दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा सोमबारबाट राष्ट्रिय परिचय पत्र दर्ता र नागरिकता प्रतिलिपी वितरण कार्य धमाधम भइरहेको छ । लेकम गाउँपालिकाको आयोजना, व्यवस्थापन तथा आर्थिक सहयोग र जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वय तथा प्राविधिक सहयोगमा राष्ट्रिय परिचय पत्र दर्ता र नागरिकता प्रतिलिपी वितरण कार्य भइरहेको छ ।
सोमबार (हिजो) वडा नम्बर ६ उचाकोटमा ८ जना पुरूष र १४ जना महिला गरी २२ जनाको नागरिकता प्रतिलिपी र ८ जना पुरूष र २५ जना महिला गरी ३३ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको छ । मंगलबार (आज) वडा नम्बर ५ चौपातामा ४ जना पुरूष र १४ जना महिला गरी १८ जनाको नागरिकता प्रतिलिपी र १२ जना पुरूष र ३० जना महिला गरी ४२ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको छ । सोमबार र मंगलबार वडा नम्बर ५ र ६ मा ४० जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी वितरण र ७५ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले बताउनुभयो ।
सरकारले सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि बृद्धअबश्थाका नागरिकको सहजताका लागि लेकम गाउँपालिकाले प्रतेक वडामा राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता प्रतिलिपी वितरण कार्यको आयोजना गरेको लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बताउनुभयो । साउन १४ गते बुधबार (भोली) वडा नम्बर १ सर्मोलीमा, १५ गते वडा नम्बर २ कुणीमा, १६ गते वडा नम्बर ४ खरकडामा र १७ गते वडा नम्बर ३ लालीमा राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता प्रतिलिपी वितरण कार्य गरिने उपाध्यक्ष जोशीले बताउनुभयो ।
सरकारले चालु आर्थिक बर्षको साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले शिविर सञ्चालनको लागि प्रशासन कार्यालयलाई आग्रह गरेको र सोही अनुसार प्रशासन कार्यालयको टोली गाउँपालिकामा आएर वडाहरूबाटै राष्ट्रिय परिचय पत्र दर्ता कार्य भइरहेको हो । सामाजिक सुरक्षा भत्ता बुझ्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाइ सास्ती भएको छ। अहिले गाउँपालिकाको समन्वयमा प्रशासनले वडामै आएर परिचयपत्र दर्ता गरेपछि केही राहत भएको छ।




