दार्चुला । डोटीमा यात्रुबाहक बोलेरो जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ उडीतोलास्थित भित्री सडकमा जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बगलेकबाट जिल्ला सदरमुकाम सिलगढी आउँदै गरेको लुप्र. ०१ ००१ च. ०२४४ नम्बरको जीप बुधवार बिहान दुर्घटना भएको हो । गाडीको ब्रेक फेल भएको बताइएको छ ।
दुर्घटनामा सायल गाउँपालिका वडा नम्बर ४ भल्मा बस्ने २५ वर्षकी पदमा बिष्ट, सायल गाउँपालिका वडा नम्बर ३ कचाली बस्ने ६० वर्षकी हरु बयाडी, सोही ठाउँका २१ वर्षका यदु बयाडी घाइते भएका छन्।
त्यस्तै, पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ ठाकरा बस्ने ३५ वर्षका गोविन्द ओली, सोही ठाउँकी ४० वर्षकी कुन्ती नेपाली, ४० वर्षकी हर्कादेवी साउँद, ४० वर्षकी कलु साँउद ,५० वर्षकी गोलमादेवी दमाई र ३०वर्षका बाजी दमाई घाइते भएका छन्।
घाइतेहरूको उपचार जिल्ला अस्पताल सिलगढीमा भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्रकुमार पालले जानकारी दिनुभयो ।




