दार्चुला । चार दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर बुधबार रातिसम्म ९२ जनाको मृत्यु भएको छ । २२ घाइते भएका छन् भने ३६ जना बेपत्ता छन् । सुदूरपश्चिमदेखि पूर्वसम्मका १७ जिल्लामा बाढीपहिरोले मानवीय क्षति निम्त्याएको छ । मंगलबारसम्म पश्चिमका जिल्ला बढी प्रभावित भएकामा बुधबार पूर्वमा बढी क्षति भएको छ । प्रदेश १ का ६ जिल्लामा मात्रै ५२ जनाको मृत्यु भएको छ ।

पाँचथरमा सबैभन्दा धेरै २४ जनाको मृत्यु भएको छ । आठ बेपत्ता छन् भने ६ जना घाइते छन् । उनीहरू सबै बुधबार पहिरोमा परेका हुन् । डोटीमा पहिरोमै पुरिएर ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । मंगलबार नौको मृत्यु भएकोमा बुधबार ६ जना थपिएका हुन् । पाँचजना घाइते छन् । त्यस्तै, इलाममा पहिरोमा परेर १३ को मृत्यु भएको छ । तीनजना बेपत्ता छन् भने दुईजना घाइते भएका छन् । बझाङ र हुम्लामा पहिरोमा परी सात–सातजनाको मृत्यु भएको छ । बझाङमा थप २१ बेपत्ता छन् । पहिरोमै परेर धनकुटामा ६ जनाको ज्यान गएको छ भने पाँच घाइते छन् । त्यस्तै, सुनसरीमा बाढीपहिरोमा पाँच र बैतडीमा पहिरोमा चारजनाको मृत्यु भएको छ । बैतडीमा दुईजना घाइते छन् ।

उदयपुर र डडेल्धुरामा दुई–दुईजनाको मृत्यु भएको छ । उदयपुरमा बाढीले बगाएको हो भने डडेल्धुरामा पहिरोमा परेका हुन् । डडेल्धुरामा अर्का एक घाइते छन् । मोरङ, भोजपुर, कपिलवस्तु, कैलाली, कालिकोट, प्युठान र सोलुखुम्बुमा बाढीपहिरोमा एक–एकजनाको ज्यान गएको छ । कालिकोटमा एकजना घाइते छन् । त्यस्तै, प्युठानमा दुई तथा कपिलवस्तु र जुम्लामा एक–एकजना बेपत्ता छन् ।

बाढी पहिरोले पूर्वमा मोरङ, सुनसरी र सुदूरपश्चिममा दार्चुला, बझाङ, बाजुरा, डोटी विद्युत् आपूर्ति बन्द भएको छ । शुक्रबारसम्ममा सबै ठाउँमा विद्युत् सञ्चालमा आउने अनुमान गरिएको छ । बाढीले देशभर आठ ठाउँमा राजमार्ग अवररुद्ध गरेको छ, एक सय ३४ ठाउँमा एकतर्फी सडक सञ्चालन भइरहेको छ ।

बाढी र पहिरोबाट ११ वर्षमा २१ सयको मृत्यु
२०६८ देखि ०७८ कात्तिक ३ सम्म बाढी र पहिरोका कारण मात्रै मुलुकभर दुई हजार एक सय ३२ जनाले ज्यान गुमाएका छन् । ११ वर्षको यो अवधिमा १९ अर्ब ९५ करोड रुपैयाँबराबरको धनमाल नष्ट भएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार यस अवधिमा ३७ हजार तीन सय ५२ घर क्षतिग्रस्त बनेका छन् । २०६८ मा बाढीपहिरोबाट दुई सय ३९ को मृत्यु भएको थियो । १२ सय ७७ घरमा क्षति पुगेको थियो । सो वर्ष ५५ करोड ७८ लाख रुपैयाँबराबरको भौतिक क्षति भएको थियो ।

२०६९ मा ७७ को मृत्यु भएको, पाँच सय ८८ घरमा क्षति पुगेको र ४१ करोड ९७ लाख मूल्यबराबरको क्षति भएको गृहको तथ्यांक छ । ०७० मा बाढीपहिरोबाट दुई सय १० को मृत्यु, पाँच सय ६५ घरमा क्षति र १८ करोड ९४ लाखबराबरको क्षति भएको थियो ।

२०७१ मा बाढीपहिरोबाट एक सय ४२ को मृत्यु, ११ हजार दुई सय नौ घरमा क्षति र १४ अर्ब ९४ करोडबराबरको भौतिक क्षति भएको गृहको तथ्यांकमा उल्लेख छ । त्यस्तै, ०७२ मा एक सय ३५ को मृत्यु, दुई सय ३५ घरमा क्षति र १७ करोड ४२ लाखबराबरको भौतिक क्षति भएको थियो । ०७३ मा दुई सय ४८ को मृत्यु, एक हजार पाँच सय ६२ घरमा क्षति र ८४ करोड १३ लाखबराबरको भौतिक क्षति भएको थियो ।

गृहका अनुसार ०७४ मा दुई सय ४१ को मृत्यु, १४ हजार तीन सय २९ घरमा क्षति र ८७ करोड ८५ लाखबराबरको भौतिक क्षति भएको थियो । त्यस्तै, २०७५ मा एक सय पाँचको मृत्यु, आठ सय ६२ घरमा क्षति, १६ करोड ८३ लाखबराबरको भौतिक क्षति भएको थियो । २०७६ मा एक सय ५६ को मृत्यु, पाँच हजार ७६ घरमा क्षति र एक अर्ब ४६ करोडबराबरको भौतिक क्षति भएको थियो ।

२०७७ मा तीन सय ४३ को मृत्यु, ६ सय ६८ घरमा क्षति र ९९ करोड ७७ लाखबराबरको भौतिक क्षति भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । त्यस्तै, ०७८ को वैशाखदेखि ३ कात्तिकसम्म दुई सय ३६ को मृत्यु भएको छ भने ६९ बेपत्ता छन् । नौ सय १८ घर क्षतिग्रस्त बनेका छन् । २६ करोडबराबरको धनमालमा क्षति पुगेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?