दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित छाङरुसम्म जोखिमपूर्ण घोरेटो बाटोको काम तिब्र गतिमा भइरहेको छ । व्याँस–२ दुम्लिङदेखी व्याँस–१ छाङरुसम्म निर्माणाधीन घोरेटो बाटोको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
देशकै दुर्गम छाङरु र टिंकर गाउँ तथा आसपासको भौगोलिक क्षेत्रलाई जोड्ने उद्देश्यले जेठ महिनाबाट निर्माण सुरु गरिएको उक्त पैदलमार्गको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनी मिशन–देवहरी जेभीका निर्माण व्यवसायी केशव बहादुर पालले जानकारी दिनुभयो । ‘असारभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित हामीले काम सुरु गरेका छौँ’ पालले भन्नुभयो, ‘हालसम्म करिब ९० प्रतिशत निर्माण सकिएको छ।’ हाल कामलाई तिव्रता दिन पाँच वटा समूहमा विभाजन गरेर १३० जनासम्म मजदुरहरु बाटो निर्माणमा खटिएका छन् । विशेष गरी अत्यन्तै अप्ठ्यारो र पूर्णरूपमा बाटो नभएका स्थानलाई प्राथमिकतामा राखेर काम भइरहेको पालले बताउनुभयो ।
महाकाली नदी माथि डोरीमा झुण्डिएर कडा चट्टानी भाग खोपेर ड्रिल गर्दै श्रमिकहरुले दिनभर काम गरिरहेको काममा खटिएका जनक धामीले बताउनुभयो । सबैभन्दा चुनौतीपूर्ण रहेको माल्पा भीर क्षेत्रमा पनि निर्माण कार्य लगभग सम्पन्न भइसकेको र एक–दुई दिनमै पूर्णरूपमा बाटो बन्ने उहाँले बताउनुभयो । छाङरुदेखि दुम्लिङसम्मको ३१ किलोमिटर क्षेत्र भित्रको पैदलमार्ग निर्माणका लागि दार्चुलाबाट निर्वाचित संविधानसभा सदस्य तथा पूर्णमन्त्री गणेशसिंह ठगुन्ना, हरदेब जोशीसहित दार्चुलाका नेताहरुको पहल तथा गाउँपालिका र स्थानीयको माग अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा संघीय सरकारले व्याँस गाउँपालिकालाई पाँच करोड ५० लाख बजेट पठाएको थियो । नेता ठगुन्नासहित सरोकारवालाहरुले प्राप्त बजेटसंग थप श्रम अभियान जोडेर वैशाखको कुञ्चा सर्नुभन्दा पहिले नै उक्त बाटो खुलाउने प्रयास गरेपनि कानूनी अड्चन आउनसक्ने भन्दै सोही बजेटबाट ठेक्का प्रक्रियामार्फत निर्माण कार्य भइरहेको हो । अहिले पनि नेता ठगुन्नाले पटकपटक कामको प्रगति बारे चासो राख्दै फलोअप गरिराखेको र निर्माण व्यवसायी र श्रमीकलाई धन्यवाद ज्ञापन गरिरहेको उहाँले बताउनुभयो । पूर्व प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, वडाअध्यक्ष अशोकसिंह बोहरा, योगेश बोहरा लगायत व्याँसका स्थानीय नेता र समाजसेवीहरु श्रमिक र निर्माण व्यवसायीसंगै खटिएर हौसला प्रदान गरिरहेका छन् ।
हालसम्म माल्पा भीर, अपिखोला, घाटीबगड, थी, तम्बाकु र घोप्टे लगायतका क्षेत्रमा काम सम्पन्न भएको छ भने दोपखेभन्दा तलका केही स्थानमा निर्माण कार्य जारी रहेको ठेकेदार केशव पालले बताउनुभयो । नेपालबाट छाङरु र टिंकर पुग्न पैदल बाटोसमेत नहुँदा स्थानीयहरू भारतको बाटो प्रयोग गर्न बाध्य छन् । स्वदेशबाट गाउँ जाने बाटो नहुदा सास्ती भोग्दै पैसा तिरेर भारतीय बाटोको प्रयोग गर्नुपर्ने व्याँसबासीको बाध्यता अन्त्य गर्न बाटो निर्माणको काम भइरहेको वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । छाङरु र टिकंरमा करिब २०० परिवारको बसोबास रहेकोमा विशेषगरी व्याँसवासीले कुञ्जा सार्दा भारतीय मार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेकोमा अब नेपालकै बाटो भएर सहज आवतजावत हुने सम्भावना बढेको छ। व्याँस गाउँपालिका र मिशन–देवहरि जेभीबीच पाँच करोड छ लाख नौँ हजार ९९४ रुपियाँमा सम्झौता भएको छ । जोखिमपूर्ण बोटामा आसलाग्दो ढंगले काम भइरहेको भन्दै गाउँबाटै सदरमुकाम आवतजावत गर्न पाइनेमा व्याँसबासी आसाबादी बनेको उहाँले बताउनुभयो । व्याँसको घोरेटोबाटो निर्माण सम्पन्न भएमा दार्चुलाकै भूमी भएर छाङरु, टिंकरका साथै आसपासका क्षेत्रमा पुग्न सहज हुनेछ ।
भिडियो हेर्न यो लिंकमा जानुहोस https://www.facebook.com/share/v/19VT2eTJ61/




