दार्चुला सदरमुकाम खलंगा देखि २३ कोष टाढा रहेको अपिहिमाल गाउँपालिकाभित्र साविकको खण्डेश्वरी र घुसा गाविस पुरै र गुल्जर र शितोला गाविसको केहि भाग समेटेर ६ वडामा विभाजन गरिएको छ । ६१३.९५ बर्ग किलोमिटर क्षेत्रफल रहेको गाउँपालिकाको पुर्वमा बझाङ जिल्ला, पश्चिममा नौगाड गाउँपालिका, दक्षिणमा मार्मा गाउँपालिका र उत्तरमा व्यास गाउँपालिका रहेका छन । करिब सात हजार जनसंख्या रहेको अपिहिमाल गाउँपालिका सुदूरपश्चिमकै अग्लो हिमाल अपिहिमाल सहित नाम्पा, कापचुली र जेठी बौरानी लगायत हिमालहरु, सुर्मासरोबर, शिद्ध मकरीकोट, क्षत्ती, खात्ती, चमेलियाको मुहान लगायत सम्पदा अवस्थित छन् । भौगोलिक विकटतासंगै विविधतायुक्त अपिहिमालमा कृषि जडिबुडी र पर्यटनको प्रचुर सम्भावना रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को तर्फबाट स्थानीय तहको निर्वाचनमा अपिहिमाल गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भक्तसिंह ठेकरे बोहरा बौद्धिक युवा नेताको रुपमा चिनिनुहुन्छ । यसै सन्दर्भमा प्रस्तुत छ, अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरासंग गरिएको संक्षिप्त कुराकानी:
१. अपिहिमालमा विकासको अवस्था कस्तो छ ?
अपिहिमाल दार्चुलाको विकट र सुदूरपश्चिमको अन्तिम गाउँपालिकाको रुपमा रहेको छ । दुर्गम हुदाहुदैपनि थुप्रै सम्भावना बोकेको गाउँपालिका पनि हो । अग्लो हिमाल अपि, जडिबुडी र जलस्रोतको हिसाबले सम्पन्न अपिहिमालमा चुनौती संगै अवसर पनि छ । सम्भावनाहरुलाई खोल्नका लागि हामी निर्वाचित भएर आइसकेपछि समग्र विकास निर्माणको कामलाई अघि बढाउन खोजिरहेका छौँ । खासगरी कृषि र पर्यटकिय क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पुर्वाधारतर्फ सडक सञजाललाई जोड्न प्रयत्नशिल छौँ । विद्युतको राष्ट्रिय प्रसारण जोड्न काम भइरहेको छ । भौतिक, सामाजिक र आर्थिक विकासका लागि योजनाबद्ध ढंगले अघि बढिरहेका छौँ । पर्यटन विकास हाम्रो प्राथमिकतामा छ ।
सडक र विद्युतको पहुँच विस्तारमा ढिलाइ किन भइरहेको छ?
भगौलिक रुपमा कठिन चट्टानी भू–भाग भएकोले गाउँपालिकाको बजेटबाट ठूला पुर्वाधारका योजना निर्माण गर्न सम्भव छैन् । अहिले मकरीगाडबाट पालिकाको केन्द्र खण्डेश्वरी जोड्न सडक निर्माण भइरहेको छ तर केन्द्र र प्रदेश सरकारले प्रयाप्त बजेट विनियोजन नगर्दा अपेक्षित प्रगति हुन सकेको छैन् । छिट्टै गाउँपालिकाको केन्द्रसम्म सडक पुर्याउने गरी पहल गरिरहेका छौँ । विद्युतको राष्ट्रिय प्रसारण लाइन नपुगेको भएपनि स्थानीय माइक्रोहाइड्रो (लघुजलविद्युत) बाट चार वडामा विद्युत बलेको छ । गाउँपालिकाभरी राष्ट्रिय प्रसारण लाइन छिट्टै विस्तार गर्ने गरी विद्युत प्रोजेक्टमार्फत काम भइरहेको छ ।
केन्द्र र प्रदेश सरकारसंग समन्वय कस्तो छ ?
खासगरी संघियताको तीन महत्तपूर्ण निकाय संघ, प्रदेश र स्थानीय सरकार सहअस्तित्त, समन्वय र सहकार्यबाट चल्नुपर्ने हो । तीनै तहको उद्धेश्य स्थानीय जनतालाई सेवा सुविधा दिने नै हो । तर संघीय र प्रदेश सरकारमा पुरानो ढर्राको बजेट बन्ने, प्रभावशाली नेताहरुकै क्षेत्रमा बजेट जाने र दुर्गम क्षेत्रलाई बजेटबाट विभेद हुने गरेको छ । जनसंख्यालाई आधार मान्दा दुर्गम क्षेत्रमा न्यून बजेट आउने गरेकोले राज्यले जनसंख्याका साथसाथै भूगोललाई पनि आधार मानेर लगानी गर्नुपर्ने आवश्यकता छन् । केन्द्र र प्रदेशले दुर्गम तथा विकट क्षेत्रलाई हेर्ने नजर र गर्ने व्यवहार सच्चिनु आवश्यक छ ।
बेरोजगारीका कारण युवाहरु विदेश पलायन भइरहेका छन । युवा रोजगारी सिर्जनाका लागि तपाइको योजना के छ ?
यो नेपालकै समस्या हो । नीतिगत रुपमै हल गर्नुपर्छ । रोजगारी सिर्जनाको लागि नेपालको प्रमुख क्षेत्र पर्यटन क्षेत्र नै हो । हिमाल, प्राकृतिक स्रोत साधन र सम्पदा भएको हाम्रो जस्तो पालिकामा सडकको पहुँच, पदमार्ग, पर्यटकीय क्षेत्र निर्माण गरेर विदेशीहरु सजिलै भित्र्याएर युवा रोजगारी सिर्जना गर्न सकिन्छ । रोजगारीको अर्को क्षेत्र भनेको कृषि हो । अपिहिमालमा पाइने जडिबुडीहरुको प्रशोधन गर्न सकियो भने धेरैलाई रोजगारी दिन सकिन्छ । अहिलेपनि नेपालको जडिबुडी सस्तो मूल्यमा विदेशीने र औषधी बनेर महगोंमा नेपालमै भित्रिने अवस्था छ । प्रशोधन नेपालमै गर्न सके किसानले दुई तीन गुणा बढी मूल्य पाउनेछन् ।
गाउँपालिकाको स्रोत साधनले ठूला आयोजना बनाउन सम्भव छैन् । परम्परागत सोच नेपालको समस्या हो । ऐन परिवर्तन गरेर समयसापेक्ष बनाउन सके, जल, जंगल, जडिबुडी र खानीहरुको उपयोग गर्न कसे मात्रै समृद्धि सम्भव छ । नीतिगत समस्याले लगानीमैत्री वातावरण सिर्जना हुन सकेको छैन् । काठ कुहिएर गइरहेको छ । अपिहिमालमै रहेका तामा, सिसा, फलाम खानी थन्किएका छन् । राष्ट्रकै नेतृत्वको नजर सशक्त बन्नुपर्छ ।
पर्यटन प्रवद्र्धनको लागि अपिहिमालका विशेषता के के हुन ?
अपिहिमाल गाउँपालिका प्राकृतिक रुपमा निकै सुन्दर छ । सुदूरपश्चिमकै सबैभन्दा अग्लो ७,१३२ मिटरको अपिहिमालका साथै छ हजार मिटर माथिका १६ हिमाल हाम्रो गाउँपालिकामा पर्छन । नेपालको सस्तो र छोटो पर्यटकिय गन्तब्यका रुपमा अपि बेसक्याम्प घुम्न सकिन्छ । काठमाण्डौँबाट एक हप्ताकै प्याकेजमा पुग्न सकिने बेसक्याम्पसको यात्राका क्रममा मल्देशी संस्कृति, होमस्टे, स्थानीय खानाका परिकार, अपिनाम्पा संरक्षण क्षेत्र भएकोले दुर्लभ हिमाली जीवजन्तु, पवित्र चमेलिया नदीको मुहान, कालिढुंगा ताल, नाम्पा बेसक्याम्प, हिमाल फेदका पाटनहरु हेर्न र घुम्न सकिन्छ । पदमार्गमा पर्यटकीय आधारभुत पुर्वाधार निर्माण गरिएका छन् । झण्डै साढे चार किलोमिटर शिद्ध मकरीकोट पदमार्ग, १६ किलोमिटर लामो खायकोट पदमार्ग, बिचबिचमा बिश्राम केन्द्रहरु, खाना, बाँसको राम्रो सुविधासहित पर्यटकीय आवास गृहहरु निर्माण गरिएका छन् । ठाउँठाउँमा पर्यटकीय सूचना बोर्डहरु राख्नुका साथै मकरीकोटमा पर्यटकीय सूचना केन्द्र समेत स्थापना गरिएको छ । कोशेली घरबाट स्थानीय उत्पादन समेत किन्न सकिने र स्वर्गीय आनन्दको अनुभुति गर्न सकिने भएकोले अपिहिमाल एक पटक पुग्नैपर्ने पर्यटकिय गन्तब्यका रुपमा रहेको छ । यो वर्ष ५ हजार पर्यटक अपि वेस क्याम्प पुर्याउने लक्ष्य लिइएको छ ।
शिक्षा क्षेत्रको विकासका कार्ययोजना के के छन ?
शिक्षा सामाजिक विकासको मेरुदण्ड पनि हो । विद्यालयहरुलाई भौतिक पुर्वाधारले सम्पन्न गर्ने योजना छ । कक्षागत र विषयगत दरबन्दी दिइएको छ । शिक्षकलाई तालिम दिने, कक्षाकोठा सुधार गर्दै प्रविधिमैत्री कक्षा निर्माण गर्ने, डिजिटल मैत्री पठनपाठन गर्ने काम गरिरहेका छौँ । विद्यालयमा आधारभूत रुपमा सिक्नुपर्ने कुराहरु वाल पेन्टीङ गर्न खोजिरहेका छोँ ।
स्वास्थ्य क्षेत्रको अवस्था कस्तो छ ?
दुर्गम पालिका भएको कारणले आधारभुत स्वास्थ्य सेवा बाहेक विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न सकिरहेका छैनौँ । हामीसंग दुई वटा स्वास्थ्य चौकी र अन्य चारवटा सामुदायिक स्वास्थ्य केन्द्र र केही बर्थिङ सेन्टरबाट स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ । सडकमार्गबाट एम्बुलेन्स सेवा प्रदान गरिएको छ । १० शैय्याको अस्पताल निर्माणाधीन अवस्थामा रहेकोले भवन निर्माण सम्पन्न भइसकेपछि पालिकाबाटै विशेषज्ञ चिकित्सकसहितको सेवा दिने तयारी गरिरहेका छौँ । बेलाबेला स्वास्थ्य शिविर आयोजना गरेर सेवा प्रदान गरिरहेका छौँ ।
सुद्ध खानेपानी पहुँचको अवस्था कस्तो छ ?
हाम्रो गाउँपालिकामा सबैभन्दा राम्रो उदाहरणको रुपमा सुद्ध एक घर एक धारा खानेपानी उपलब्ध छ । ९० प्रतिशत बढी घरधुरीमा धारा निर्माण गरेर खानेपानी, सरसफाइ, करेसाबारी व्यवस्थापन गरिएको छ । घरघरमा धारा बन्न बाँकी दुई गाउँमा समेत अगामी वर्षभित्र एक घर एक धारा निर्माण गरिसक्ने योजना छ ।
स्थानीय तहमा काम गर्दा चुनौतीहरु के के छन ?
स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । मानिसका दिनानुदिनका समस्या पालिकासम्म पुग्ने गरेका छन् । पालिकामा आर्थिक स्रोत साधनको अभाव हाम्रो प्रमुख समस्या हो । सीमित स्रोत साधनबाट समेत जनताका समस्या समाधान गर्न प्रयत्नशील छौँ । युवा स्वरोजगार कोषसंग मिलेर सस्तो व्याजदरमा रिण उपलब्ध गराउने प्रयास गरिरहेका छौँ । अपिमा चुनौतीसंगै अवसर पनि छन् । अपिहिमालमा पर्यटन प्रवद्र्धन गर्न सक्यौँ भने सुदूरपश्चिमकै विकासको मोडेल बनाउन सकिन्छ । सबै संघ संस्था, स्थानीयहरु, प्रदेश र संघ सरकारका साथै सरोकारवालाहरुको साथ सहयोगको अपेक्षा छ । सबैसंग हातेमालो गरेर निकट भविष्यमै सुन्दर, समृद्ध र विकसित अपिहिमाल बनाउन सकिनेमा विस्वस्त छु ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




