एक समय थियो, चौतारीमा बसेर बुढापाकाले घाम ताप्दै नयाँ पुस्तालाई गाउँकै कथा सुनाउँथे । चाडपर्वको बेला युवाहरु भेला भएर रमाइलो गर्दै डेउडा गीत घन्कीन्थे । गाउँमा कुनै समस्या पर्दा गाउँको बलियो खम्बा भएर युवाहरु उभिन्थे । गाउँमा हुने विकास निर्माण लगायतका धार्मिक कार्यक्रमहरुमा युवाहरुको हुल, जमात देखिन्थ्यो । युवा गाउँमा हुँदा गाउँ आफैमा सुरक्षित र सन्तुलित हुन्थ्यो । केही समस्या पर्दा युवाहरु अगाडी आउथे । मर्दा पर्दा गाउँमा युवा छन् जसरी नि गर्छन भन्ने आश हुन्थ्यो । तर, ती दिनहरू अब केवल सम्झनामा सीमित हुँदै गएका छन्।

आज गाउँको खेतबारी बाँझो छ । युवाहरु भेला भएर बस्ने चौर-चौतारी, खेल्ने ठाउँहरुमा बनमारा पलाएको छ । हिजो बच्चाहरु खेल्ने ठाउँ आज खण्डहर, सुनसान छन । युवाका पैतलाका केही थान डोबहरु लिएर गाउँ पर्खाइमा बसिरहेको छ ।

ढोका बन्द गरिएका घरहरु ढोका खुल्ने पर्खाइमा छन, गाउँका गल्लीहरूमा न बालबालिका खेलिरहेका देखिन्छन, न युवाहरूको हुल देखिन्छ । गाउँ उजाड बन्दै गएको छ। यस्को एक मात्र कारण—गाउँ छोड्नेहरु गाउँ फर्किएका छैनन्।

हजारौं युवा गाउँ छाडेर शहर वा विदेश गएका छन्, तर फर्कने निकै कम छन् । फर्कन चाहनेहरू पनि किन फर्कने भन्ने प्रश्नको उत्तर पाउँदैनन् । सहरमा सुविधाहरू छन्, विदेशमा अवसर छ, गाउँमा के छ? युवाहरुको गाउँलाई यहि प्रश्न छ ।

गाउँमा रोजगार छैन । गाउँको अन्नले गाउँ मात्र होइन, वरपरका बस्तीहरू पनि भरिन्थे। तर, आज गाउँका उब्जनी बारी नै बाँझिएका छन् । बुढाबुढीले मात्र खेत जोत्न सक्दैनन्। त्यस्मा पनि अनेकौ समस्याहरु छन् । गाउँमै किन र कसरी बस्ने भन्ने प्रश्नले गाउँमा भएका युवाहरु पनि पलायनको पर्खाइमा छन् ।

विदेशले सपना देखाइदिएको छ । गाउँमा खेत जोत्न १०० दिन खटिनुभन्दा विदेशमा १० दिन काम गरे पुग्छ, भन्ने सोच बनिसकेको छ। गाउँमा सानो पसल खोल्न जति लगानी गर्नुपर्छ, त्यति पैसामा शहरमा कोठा भाडामा लिएर बसे पुग्छ भन्ने भान पलाएको छ । गाउँ फर्केर संघर्ष गर्नेभन्दा बाहिरै बसेर सजिलै कमाउने सोचले गर्दा गाउँ फर्किने दर घट्दै गएको छ।

गाउँमा विद्यालहरु छन् तर गुणस्तरिय शिक्षा छैन् । सडक छ त हिड्न लायक छैन्। अस्तपाल भवन बनेका छन् बन्दै छन् तर चिकित्सक र औषधी छैन् । यस्का साथै दुई छाक टार्न र एक सरो लुगाको जोहो गर्न प्रयाप्त रोजगारीको अवसर छैन। यसरी आधारभूत आवश्यकताहरू पूरा गर्न छोडेको गाउँ कसरी फर्कने ?

ग्रामीण बस्तीहरू दिनप्रतिदिन शून्य बन्दै गइरहेका छन्। युवा विहीन गाउँहरू उजाड देखिन्छन, खेतीबारी बाँझिँदै गएका छन् । गाउँको सामाजिक संरचना खण्डहर बन्दैछ, भाषा, संस्कार र संस्कृतिमा ठुलो असर परिरहेको छ । चाडपर्व मनाउने शैली नचाहादा नचाहदै परिवर्तन भइरहेको छ । पुर्खाको विडो (बिरासत) थाम्ने युवाहरु गाउँमा छैन्न । गाउँमा भएका बुढापाखाहरु गाउँको संस्कार, संकृती अगाडी बढाउन सक्ने अवस्थामा छैनन् र त संस्कार हराउदै गएको छ, संस्कृति परिवर्तन हुदै गएको छ, चाडपर्व मनाउने शैली परिवर्तन हुदै गएको छ। समग्रमा गाउँको अस्तित्व सकिदै गएको छ।

“मलाई अहिले पनि राम्रो संग याद छ आज भन्दा ८/१० बर्ष पहिले गाउँमा हुने मुख्य पर्वहरु जात्रा, गौरा, तिहारमा युवाहरुको हुल हुन्थ्यो एक गाउँबाट अर्काे गाउँ पर्व मनाउन जानेहरु जमात लिएर जान्थे, टाढा टाढा सम्म सयौ युवाहरु दमाहा बोकेर हिड्दै जान्थे, पछिल्लो ८/१० बर्ष मै यी कुराहरु यती परिर्वतन भए कि मैले सोचेको पनि थिएन। चाडपर्व मनाउन युवाहरु बर्षको एक चोटी भए पनि गाउँ फर्किन्छन तर त्यो पहिलाको जस्तो युवा जोश, जागर छैन, संस्कृति प्रतिको माया, लगाव छैन, संस्कृति जोगाउनु पर्छ भन्ने सोच र उत्साह नै छैन ।”

कतिपय विदेश गएका युवाहरू गाउँ फर्कन चाहन्छन्। तर, उनीहरूलाई प्रश्न सोधिन्छ— “विदेशको राम्रो जागिर छोडेर किन फर्कने”? गाउँ फर्केर व्यवसाय गर्न खोज्दा समाजले नै निरुत्साहित गर्छ। “विदेश गएको मान्छे गाउँमा गाई पाल्न बस्नुपर्छ र?” गाउँ फर्केका केहीले व्यवसाय गर्न खोजे बजार अभाव छ। अहिलेको अवस्थामा गाउँ फर्किनेहरू समाजको प्रशंसा पाउँदैनन्, उल्टै प्रश्नको शिकार बन्ने अवस्था छ। “विदेशमा कमाएर शहरमा घरजग्गा किन, बालबच्चालाई राम्रो स्कुलमा राख गाउँमा बसेर के हुन्छ?” भन्ने सल्लाह दिनेहरू पनि गाउँमै छन् ।

वैदेशिक रोजगारी र शहरप्रतिको आकर्षणले गर्दा गाउँहरूबाट युवा पलायन उच्च छ, तर फर्कनेको संख्यामा न्युन छ । गाउँबाट हिँडेका युवाहरू फर्किनै नचाहने प्रवृत्ति बढ्दै जानु केवल व्यक्तिगत निर्णय मात्र होइन । सामाजिक र राष्ट्रिय चुनौती समेत हो । अहिले नेपालमा तीन तहका सरकार छन् तर कुनै पनि सरकारले युवा लक्षित कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सकिरहेका छैन्न। यस्मा सबै भन्दा बढी जिम्मेवार स्थानीय सरकासंग नत गाउँ फर्कनेहरुका लागि स्पष्ट योजना छन् न गाउँ नर्फकिनेहरुको लागि कुनै योजना छ ।

गाउँ छोड्ने प्रमुख कारण रोजगारीको अभाव हो । कृषिलाई मात्रै आधार बनाएर गाउँमा टिक्न सक्ने अवस्था छैन । युवाहरूका लागि गाउँमा कुनै दीर्घकालीन रोजगारीको आधार नभएपछि उनिहरू शहर वा विदेश जाने निर्णय गर्नु स्वभाविक पनि हो ।

तीन तहका सरकारले रोजगारी शृजनाका लागि योजना त बनाएका छन् । तर योजना कार्यान्वयनको पाटो कमजोर हुँदा ति योजना गाउँ रित्तिए पछि मात्रै कार्यान्वय हुने देखिन्छन । गाउँमा शिक्षा, स्वास्थ्य, यातायात जस्ता आधारभूत सुविधाको कमीले पनि युवा फर्कन चाहँदैनन्। राम्रो शिक्षा लिन शहर जानुपर्छ, उपचारका लागि टाढासम्म धाउनुपर्छ, र संचार तथा यातायातको सीमितताले गाउँलाई पछौटे ठाउँका रूपमा चित्रित गर्छ। यस्को जल्वन्त उदाहरण ग्रामीण क्षेत्रका सडकलाई हेरे पुग्छ । यहाँका सडकमा यात्रा गर्दा मुटु हातमा लिएर हिड्नु पर्छ । गाउँमा शिक्षाको अवस्था नाजुक छ। शिक्षकहरु पढाउनको लागि मात्रै पढाउछन, विद्यार्थीले पढ्नको लागि मात्रै पढ्छन् । पढेको शिक्षाले भोली कहाँ गएर के गर्ने विद्यार्थीलाई थाँहा छैन । स्वास्थ्यको अवस्था उत्तिकैै खराब छ । अस्पताल भवन छन, स्वास्थ्य कर्मी र औषधी छैन ।

यिनै अस्वस्थाले गाउँलाई पछौटे, अवसरविहीन र अशिक्षितहरूको थलो भन्ने मानसिकता बनिरहेको छ। युवा पुस्ताले गाउँलाई आफ्नो भविष्यको आधार ठान्दैनन् । बरु शहर र विदेशमै स्थायी हुने सोच बनाउँछन् ।

विदेशमा कमाएको पैसा गाउँमा लगानी गर्नु भन्दा शहरी क्षेत्रमा घरजग्गा किन्ने प्रवृत्ति बढेको छ । यस्मा धेर थोरै असर देखासिकीले पनि पारेको छ। फलानाले तराइमा यत्ती जग्गा किन्यो, यस्तो घर बनायो, यत्ती कमायो, यो प्रवृतीले पनि गाउँमै भएका युवाहरु पनि बस्न सक्ने अवस्थामा छैनन्। समाज वा परिवारले युवाहरुको मानसिक र सामाजिक सोच नै परिर्वतन गर्न बाध्य पारि दिएका छन् ।

विदेशमा बसीबसी पनि आय हुने सम्भावना देखेपछि गाउँ फर्कनुको कुनै आवश्यकता देख्दैनन् । सके विदेशमै स्थायी बसोबास गर्ने नसके नेपालकै शहर वा तराईमा जसरी पनि बसोबास गर्ने हरेक युवाको सोच वा चाहना नै बनि सकेको छ । त्यो अहिलेको समाजले सिर्जित गरेको अवश्यकता पनि हो । ग्रामीण क्षेत्रको विकास सरकारको प्राथमिकतामा परेको देखिँदैन ।

नीतिगत तहमा युवालाई गाउँमै रोक्ने दीर्घकालीन योजना बनाइएको छैन। पूर्वाधार निर्माण सुस्त छ, विकास योजनाहरू अलपत्र छन् र सरकारी स्तरबाट युवालाई गाउँमा पुनःस्थापित गर्न पर्याप्त पहल भएको छैन ।

बाँझो खेतबारी, संस्कृति र परम्पराको लोप
गाउँका अधिकांश खेतबारी बाँझो छन्। काम गर्ने युवा छैनन्, बुढाबुढीले मात्र सम्हाल्न सक्दैनन्। यसले आत्मनिर्भर अर्थतन्त्र कमजोर बनाउँदै लगेको छ। गाउँलाई मात्रै नभएर यस्ले देशलाई नै दीर्घकालीन असर गरिरहेको छ। गाउँको उत्पादन घट्दा आयात बढाउनु पर्छ, आयात बढ्दा अर्थतन्त्रमा प्रतक्ष्य असर परिरहेको छ । स्थानीय रैथाने बालिहरु लोप हुने अवस्थामा छन ।

पहाडी तथा हिमाली गाउँहरूको छुट्टै विशेष सांस्कृतिक सम्पदाले भरिपूर्ण छन्। तर, युवा नहुँदा संस्कृति हराउँदै गएको छ। पर्व, चाँडबाँड, जात्रा, र स्थानीय परम्पराहरूमा पहिले जस्तो उत्साह देखिँदैन । भएका केही थान बुढापाकाले सकि नसकि प्रक्रिया पुरा गरिरहेका हुन्छन । नयाँ पुस्ताले पर्वको महत्व बुझेका छैनन्। थुप्रै कुराहरु परिवर्तन भइसकेका छन।

भाषा भेषभुसामा आधुनिकता भित्रिएको छ। सहरमा बसेर पढेको बच्चाले गाउँको भाषा जान्दैन उस्लाई गाउँको भाषा सिकाउनु नै हुदैन भन्ने अभिभावकको मानसिकता छ। भित्रिदो बाह्य संस्कृतिले मौलिक संस्कृतिलाई मासिरहेको छ। गाउँमा युवावर्ग नभएपछि सामाजिक संस्थाहरू पनि कमजोर भएका छन्। स्थानिय संरचना, सामुदायिक सहकार्य र आपसी मेलमिलापको भावना क्रमशः हराउँदै गएको छ।

अबको बाटो
अबको मुख्य प्रश्न भनेको गाउँमा युवालाई कसरी फर्काउने भन्ने हो। केवल भावनात्मक आह्वा गरेर मात्रै युवालाई गाउँ फर्काउन सकिने अवस्था छैन । यसका लागि ठोस नीतिगत सुधार, अवसर सिर्जना र संरचनागत विकास आवश्यक छ। गाउँमा कृषि, पर्यटन तथा साना उद्योगहरू स्थापना गरेर रोजगारी सिर्जना गर्न सक्नु पर्छ । आधुनिक कृषि प्रणाली तथा पशुपालन यस्को प्रमुख विकल्प बन्न सक्छन र यस्मा युवाहरुलाई प्रोत्साहन गर्नुपर्छ । स्थानीय उत्पादनलाई बजारसँग जोडेर कृषिमा दीर्घकालीन आकर्षण सिर्जना गर्न तिनै तहका सरकारले तदारुकता देखाउनुपर्छ । विदेश वा शहर गएकालाई गाउँ फर्केर लगानी गर्ने, उद्यमशील बन्ने र समुदायको नेतृत्व गर्ने अवसर दिन सकियो भने पुन उजाड गाउँहरु सम्हालिन सक्छन।

अब हामीले सोच्नुपर्छ—के हाम्रो गाउँ साँच्चै लोप हुने दिन पर्खने ? कि फेरि एकपटक गाउँलाई जीवित बनाउने सपना देख्ने ? अब निर्णय हाम्रो हातमा छ। युवाहरू गाउँ नफर्के गाउँको अस्तित्व संकटमा पर्न सक्छ । केही गाउँहरू अहिले नै प्रायः निर्जन भइसकेका छन् र अरू पनि सोही दिशामा गइरहेका छन्। अब युवालाई गाउँमा आकर्षित गर्न दिगो नीति, लगानी र जागरूकता आवश्यक छ।

गाउँको भविष्यमै प्रश्न उठ्ने समय नआओस्, अब जाग्ने बेला यही हो । गाउँ उजाड हुँदा हाम्रो पहिचान, संस्कार, संस्कृति र पुर्खाको मेहनत पनि गुमिरहेको छ। हामीले समयमै सोचेनौँ भने गाउँहरू केवल हाम्रो सम्झनामा मात्र बाँकी रहनेछन्। त्यसैले, गाउँ फर्कनु केवल विकल्प होइन, हाम्रो भविष्यको आवश्यकता हो । त्यसैले गाउँ फर्क युवा हो, गाउँ फर्क …

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?