दार्चुला । साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी) का कारण दार्चुलाका जयसिंह धामी महाकालीमा बेपत्ता भएको निष्कर्षसहित छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रत्यक्षदर्शीहरूले एसएसबीका जवानले तुइनको तार खुस्काइदिएका कारण उनी नदीमा खसेको बताएपछि सरकारले घटनाको अनुसन्धान गर्न १७ साउनमा १० दिनको समय दिएर सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक छानबिन समिति बनाएको थियो । पटकपटक म्याद थपिंदै उक्त समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । घटनास्थलमा पुगी स्थानीय र प्रत्यक्षदर्शीहरूसँग भेटेर प्रतिवेदन तयार पारिएको थियो । तर प्रतिवेदनले एसएसबीले नै तुइन फुस्काएको भनेर किटान गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

पटक–पटक भारतीय दादागिरी सहँदै आएका ब्यास गाउँपालिकाका बासिन्दा दोषीलाई कारबाही हुनुपर्ने मागमा छन् । गृह मन्त्रालयले कुटनीतिक पहल गर्नका लागि परराष्ट मन्त्रालयलाई पत्राचार गरेको छ । यद्यपि, सरकारले के कदम चाल्छ त्यो भने हेर्न बाँकी नै छ । छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेपछि जयसिंह धामीकी श्रीमती रजन्ती धामीसँग पत्रकार इन्द्रसरा खड्काले भलाकुसारी गर्नुभएको थियो । जसको सम्पादित अंशः-

मेरो सपना त जुन दिन श्रीमान् महाकालीमा बगे, त्यही दिन सकियो । अब के चाहनु, बसः दोषीलाई कारबाही होस् । जसले छोराछोरीको भविष्यसहित भोलिको सपना देखेर घर छोडेका थिए । उनी कहिल्यै फर्केर नआउने गरेर गएपछि बाँकी नै के रह्यो र! मलाई राहत मात्र भन्दा पनि मेरो श्रीमानलाई तुइनबाट खसाउने व्यक्ति पक्राउ गरी कारबाही गरेको हेर्न मन छ । जबसम्म तुइन फुस्काएर मेरो श्रीमानलाई महाकालीमा खसाएको त्यो व्यक्तिलाई कारबाही हुँदैन तबसम्म मैले त के, मेरो श्रीमानको आत्माले पनि शान्ति पाउने छैन ।

मेरा ५ वर्षको छोरा जेनिएन धामी र ३ वर्षकी छोरी मेलिना धामी गरी दुईजना छोराछोरी छन् । अब एक्लै यी साना छोराछोरी कसरी हुर्काउने ? उनीहरूको पालनपोषण कसरी गर्ने ? कसरी उनीहरूलाई शिक्षा दिने ? यो त समस्या छ नै । अर्कोतिरः सुन्दर भविष्यको सपना देखेर गएका श्रीमान् गुमाउँदाको पीडा कसरी भुल्न सक्छु र ! एउटा निर्दोष व्यक्तिलाई जानाजान डोरी खुस्काएर नदीमा झारिदिन्छ । यसमा सरकार टुलुटुलु हेरीबस्छ भने हामीले सरकारबाट के आशा राख्ने ? यो काम कुनै राजनीतिक दलले हुन्छ या कुनै व्यक्ति या सरकार कसले गर्न सक्छ थाहा छैन— मलाई मेरो श्रीमानको हत्यारालाई कारबाही गरेको हेर्न मन छ ।

त्यो दिन……

साउन १५ गते बिहान । अरू दिनभन्दा चाँडो उठें । श्रीमान् बिहानै निस्कने हुँदा अरू दिनजस्तो निन्द्रा लागेन । घरभित्रैको काम के–के गर्दा ७ बजिसकेको थियो । श्रीमानले सदरमुकाम खलंगामै खाना खानेगरी निस्कने तयारी गर्नुभयो । छोराछोरी सुतिरहेका थिए उहाँले उठाउनुभयो अनि काखमा राख्दै ‘राम्रोसँग बस्नू, ममीले भनेको मान्नू, म चाँडै फर्की आउनेछु’ भन्नुभयो ।

बाटो, पसलमा भेटिएका आफन्तलाई भेट्दै, ढोग्दै यात्रामा निस्कनुभयो । आमाबुवा सबैसँग बिदा लिएर गएका श्रीमान्, के थाहा उहाँको यो अन्तिम बिदाइ हो भन्ने! श्रीमानसँगै गाउँका अरू मान्छे पनि थिए । देवर खलंगामै हुनुहुन्थ्यो । श्रीमान् घरबाट बिदा हुनुभयो । मैले सुन्दर सपना बुन्दै बिदाइ गरें ।

खबर पाउँदा…..

श्रीमान् गएपछि मैले छोराछोरीलाई रोटी पकाएर खाना दिएँ । खाना पकाएँ अनि घर नजिकै घाँस काट्न गएँ । घाँस काटेर फर्किएपछि छोराछोरीलाई खाना दिएँ आफूले पनि खाएँ । गाइ–गोरुलाई घाँस दिएँ । अनि फेरि काममा जाने तयारी गर्दै थिए । दिउँसोको त्यस्तै दुई बजेको हुँदो हो गाउँकै एकजनाले बोलाउनुभयो । किन बोलाउनुभयो भनेर बाहिर निस्कें । श्रीमानको दुःखद घटना सुन्नुपर्‍यो । छाँगाबाट खसेजस्तै भएँ । बिहान आफ्नै हातले बिदाइ गरेको श्रीमान्, छिट्टै फर्की आउनेछु भनेर गएका श्रीमान् एकैछिनमा महाकालीमा हराउँछन् भन्ने सोचेकै थिइनँ । मलाई अहिलेसम्म होस् छैन । न त राम्ररी घरखेतको काम गर्नसकेको छु, न त छोराछोरीलाई हेर्न नै ।

सकेसम्म ब्रिटिस नभए नेपाल आर्मी भए पनि बनाउँछु भन्ने उहाँको धोको थियो । अब यो धोको मेरो छोराले कसरी पूरा गर्ला! जो छोराछोरीकै खुशीका लागि आफ्नो खुशी मार्दै भौंतारिएका थिए । जे भएको थियो आखिर त्यो साँचो रहेछ । एक महिना भइसक्यो शव समेत फेला परेन । वर्षाको उर्लंदो भेलमा कसरी फेला पर्थ्यो ! परिवारलाई सुखी संसारमा राख्ने सपना बोकेर गएका श्रीमानको सपना महाकाली नदीमा बग्यो ।

यस्तो थियो जय सिंहको योजना

गाउँमा राम्रो अन्न फल्दैन । खाना किनेरै खानुपर्छ । ६ महिना व्यास, ६ महिना बेसी गर्दै ठिक्क हुन्छ । चिसोमा हिउँले बस्न सकिदैंन । उब्जाउ पनि हुँदैन । वस्तुभाउसँगै सदरमुकाम खलंगा झर्नुपर्छ । बारीमा उब्जेको अन्न ३-४ महिनालाई पनि पुग्दैन । आर्य–आर्जनको बाटो कि त यार्सा, कि त विदेश लाग्नु नै हो । छोराछोरी हुर्कंदै थिए । त्यसैमाथि ऋण । घरमै बसेर न घरखर्च चल्ने न त ऋण तिर्न सकिने । यही समस्याले श्रीमानले विदेश जाने निर्णय गर्नुभयो । उहाँको कुरा मलाई पनि ठिकै लाग्यो । यही पारिवारिक सल्लाह अनुसार उहाँ विदेश जाने भिसा लगाउन काठमाडौंको यात्रामा निस्कनुभयो । दशैं अगाडि भिसा आए सिधै विदेश जाने, दशैंपछि आउनेजस्तो देखिए काठमाडौंमै केही काम गरेर गौरा (सुदूरपश्चिमेलीको पर्व) मा घर फर्किने योजना थियो । देश–विदेश गएकाहरू सबै घर फर्किएका छन् । सबैको घरमा खुशी छ । रमाइलो छ । आफ्नो भने कमाउन गएका श्रीमान् महाकालीमा बेपत्ता भए ।

ऋणको भारीले विदेश

मेरो श्रीमान् आजभन्दा ५-६ वर्ष पहिले दुई वर्ष बढी कतार बसेर फर्किनुभएको थियो । पहिलो पटक कमाइ ठिकै भएपछि फेरि २०७६ साल फागुनमा विदेश जाने भन्दै काठमाडौं जानुभयो । तर, त्यो पटक विदेश पठाइदिने मान्छे दलाल परे । श्रीमानसँग भएको पैसा लिएर कतार त पठायो तर त्यहाँ जागिर थिएन । विदेश गएको दुई महिना जागिर नपाएरै बस्नुपर्‍यो । परदेशमा जागिर नभई बस्नुपर्दा समस्या भयो । हामीले ऋण निकालेर पैसा पठाइ घर फर्कायौं । घर फर्किसकेपछि ती दलालको नाममा उजुरी दिन खोज्दा पत्तै लागेन ।

घरबाट पैसा पठाइ नेपाल फर्किसकेपछि रित्तै हात घर नआउने कुरा गर्नुभयो । अनि चाबहिलको एक बैंकमा सेक्युरिटीको काम गर्नुभयो । सेक्युरिटी गर्दा जम्मा १२ हजार तलब हुन्थ्यो । त्यो पैसाले काठमाडौंमा खानबस्नै धौ–धौ । अनि १० महिनापछि उहाँ घर आउनुभयो । घरमा बसेर के गर्नु, चाहिने आखिर पैसा! बीचमा हामी बुढाबुढी यार्सा टिप्न गयौं । आजभोलि पहिलेजस्तो यार्सा पाइदैंन । जम्मा ६० हजारको मात्र बेच्न सकियो ।

नेपालबाट बाटो छैन

व्यास गाउँपालिकाका नागरिकले नुन–तेलको लागि भारतकै भर पर्नुपर्छ । सदरमुकाम खलंगा झर्न पनि भारत हुँदै जानुपर्छ । नेपालबाट बाटो छैन, भारत जान झोलुंगे पुल छैन । विकल्प भनेकै तुइन हो । नेपालको बाटो हुँदै जाँदा एक दिनमा पुगिदैंन, बाटो उत्तिकै जोखिमयुक्त छ । १२ वर्ष अघिदेखि शुरू भएको दार्चुला–तिंकर सडकको ४० किलोमिटर कच्ची बाटो मात्र अहिलेसम्म बनेको छ । हामीलाई आवत–जावत गर्न तुइनको विकल्प छैन । यस्तो पीडा त अब कति कति ! 

एउटा निर्दोष व्यक्तिलाई जानाजान डोरी खुस्काएर नदीमा झारिदिन्छ । यसमा सरकार टुलुटुलु हेरीबस्छ भने हामीले सरकारबाट के आशा राख्ने रु यो काम कुनै राजनीतिक दलले हुन्छ या कुनै व्यक्ति या सरकार कसले गर्न सक्छ— मलाई मेरो श्रीमानको हत्यारालाई कारबाही गरेको हेर्न मन छ । हामीलाई न्याय चाहिन्छ । यसका लागि सरकारले दोषीलाई कारबाही गर्नुपर्‍यो । अर्को कुरास मेरा छोराछोरीको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्‍यो । राहतमा दिएको १० लाखले कति पुग्छ र ! धेरै भए १० वर्ष । त्यसपछि मैले के गर्नु !

छोरालाई लाहुरे बनाउने लक्ष्य

आजभन्दा करिब ७ वर्ष पहिले हामीले भागी बिहे गरेका हौं । म कक्षा ९ मा पढ्थें । गाउँ नजिकै भएकोले हाम्रो भेट भइरहन्थ्यो । परिवारसँग पनि चिनजान थियो । दुवैजनाको मन मिलेपछि भागेर बिहे गर्‍यौं । बिहे गरेको तीन वर्षपछि छोरो जन्मियो ।

उहाँका चारजना दाजुभाइ हुनुहुन्छ । एकजना जेठाजु अरू देवर । कान्छो देवर नेपाल प्रहरीमा हुनुहुन्छ ।

श्रीमानलाई छोराछोरीलाई शहरमा राखेर राम्रो स्कूलमा पढाउन मन थियो । गाउँमा लेकबेसी गर्दा छोराछोरीको पढाइ बिग्रन्छ भन्नुहुन्थ्यो । अझ छोरालाई त ब्रिटिस आर्मी बनाउने भन्नुहुन्थ्यो । जोसँग पनि कुराकानी गर्दा यही भन्नुहुन्थ्यो । सकेसम्म ब्रिटिस नभए नेपाल आर्मी भए पनि बनाउँछु भन्ने उहाँको धोको थियो । अब यो धोको मेरो छोराले कसरी पूरा गर्ला ! जो छोराछोरीकै खुशीका लागि आफ्नो खुशी मार्दै भौंतारिएका थिए । –नेपालमतबाट

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?