दार्चुला । शैक्षिक सत्र २०८२ मा कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थीहरूका लागि दुहुँ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा सञ्चालित एसईई प्रि–टेस्ट परीक्षा सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्डले चैत १९ गतेबाट सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीका लागि प्रि–टेस्ट परीक्षा सञ्चालन गरिएको हो।
गाउँपालिकाअन्तर्गतका पाँचवटै माध्यमिक विद्यालयका विद्यार्थीहरूले दुहुँ गाउँपालिका–५ स्थित धारीपाटा माध्यमिक विद्यालयमा तोकिएको परीक्षाकेन्द्रमा परीक्षा दिएका थिए। पाँच विद्यालयका गरी १२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका हुन्।
कक्षा १० का अनिवार्य पाँच विषयको परीक्षा सञ्चालन गरिएको थियो। परीक्षा पश्चात् विद्यार्थीहरूले प्राप्त गरेको नतिजाको विश्लेषण गरी उत्तरपुस्तिका समेत विद्यार्थीहरूलाई उपलब्ध गराइने र नतिजा सुधारका लागि उपचारात्मक शिक्षण, तयारी कक्षा तथा अतिरिक्त कक्षाहरू सञ्चालन गरिने शिक्षा शाखा प्रमुख लोकेन्द्रबहादुर बमले बताए।
विद्यार्थीहरूको परीक्षा सम्बन्धी डर र संकोच हटाई दृढ आत्मविश्वासका साथ परीक्षामा सहभागी गराउने उद्देश्यले शैक्षिक सत्र २०७९ देखि गाउँपालिकाले एसईई प्रि–टेस्ट परीक्षा सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले जानकारी दिए।
शुभकामना प्रदान कार्यक्रममा दुहुँ गाउँपालिका उपाध्यक्ष शान्तिदेवी बम, प्रवक्ता देवबहादुर बम, वडा नं. ५ का अध्यक्ष धनसिंह कुँवर लगायत जनप्रतिनिधि तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।




