दार्चुला । हिमालको काखमा बसोबास गर्ने दार्चुलाका स्थानीय जीवन धान्ने बहुमूल्य हिमाली जडीबुटी यार्चागुम्बाको खोजीमा लेकतिर उक्लिन थालेका छन् ।

हिउँदमा बाक्लो हिमपात भएको यार्चागुम्बा पाइने पाटनमा हिउँ पग्लिन थालेसँगै गाउँका घरहरू बिस्तारै सुनसान बन्दै गएका छन् । यार्चा पाइने पाटनमा मानिसको चहलपहल बढ्दै गएको छ । आधिकारिक रूपमा वन खुल्नुपूर्व नै स्थानीयवासी यार्चा सङ्कलन गर्नका लागि पाटनमा पुगिसकेका छन् । व्यास गाउँपालिका–२, दुम्लिङका स्थानीय मोहन बुढाथोकीका अनुसार यार्चागुम्बा पाइने दुधीवन क्षेत्रमा यार्चा टिप्ने मानिसको सङ्ख्या दिन प्रतिदिन बाक्लिँदै गएको छ । वैशाखको १२ गतेदेखि माल र दुम्लिङ गाउँका करिब ५०/६० जना यार्चा सङ्कलक वन क्षेत्रमा पुगिसकेको उहाँले बताउनुभयो ।

वर्षभरिको आयास्रोतका रूपमा रहेको यार्चागुम्बा टिप्न स्थानीय परिवारसहित पाटनतिर जाने गरेको उहाँले जानकारी दिनुभयो । यार्चागुम्बा बिक्री गर्नेबेला मूल्य राम्रो पाएमा एकै परिवारले दुईदेखि तीन लाख रुपियाँसम्म आर्जन गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वर्षभरिको एक मात्र आयस्रोत आधार यार्चागुम्बा हो, विगतमा भन्दा उत्पादन घटेको छ, मूल्यसमेत घटेको छ ।” एक सिजनको कमाइले वर्षभरि खानलाउन पुग्ने गरेको उहाँले बताउनुभयो । स्थानीय वनहरू नेन्था, दुदीवन, स्याङ्पा, स्याङ्दर्मा, घलघस्से क्षेत्रमा यार्चागुम्बा पाइने गरेको उहाँले बताउनुभयो ।

यार्चागुम्बा सङ्कलन समय सुरु भएसँगै स्थानीयहरू लेकतिर पुग्न थालेको दुम्लिङका स्थानीय प्रभात बुढाथोकीले बताउनुभयो । स्थानीयवासी सातुसामलसहित यार्चा पाइने पाटनमा गएर अबको केही हप्ता यार्चागुम्बालगायत आवश्यक जडीबुटी सङ्कलन गर्ने उहाँले बताउनुभयो । यार्चागुम्बा ओसारपसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्चा पाइने पाटनहरू जेठ १५ देखि असार १५ गतेसम्म खुल्ने समयावधि रहे पनि यहाँका स्थानीयवासी त्यसअघि नै पाटन गएर यार्चागुम्बा सङ्कलन सुरु गर्ने गर्दछन् ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका वार्डेन अमरसिंह धामीले अबको केही दिनभित्रै प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासँग छलफल गरेर समय परिवर्तनका लागि विभाग तथा मन्त्रालयलाई जानकारी पठाउने बताउनुभयो । कार्यविधिले निर्धारण गरेको समय दार्चुलाका लागि सुहाउँदो नभएको सङ्कलकहरू बताउँछन् । वार्डेन धामीले भन्नुभयो, “कार्यविधि अनुसार अगामी जेठ १५ देखि असार १५ गतेसम्म पाटन खुला हुन्छ, केही स्थानीयवासी यार्चागुम्बा सङ्कलनका लागि चाँडै जाने गरेका छन् ।” यहाँका अधिकांश स्थानीयवासीको आर्थिक स्रोत भनेको यार्चागुम्बा हो ।

जिल्लाको लोलु, अपिफेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, नाम्पा, दोपाखेलगायत पाटनहरूमा यार्चागुम्बा पाइन्छ । दार्चुलाको हिमाली जीवनमा यार्चागुम्बा केवल एउटा जडीबुटी मात्र होइन, जीवन धान्ने आधार पनि हो ।गोरखापत्र अन्लाइन

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?