आशिष माल, पोल्यान्ड ।पत्रकारिताको पहिलो दिन मेरो जीवनको सबैभन्दा उज्यालो बिहानजस्तै थियो। टेबलमा राखिएको पुरानो कम्प्युटर, कानबाट झुन्डिएको हेडफोन, र मनभरि उमङ्ग—यिनैसँग मेरो पत्रकारिता यात्रा सुरु भएको थियो।

त्यो पहिलो असाइनमेन्ट म कहिल्यै बिर्सन सक्दिनँ—रेडियो सौगात एफएम १०३.६ मेगाहर्जका प्रबन्धक निर्देशक तथा सञ्चालक बासुदेव भट्ट सरलाई सुनाएको, सहरको बस्तीमा लागेको डढेलो र विस्थापित बनेका परिवारहरूको कथा। उनीहरूको आँसु मेरा नोटबुकका पानासम्म भिजाएर गयो। कोठामा फर्केपछि पनि मन जलिरह्यो। त्यही रात मैले बुझें—पत्रकारिता पेशा मात्र होइन, बैतडी सदरमुकाम गोठलापानी गढीको भीडभन्दा ठूलो जिम्मेवारी रहेछ।

वर्षौँसम्म म न्यूजरुमको चहलपहलमा हराएँ। कहिले माइक बोकेर भीडमा धकेलिन्थेँ, कहिले रातको १२ बजे समाचार लेख्दै आँखा चिम्लिन्थेँ। सत्य खोतल्ने बानी, समाचारका पछाडि मान्छेका पीडा बुझ्ने आदत—यी सबैले मलाई ‘पत्रकार’ बनाए।

तर जति कडा भएर काम गरे पनि, मनमा गर्व बोकेर हिँडे पनि, जीवनका हिसाब–किताब भने बिस्तारै जटिल हुन थाले। पेशाभन्दा ठूलो पीडा घरको आवश्यकता थियो। एकातिर बढ्दो महँगी, अर्कोतिर स्थिर तलब। सम्पादकको कचहरीमा मेरो नाम बढिरहेको थियो, तर बैंक खातामा शून्यपछि अरू धेरै थोक बढेको थिएन। घरको ऋण, बहिनीहरूको पढाइ—यी शिरमाथि झुण्डिएका भाँडाजस्तै भइरहन्थे।

राति समाचार लेख्दै गर्दा कहिलेकाहीँ आँखा रसाएर आउँथ्यो। “अरूका कथा लेखेर सुधार गरिदिन्छु, तर आफ्नो घरको अवस्था किन सुधार्न सक्दिनँ?” भन्ने प्रश्नले मन कुत्थिरहन्थ्यो।
एक दिन आमाले फोनमा भन्नुभयो—
“बाबु, तैले लेख्ने ती समाचार, तैले चलाउने ती कार्यक्रमहरू—हामी रेडियोमा सुन्छौँ। तर तेरो आवाज कहिल्यै खुसी सुनिन्न। के सबै ठीक छ?”
म ‘ठीकै छ’ मात्र भन्न सकें।

पासपोर्टको रातो कभर—सपना होइन, बाध्यता

अन्ततः एक बिहान म जिल्ला प्रशासन कार्यालय बैतडी अगाडि पासपोर्ट बनाउन लाइनमा उभिएको थिएँ। हातमा एउटा कडुवाहट—पत्रकारले पासपोर्ट खल्तीमा राख्दा विदेशको रिपोर्ट लेख्न पाउँछ कि? तर म त्यो भाग्यको लागि होइन, कामदारको लाइनमा उभिन बाध्यताले ल्याएको थियो।

न्यूजरुमका सहकर्मीहरू र कार्यक्रम संयोजकले जस्तै गरी रोक्न खोजे—
“तँ बाहिर जान्छस्? तेरो कलमले अझ धेरै बोल्न बाँकी छ।”
तर घरले भने—
“समयले धेरै सिकाउन बाँकी छ।”

अन्ततः मैले कलम टेबुलमै राखें र परदेश जाने निर्णय लिएँ।

परदेशको पहिलो रात मौन र भारी थियो। विमानबाट ओर्लँदै गर्दा ‘पत्रकार’ भएको पहिचान नेपालकै धुलोसँग हराएर गयो। यहाँ कोही चिन्दैन—सबैलाई एउटै पहिचान, एउटै कम्पनीको ‘वर्कर’।
बंकबेडको माथिल्लो तहमा चढेर बसेँ, मोबाइलमा परिवारको फोटो हेरें। छेउमै राखिएको पासपोर्ट चम्किँदै थियो।
एकछिन मनमा लाग्यो—
“यो पासपोर्टले मलाई कस्तो कथामा ल्याइदियो? पत्रकारितामा म कथा लेख्थें, यहाँ त मेरो कथा कोही पढ्दैन…”

दिनहरू उस्तै हुन्थे—काम, ओभरटाइम, गर्मी, घाम, चिसो, र थकान।
एकदिन सहकर्मीले सोध्यो—
“तँ पहिले के गर्थिस?”
मैले हल्का हाँसेँ—
“पत्रकार। I am a journalist from Nepal।”
उनी हाँसे र भने—
“त्यसले यहाँ के काम?”
उनको प्रश्नमा चोट थियो, तर साँचो पनि त्यही थियो।

तर रातको एकान्तमा कहिलेकाहीँ म झ्यालतिर बसेर मोबाइलको नोटबुक खोल्थें। यसपटक समाचार होइन, आफ्नै मनको चित्कार लेखिँथ्यो।
घरबाट फोन आउँदा थकान आधा हराउँथ्यो—
“बाबु, तेरो पैसाले आज ब्याज तिर्यौँ।”
“तेरी बहिनी कलेजमा भर्ना भइ।”
“घरमा काम भयो।”

त्यसबेला लाग्थ्यो—म विदेशमा पसिना बेचिरहेछु, तर त्यही पसिनाले घरमा आशा पलाइरहेछ। पत्रकारिताले समाज बदल्ने सपना देखाएको थियो, तर परदेशी जीवनले सिकायो—परिवर्तन कहिलेकाहीँ आफ्नै घरबाट सुरु हुन्छ।

कलम अझै मभित्र बाँकी छ

आज पनि परदेशी कोठामा एउटै ट्रलीमा बसेर सोचिरहन्छु—पहिचान बदलिएको छ, तर मनको लागि पत्रकारिता अझै जीवित छ।
कलम मैले छोडेको होइन; जीवनका कठोर हातहरूले केही समयका लागि मन्द बनाइदिएको मात्रै हो।

मभित्रै एउटा स्वर उठिरहन्छ—
“एक दिन, जब घर फर्किन्छस्, फेरि कलम समात्। तेरो कथा अझै पूरा भएको छैन।”

म जान्दछु—समय फेरि आउँछ, न्यूजरुम फेरि बोलाउँछ, र म फेरि पुरै मनसहित पत्रकार बन्छु।
अहिलेलाई, म परदेशी हुँ—तर सपनाहरू अझै नेपाली नै छन्।
कलम मेरो झोलाको कुनामा चुपचाप बसेर यात्राहरूको साक्षी बनिरहेको छ।

कलम यात्रामा छ।
बस, अहिले परदेशबाट कथाहरू संकलन गर्दैछु। बाँकी कथा लेख्दै गर्नेछु, सुनाउँदै गर्नेछु।

आशिष माल, हाल युरोपको पोल्यान्ड

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?