीले १२ औँ नगरसभाले पारित गरेको नीति, कार्यक्रमलाई निरन्तरता दिनेबाहेक केही थप महत्तपूर्ण निर्णय गरेका छौँ । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको छ । १३ औँ नगरसभाले टुहुरा बालबालिकाको अभिलेख व्यवस्थापन गरी निःशुल्क शैक्षिक सामाग्री र पोशाक उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै बेसहारा आमाबुबाको साहारा नगरप्रमुख कार्यक्रम अन्तरगत विगतदेखि राशन दिदै आएकोमा अब ८० वर्षमाथिका बृद्धबृद्धाको अभिलेख व्यवस्थित गर्दै लुगाकपडा र बसाँइ व्यवस्थापनमा समेत नगरपालिकाले सहयोग गर्ने निर्णय गरिएको छ । नगरपालिकाभित्र प्लाष्टिकजन्य पदार्थ न्यूनिकरण गर्ने नीति अबलम्बन गर्ने र निकट भविष्यमा प्लाष्टिकमुक्त नगर बनाउने, डुङरी जलविद्युत आयोजना पुनः सञ्चालन गर्नका लागि विस्तृत अद्ययन प्रतिवेदन तयार गर्ने, खलंगाको खानेपानी सुद्धता र व्यवस्थापनका लागि मिनिरल वाटर प्लाण्ट तयार गर्ने निर्णय गरिएको छ । महाकाली नगरपालिकाको शैक्षिक तथा खेलकुद व्यवस्थापन अन्तरगत अद्ययन र खेल क्षेत्रमा प्रतिभा हुदाहुदै आर्थिक कारणले अघि बढ्न नसकेकाहरुलाई सहयोग गर्न छात्रबृत्ति कोष स्थापना गरी कार्यान्वयनमा ल्याउने निर्णय गरिएको छ । महाकाली नगरपालिकाको आन्तरिक आय अभिबृद्धिका लागि कृषि क्षेत्रमा दुध, माछा, मासु, तरकारी खेतीको व्यवसाय अभिबृद्धि गर्न कार्ययोजना बनाउने लगायत विभिन्न निर्णय गरिएका छन् ।

महाकाली नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण नहुदा पाँच वर्षयता कर्मचारी आवस गृहबाट सेवा प्रवाह भइरहेको छ । भवन निर्माण किन गर्नुभएन ?
हो, महाकाली नगरपालिका स्थापना भएको लामो समय वितेपनि आफ्नै नयाँ प्रशासकीय भवन निर्माण हुन सकेको छैन् । पाँच वर्षदेखि नगर कार्यपालिकाको कार्यालय कर्मचारी आवासका लागि निर्माण भएको तीन ब्लकमध्ये एउटा भवन (ब्लक) बाट सञ्चालनमा छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट पाँच वर्षअघि महाकाली नगरपालिकालाई चार तले उक्त भवन निःशुल्क प्रयोग गर्न उपलब्ध गराइएको थियो । भवन प्रयोगको सम्झौताको अवधि सकिएपछि थप दुई वर्षका लागि भवनको प्रयोगमा दिन महाकाली नगरपालिकाले माग गरेको छ । नगरपालिकाले आफ्नै भवन निर्माण गर्न जग्गा खोजिरहेको छ । महाकाली नगरपालिका कार्यालय तथा निर्माण हुन बाँकी वडा कार्यालय भवन निर्माणका लागि जग्गा खोजि गर्न कार्यदल गठन गरेर काम भइरहेको छ । सदरमुकाम क्षेत्रमा जग्गादाता नभेटिएकोले जग्गाको बैकल्पिक व्यवस्थापन गरेर नगरपालिकाले प्राथमिकताका साथ प्रशासकीय भवन निर्माण गर्ने योजना बनाएको छ ।

सदरमुकामबासीले विगतदेखिको खानेपानी समस्या समाधान नभएको गुनासो गर्दै आएका छन्, खानेपानी समस्या समाधान कहिलेसम्म हुन्छ ?
दार्चुला सदरमुकाम खलंगाको खानेपानी समस्या समाधान गर्न बृहत खानेपानी योजना सञ्चालन गरिएको छ । खलंगा खानेपानी, ढल तथा सरसफाई आयोजनाको सबै निर्माण कार्य केही दिनभित्रै सम्पन्न गर्ने सहमति पनि भएको छ । खलंगा क्षेत्रका २ हजार २८६ उपभोक्ताहरुको धारामा नियमित खानेपानीको आपुर्ति गर्ने गरी झण्डै ३० करोड बजेटमा खलंगा खानेपानी, ढल तथा सरसफाई आयोजना निर्माणको काम भएको छ । सदरमुकाम क्षेत्रमा देखिएको खानेपानी समस्या चाडैं सामाधान हुनेछ ।

फोहोर व्यवस्थापनका लागि के के काम गर्नुभएको छ ?
हामीले हरेक दिन खलंगा बजार क्षेत्रको फोहोर संकलन गरेर किम्तडीस्थित फोहोर व्यवस्थापन केन्द्रमा व्यवस्थापन गर्दै आएका छौँ । फोहोरलाई व्यवस्थित गर्न सचेतना अभियान समेत चलाइरहेका छौँ । अगामी दिनमा नगरपालिकाभित्र प्लाष्टिकजन्य पदार्थ न्यूनिकरण गर्ने नीति अबलम्बन गर्ने र निकट भविष्यमा प्लाष्टिकमुक्त नगर बनाउने निर्णय गरेका छौँ । बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि दैनिक सरसफाई कर्मचारीहरुले काम गर्दै आएका छन् ।

शिक्षा क्षेत्रमा के के काम गर्नुभएको छ ?
पुर्वाधार विकाससंगै शिक्षा क्षेत्रको विकास समृद्धिको आधार भएकोले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । नगरपालिकाभित्र शैक्षिक पुर्वाधार र जनशक्तिको उचित व्यवस्थापन र परिचालन गरि माद्यमिक तहसम्म सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न काम गरिरहेका छौँ । नीजि शिक्षकलाई तलब खुवाउन विगतमा विद्यार्थीबाट चर्को शुल्क लिने गरिएकोमा हामी आएपछि शिक्षक दरबन्दीको व्यवस्था गरेका छौँ र विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरिरहेका छौँ । महेन्द्र नमुना मावि खलंगा, मालिकार्जुन मावि धाप लगायत विद्यालयहरुले उत्कृष्ट ढंगले शिक्षा प्रदान गरिरहेका छन् । नगरभरीका सबै विद्यालयमा प्रविधियुक्त, गुणस्तरीय शिक्षा प्रदानका लागि शिक्षा ऐन अनुसार विभिन्न कार्यक्रमहरु गरिरहेका छौँ ।

नगरपालिकामा समग्र विकासको अवस्था कस्तो छ ?
विकास निर्माणका थुप्रै काम भएका छन् । प्रतेक वडाका अधिकासं विकट क्षेत्रहरु सडक सञ्जालमा जोडिएका छन् । विद्युत विस्तारको काम लगभग पुरा भएको छ । शिक्षामा पुर्वाधार निर्माण र मानविय जनशक्ति व्यवस्थापन, माद्यमिक र आधारभुत विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । स्वास्थ्य क्षेत्र सुधारका लागि पनि कामहरु भइरहेका छन् । कृषि उत्पादनको क्षेत्रमा कृषकलाई प्रोत्साहन गर्दै आएका छौँ । २०७० सालको बाढीले बगाएदेखि खेलमैदानको अभाव झेल्दै आएकोमा शिवनगरमा खेलमैदान निर्माण गरिएको छ । पर्यटकीय पुर्वाधारहरु निर्माण भइरहेका छन् । जनताको सबै अपेक्षा र आवश्यकता पुरा गर्न नसकेपनि हामीसंग भएको स्रोतको अधिकतम सदुपयोग हुनेगरी आधारभुत कामहरु प्रभावकारी ढंगले गरिरहेका छौँ ।

शुसासनका लागि के काम गर्नु भएको छ ?
सुशासनको क्षेत्रमा हामी अभ्यासरत छौ । हामीले प्रतेक वडामा नागरिक वडापत्रहरु राखेका छौ । नगरपालिकामा डिजिटल वडापत्रको व्यवस्था गरेका छौ । सार्वजनिक कार्यक्रम गर्नुपुर्व रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल मार्फत प्रतेक नागरिकसम्म जानकारी पुगोस भन्ने उद्धेश्यले सूचनाहरु सम्प्रेषण गरिरहेका छौ । प्रतेक वडा र नगरपालिकाको सार्वजनिक सुनुवाई र सामाजिक परिक्षण कार्यक्रम गर्दैआएका छौ । जनमैत्री सेवा प्रवाह तथा बढीभन्दा बढी जवाफदेही र पारदर्शी हुने ढंगले ऐन नियमको पालना गर्दै कामहरु गरिरहेका छौँ ।

अन्तमा, महाकालीलाई समृद्ध बनाउने योजना के के छन् ?
सडक पुग्न बाँकी गाउँहरुलाई सडक सञ्जालमा जोड्दै खुलेका सडकका ट्रर्याकहरुलाई ग्राभिल र कालोपत्रे गरेर बाह्रै महिना सञ्चालन हुने बनाउनुपर्नेछ । खानेपानी प्रतेक घरधुरीमा पुगोस, खेतियोग्य जमिनमा सिचाई सुविधा होस भन्ने ढंगले काम गरिरहेका छौँ । शिक्षामा गुणस्तर सुधारका लागि दिर्घकालिन सोचका साथ काम गरिरहेका छौँ । कृषि, पर्यटन र खेलको क्षेत्रमा पनि थुप्रै कामहरु गर्ने योजना छन् । रोजगारी र स्वरोजगारी सिर्जनामा कामहरु गर्नुपर्नेछ । पुर्वाधार विकास र समाजिक विकासका हरेक क्षेत्रमा काम गरेर समृद्ध महाकाली, सुखी महाकालीबासी बनाउने योजना अन्तरगत नै काम गरिरहेका छौँ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?