दार्चुला । विद्युत अभाव र उपकरणमा समस्या देखिएर लामो समयदेखि सञ्चार बिहिन बनेको कालापानी नजिकको गाउँ ब्यास गाउँपालिकाको वडा नम्बर १ छाङरुमा रहेको स्काई टावर सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ । छाङरुस्थित स्काई टावर सञ्चालनका लागि नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङ मंगलबार हेलिकोप्टरमार्फत छाङरु पुग्नुभएको छ ।
टावर सञ्चालनका लागि विद्युत अभाव रहेको र सोलार प्यानल ढुवानी गर्न उपयुक्त बाटोको व्यवस्था नरहेको अवस्थामा व्यासमा चामल ढुवानी गर्न आएको हेलिकोप्टरमार्फत नेपाल टेलिकम दार्चुलासंग रहेका १६ थान सोलार प्यानल समेत ढुवानी गरिएको व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले जानकारी दिनुभयो । केहि दिनमै छाङरु तिङकरमा स्काई फोन सेवा सुचारु हुने उहाँको भनाई छ । व्यास क्षेत्रमा रहेको स्काई टावरमा हिमपातका कारण एक वर्ष पहिले क्षती पुगेको थियो । झण्डै एक वर्षदेखि कालापानी नजिकको गाउँ छाङरु र तिकंरका स्थानीयबासीन्दा सञ्चार सम्पर्क विहिन रहेका छन् । केहि महिनापहिले टावर मर्मत गरिएको भएपनि विद्युत अभावमा राम्रोसंग काम नगरेकोले सोलार जडानपछि सञ्चार सेवा सुचारु हुने नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।




विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




