दार्चुला । दार्चुलाको सबैभन्दा ठुलो जात्राका रूपमा मनाइने सुर्माभवानीको ‘बिरे जात्रा’ सुरु भएको छ । दार्चुला र बझाङ जिल्लाको सिमानामा लाग्ने यस वर्षको ‘बिरे जात्रा’ साउन ८ गते (औसी) देखि सुरु भएको हो । धार्मिक मान्यता अनुसार औँसीदेखि जात्रा मनाउन जाने बिरेहरू छुट्टिएर बसेका थिए । औँसीदेखि सुरु भएपनि पर्वको रुपमा यो वर्षको ‘बिरे जात्रा’ साउन १८ गते (आज) देखि साउन २४ गतेसम्म भव्यताका साथ मनाइने अपिहिमाल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गगन सिंह कार्कीले जानकारी दिनुभयो ।
जात्राको विशेषता र मान्यता अनुसार जात्रामा सहभागी हुने पुरुष मानिस औँसीदेखि नै मासुजन्य पदार्थ छोडेर घरपरिवारको सम्पर्कबाट समेत छुट्टिएर देउघरमा बस्ने गरेको उहाँले बताउनुभयो । यो जात्रा अपिहिमाल गाउँपालिका–३ क्षेत्ती घाजिरबाट बझाङको सीमा क्षेत्र सुर्मा सरोवरसम्म पुगेर मनाइने गरिन्छ । उच्च हिमशृङ्खलाको बिचमा अवस्थित सरोवर धार्मिक पर्यटकीय तथा सांस्कृतिक दृष्टिकोणले महत्तपूर्ण छ । सुर्माभवानीलाई बझाङका सिकारीले लखेट्दा सुर्मा तालमा विलय भएको धार्मिक मान्यता छ । सोही कारण सुर्मातालमा अपिहिमालको खण्डेश्वरीबाट जाने तीर्थालुले सरोवरमा पूजा गरेपछि मात्रै बझाङबाट आउने तीर्थालुले पूजा गर्ने चलन रहेको छ ।
सुर्मासरोवर जात्रा छ हजार ५२३ मिटर उचाइमा गएर मनाइने गरिन्छ । जात्राका लागि क्षेत्री पुख्र्यौली घर भएका स्थानीय र घाजिर थर भएका समुदायका तीर्थालुले औँसीदेखि नै एक छाक मात्र खाएर सुर्माभवानीको व्रत बस्नु पर्ने परम्परा छ । सुर्मासरोवर तीर्थ जाने व्रतालु भक्तलाई बिरे भनिन्छ । बिरे दुई प्रकारका हुन्छन् । जसमा पहिलो पटक जानेलाई बालो बिरे र दोस्रो पटक वा पटक–पटक गएकालाई बुढोबिरे भन्ने चलन छ । सुर्माभवानी जात्रामा सहभागी हुने भक्तजनलाई जात्रा अवधिभर लसुन, प्याज, मसुर, मासु तथा रक्सी जस्ता भोजन निषेध गरिएको छ । सात दिनसम्म परम्परादेखि नै चलिआएका धर्म संस्कृति अनुसार गीत गाउँदै सुर्माभवानीको जात्रा मनाउने गरिएको छ ।
जात्रालाई व्यवस्थित, मर्यादित, सभ्य,भव्य र सुसंस्कृत बनाउन जात्रा अवधिकर उक्त क्षेत्रमा मदिरा बेचबिखन तथा सेवन पुर्ण रुपमा बन्द गरिएको वडा कार्यालयले सूचना मार्फत जानकारी गराएको छ। सुर्मा जात्राको सुरुवात कहिलेदेखि सुरु भयो भन्ने एकिन प्रमाण नभएपनि सुर्माभवानीको चैतमा उल्लेख भए अनुसार एघारौ सताब्दी अघिबाट यो जात्रा मनाउन थालिएको बताइन्छ ।
साथै यस जात्रामा सहभागी यात्रुहरूलाई ४ भागमा विभाजन गर्न सकिन्छ । यस जात्रामा सहभागि हुने भक्तजनहरुलाई उवादेशी, उनादेशी, जत्तोर र वाइदेशी वा तिर्थालु भनेर भन्ने गरिएको छ । जात्रामा सहभागी क्षेत्तीगर्खा पुख्र्यौली घर भएका, ठेकरे, बोहरा धामी, वैरे समुदायका भक्तहरूलाई उवादेशी, घाजीरगर्खाका यात्रुहरूलाई उनादेशी, रोकाया, कार्की तथा खण्डेश्वरी भित्रका यात्रुहरूलाई वाईदेशी भनिन्छ । हरेक वर्ष जात्रा लागेपनि सानो जात्रा र ठूलो जात्राको रुपमा मनाइने गरिएको छ । यो बर्ष लाग्ने सुर्मासरोवर जात्रा ठुलो जात्रा हो ।
पर्यटकीय धार्मिक एवं सांस्कृतिक रुपका विविधताहरु जात्रामा देख्न सकिन्छ । जात्रा अवधिभर क्षेत्तिले संस्कृतिको पहिरन, नृत्य, देउडा, बाजागाजा यो जात्रामा देख्न पाइन्छ । यस्तै धार्मिक रुपमा मार्कण्डेय गुफा, धर्मिगुफा, सुर्मा मन्दिर, ताल घोप्टे, नाग ढुंगा, हिउँ नजम्ने ढुंगा, जस्ता हेर्न लायकका ठाउँहरू रहेको स्थानीय संस्कृतिका जानकारहरू बताउछन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




